दोवामा चुनावि सभाः जनताको मुहारमा खुसी ल्याउने गरी काम गर्नेछु: गर्बुजा

0

नेपालि काग्रेस राप्रपा गठवन्धनको तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार एवम् नेपाली कांग्रेस म्याग्दीका सभापति खमवीर गर्वुजाले आगामी मंसिर १० गते हुने प्रतिनिधि÷प्रदेशसभा निर्वाचनमा जिल्लाको समृद्धि र जनताको मुहारमा खुसी ल्याउनका लागि लोकतान्त्रिक गठवन्धनका उम्मेदवारहरुलाई जिताउनु पर्ने बताउनुभएको छ ।

शुक्रवार अन्नपूर्ण गाउँपालिका ४ दोवामा आयोजित चुनावि सभामा बोल्दै गर्वुजाले कम्युनिष्टहरुले वाम गठवन्धनको नाममा लाद्न खोजेको अधिनायकवाद नेपाली जनतालाई कुनै हालतमा पनि स्वीकार्य नहुने बताउँदै यस पटकको निर्वाचनमा लोकतान्त्रिक गठवन्धनले बहुमत ल्याएर जिल्लाको कायापलट गर्ने उद्घोष गर्नुभएको हो ।

काग्रेस राप्रपा गठवन्धनका उम्मेदवारहरुलाई मतदिई विजयी बनाउन मतदाताहरुसंग आग्रह गर्दै गर्वुजाले अपार प्राकृतिक सम्पदा र प्रचुर पर्यटकीय संभावना रहेकोे म्याग्दी जिल्लामा यतिका वर्ष चुनाव जितेर लाल किल्ला बनाएका छौं भन्ने कम्युनिष्टहरुले विकासको नाममा सानो काम पनि नगरेका र पछि पनि उनीहरुबाट विकासका कामहरु हुनै नसक्ने दावि गर्दै विकास र समृद्धिका लागि लोकतान्त्रिक गठवन्धनको विकल्प नरहेको बताउनुभयो ।

जनतालाई अव आश्वासन र आदर्शका भरमा झक्याउन नसकिने बताउँदै गर्वुजाले भाषण होइन काम गर्ने नेता जिल्लाका लागि आवश्यक भएको र आफूले जनताका हरेक समस्या र जिल्लाको विकासका लागि दिलोज्यान दिएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । गर्वुजाले भन्नुभयो ‘अव विगतका निर्वाचनहरुमा जस्तै नझुक्किनुहोस्, चिल्ला भाषणले विकास हुने भए कम्यूनिष्टहरुले यतिन्जेलसम्म म्याग्दी जिल्लालाई विकसित जिल्ला वनाइसक्ने थिए ।

’जनताको आर्थिक समृद्धिका लागि जलविद्युत,पर्यटन,उद्योग कलकारखाना,खानी उत्खनन् जस्ता दीर्घकालिन विकासका योजनाहरु संचालन गर्नुका साथै कृषि, पशुपालन, साना तथा कुटिर उद्योग संचालन, वनपैदावर जस्ता उत्पादनशील क्षेत्रमा काम गर्न प्रोत्साहित गर्ने र उनीहरुलाई आवश्यक लगानी र प्राविधिक ज्ञानका लागि विभिन्न किसिमका तालिमहरु संचालन गर्ने बताउनुभयो ।

त्यसैगरी प्रदेशसभा ‘क’का उम्मेदवार भीमप्रसाद गौचनले कम्यूनिष्टहरु अरुलाई वदनाम गरेर चुनाव जित्छौं भन्ने भ्रममा रहेका वताउँदै म्याग्दी जिल्लामा विकासका लागि लोकतान्त्रिक गठवन्धनका उम्मेदवारहरु बाहेक अर्को कुनै शक्ति नभएको दावि गर्नुभएको छ ।

जिल्लाको विकास र समृद्धिका लागि आफू उम्मेदवार बनेको बताउँदै गौचनले भन्नुभयो ‘जिल्लाको विकास गरेर मर्ने धोको छ, त्यसैले ७६ वर्षको उमेरमा पनि म तपाइँहरु संग भोट माग्न आएको हुँ, समृद्ध जिल्ला बनाउन र वस्तीवस्तीसम्म विकासका पूर्वाधारहरु पु¥याउन चाहनुहुन्छ भने लोकतान्त्रिक गठवन्धनका उम्मेदवारहरुलाई भोट दिएर जिताउनुहोस् ।’

कार्यक्रममा नेपाली कांग्रेसको तर्फबाट प्र्रदेश सभा समानुपातिक उम्मेदवार विमला गौचन, राप्रपाका समानुपातिक उम्मेदवार डम्वर सुवेदी, नेपाली कांग्रेस जिल्ला कार्य समितिका सदस्य ओम छन्त्याल लगाएतले लोकतान्त्रिक गठवन्धनका उम्मेदवारहरुलाई मतदिई विजयी गराउन आग्रह गरेका थिए ।कार्यक्रम गाउँ कार्यसमितिका सभापति अध्यक्षा सुर्य राम्जालीको अध्यक्षता,गोपाल पुर्जाको संचालन र कमल पुनको स्वागतमा सम्पन्न भएको थियो ।
धु्रबसागर शर्मा