को हुन् कमाण्डर रोहित ?

0
218

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई खारेजीको माग गदैं आन्दोलनमा होमिएको नेपाल कम्यूनिष्ट पार्टीको नामबाट निर्वाचनजन्य गतिविधिमा निस्कृय बस्न भौतिक आक्रमण सहितको धम्की दिने कमाण्डर रोहितको म्याग्दीमा चर्चा हुन थालेको छ ।नेकपाको नामबाट सदरमुकाम बेनी देखि ग्रामिण क्षेत्रमा चुनावी अभियानमा दिनरात सक्रिय रहेका यूवाहरूलाई लक्षित गरी ईन्चार्जको आदेशले कमाण्डर रोहित नामबाट पठाइएको पत्रले जिल्लाको निर्वाचन सम्बन्धि गतिविधिलाई प्रभावित गर्ने प्रयास गरेको छ ।

निर्वाचनको खारेजीको माग गर्दै अभियान चलाइरहेको नेकपाको लेटरप्याडमा विना छाप ब्यक्तिको नाम लेखेर पठाइएको पत्रमा निर्वाचनजन्य गतिविधिले जनसत्ता पुर्नस्थापनाको अभियानमा असर गरेको र पार्टीका गतिविधिमा समेत अवरोध गरेको भन्दै निर्वाचनमा आर्थिक चलखेलमा समेत तपाईको संलग्नता भएकाले निर्वाचनका गतिविधिबाट निस्कृय बस्न गरिएको अनुरोधको अन्त्यमा पत्रको अनुरोधलाई अवज्ञा गरेको पाइएमा जनसत्ताबाट हुने जस्तोसुकै प्रतिक्रिया समाना गर्नुपर्ने चेतावनी समेत दिइएको छ ।

सदरमुकाम बेनीका यूवा देखी मालिका,मंगला,धौलागिरि, रघुगंगा रअन्नपूर्ण गाउँपालिकाका यूवाहरुलाई पठाइएको पत्रमा रोहित नाम उल्लेख गरिएको छ । नेकपामा रोहित नाम गरेका कमाण्डरको खोजी भइरहेपनि अहिलेसम्म पहिचान हुन सकेको छैन् ।माओवादी जनयूद्धमा पार्टीको गतिविधिमा प्रयोग गर्न सबैजसो नेताहरुले टेक नाम राख्ने गरेका थिए ।

सोही नामबाट समेत शान्तिप्रक्रियामा आएपछि समेत बोलाउने गरिन्छ ।पत्रमा उल्लेख गरिएको नाम भएका नेताको खोजीकार्य भएपनि पत्ता लाग्न नसकेको छैन् ।केहीदिन यता दैनिकजसो हुलाकबाट प्राप्त भइरहेको पत्रका बारेमा जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा समेत राजनीतिक दलका प्रतिनिधिले पत्रको चर्चा गर्ने गरेका छन् ।

लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई लक्षित गरी बेनी नगरपालिका–१अर्जममा एम्बुस विष्फोट गराएलगत्तै धमाधम प्राप्त पत्रका बारेमा नेपाली कांग्रेस म्याग्दीका जिल्ला कार्यसमिति सदस्य माधवप्रसाद रेग्मीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पार्टीका नेताकार्यकर्तालाई त्रसित बनाउने प्रयास भइरहेको बताएका थिए । नेकपा एमाले र माओवादी केन्द्रले समेत पत्रका बारेमा चासो देखाएका छन् ।

निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्ने प्रतिबद्ध रहेको दलका नेताहरुको भनाई छ । ‘रोहित भन्दै पत्र पठाइएको छ, नक्कली माओवादी बनेर आंतक मच्चाएको आशंका छ’ उनले भने ।उनले पार्टीका गतिविधिमा सक्रिय रहेका यूवाहरूलाई निशाना बनाएर निर्वाचनको गतिविधिलाई मोड्ने प्रयास गरिएको भन्दै छानविनको माग गरेका छन् ।

यता नेकपाका धौलागिरि इन्र्चाज धुव्र घिमिरेले लेटरप्याडको दुरुपयोग भएको बताउँदै कमाण्डर रोहित भन्ने नाम भएको कोही नभएको बताएका छन् । उनले पार्टीको नाम प्रयोग गरी चुनावमा पैसाको चलखेल नगर्न, निष्कृय बस्न भनि कुनैपनि पत्र नपठाइएको समेत प्रष्ट पारे ।‘पत्र पार्टीको आधिकारिक होईन्, त्यहाँ प्रयोग भएको नामको इन्र्चाज नै छैन’ उनले भने ।

नेता घिमिरेले निर्वाचनको खारेजीको अभियान सञ्चालन गरिएपनि पार्टीको नाममा केही अपराधिक मनोबृत्ती भएका मासिनहरुले पत्र लेखेको बताए । घिमिरेसंगै पूर्व सांसद एवम् जिल्लाका नेता गम बहादुर श्रीषले समेत वाईयात पत्र पठाएर पार्टीको बदनाम गरिएको बताउँदै पत्रका बारेमा अनुसन्धान भइरहेको बताए ।नेकपाले खोरेजीको अभियान सञ्चालन गरिएपनि यस्ता भ्रामक कुराको पछाडी नलाग्न म्याग्देली जनतालाई अनुरोध गरेका छन्

नाम एउटै हस्ताक्षर फरक –फरक
केही यूवाको नाममा पठाइएको पत्रमा केही भाषाा परिवर्तन गरिएको छ । पत्रमा कमाण्डर रोहित भनिएपनि हस्ताक्षर समेत फरक फरक भएकाले निर्वाचनको गतिविधिलाई अस्तब्यस्त बनाउन र निर्वाचनमा सक्रिय रहेका यूवाहरुको मनोवल गिराउने प्रयास भएको प्रष्ट बुझ्न सकिन्छ । पत्रमा पार्टीको नाम बाहेक कुनैपनि आधिकारिक छापा लगाएत लेटरप्याडमा स्थापना समेत छैन् । अर्को कु्रा बेनी नगरपालिका भित्रका यूवाहरुलाई दिइएको पत्र र मालिका गाउँपालिकाका यूवाको हातमा परेको पत्रमा कमाण्डर हस्ताक्षर समेत फरक छ । एउटै ब्यक्तिको नाम फरक फरक हस्ताक्षरमा देखिनुलाई पनि समुहको सक्रियतामा यस्तो गतिविधि भइरहेको देखिन्छ ।