वाम गठबन्धनको शुक्रबार उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पाउद्वारमा चुनावी कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य एवं वाम गठबन्धनका प्रतिनिधिसभाका साझा उम्मेदवार भूपेन्द्रबहादुर थापाले जनताको जीवनस्तरमा सुधार ल्याउन र देशको परिवर्तनका लागि वामपन्थी पार्टीलाई भोट दिएर विजयी गराउन आग्रह गरेका छन् ।

सोही कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता प्रदेशसभा (क)का वाम गठबन्धनका साझा उम्मेदवार विनोद केसीले जिल्लाको स्रोतसाधनको परिचालन गरी युवालाई स्वदेशमै रोजगारी सिर्जना गराउनका लागि वाम गठबन्धनलाई जिताउनुको विकल्प नभएको बताएका थिए ।

एमाले जिल्ला सल्लाहकार भीमबहादुर पुन र माओवादी केन्द्रका नेता पूर्णबहादुर पाईजाले मन्तव्य राखेको कार्यक्रम वडा अध्यक्ष कृष्णबहादुर तिलिजाको अध्यक्षता, एमाले जिल्ला सदस्य नारायण पुनको सञ्चालन र वडा सदस्य मिनबहादुर तिलिजाको स्वागतमा सम्पन्न भएको थियो ।