मालीकाका सवै वडामा घरदेलौ, ताकममा प्रशिक्षण, बाबियाचौरमा घरदैलो

0
125

आसन्न प्रतिनिधि र प्रदेशसभा चुनावको प्रचार अभियान अन्तरगत म्याग्दीको प्रदेशसभा क्षेत्र (ख)को तिन वटै स्थानीय तहमा एमाले माओवादीको बाम गठबन्धनले प्रचारप्रसारलाई आक्रामक बनाएका छन् ।

प्रदेशसभा क्षेत्र (ख)का एमालेका उमेद्वार नरदेवी पुनको टोलीले मंगला गाउँपालीका २ बाबियाचौर र ५ नम्बर वडा छिस्वाङमा घरदैलो गरेको छ । सो क्रममा उमेद्वार पुनले म्याग्दीको विकासका लागि यसअघि आफू सांसद र राज्यमन्त्री हुँदा अघि बढाएका योजनालाई सफल बनाउन बाम गठबन्धनलाई जिताउनुपर्ने बताउनुभयो ।

बेनी दरवाङ सडक कालोपत्रे आयोजनाको ठेक्का सम्झौता भएको, तातोपानी पखेर र बाबियाचौर अर्मन जोड्ने मोटरेबल पुल निर्माणको प्रक्रिया अघि बढेको जानकारी गराउँदै दरवाङ हुदै ढोरपाटन जोड्ने सडक आयोजनालाई प्राथमिकता दिने बताउनुभयो ।

यसैगरी धौलागिरी गाउँपालीका ७ ताकममा शनिबार एमाले र माओवादी केन्द्रका अगुवा कार्यकर्ताहरुको संयुक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले म्याग्दीको विकासको नेतृत्व बामपन्थीले गरेको, अब पनि विकास र सम्बृद्धीको गतिलाई अघि बढाउन बाम गठबन्धनको विकल्प नभएको बताउनुभयो ।

माओवादी केन्द्रका नेता देवराज सुवेदीले नेपालमा राजनितिक स्थिरता कायम गरी राष्ट्रिय स्वाधिनताको रक्षा, विकास र सम्बृद्धीका लागि बाम गठबन्धन बनेको चुनाव लगत्तै पार्टी एकता हुने बताउनुभयो । श्रेष्ठ र सुवेदीले देशैभरी बाम गठबन्धनप्रती छाएको जनलहरले बामपन्थीको जित सुनिश्चित भैसकेकाले सक्रिय भएर प्रचारमा खट्न निर्देशन दिनुभयो ।

बाम गठबन्धनको गाउँपालीका स्तरीय संयुक्त चुनाव परिचालन समितिका संयोजक यामन रोकाको अध्यक्षता र एमालेका देउप्रसाद छन्त्यालको सञ्चालनमा सम्पन्न कार्यक्रममा धौलागिरी गाउँपालीकाका ७ वटै वडाका एमाले माओवादीका अगुवा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

यसैगरी मालीका गाउँपालीकाको सबै वडामा एमाले माओवादी केन्द्रका नेता कार्यकर्ताको टोलीले संयुक्त घरदैलो अभियान सुरु गरेका छन् । सबै मतदाताको घरदैलोमा पुगेर गठबन्धनको एजेण्डा जानकारी गराउनुका साथै एमाले माओवादीलाई मतदान गर्ने तरीका सिकाउन कार्यकर्ता परिचालन भएका छन् ।

यता कुहँुँमा एमाले कार्यकर्ता एकजित रोकाको घरमा तोडफोड र आक्रमण गरेको आरोपमा शनिबार तिन जना विरुद्ध बाबियाचौर प्रहरी चौकीमा मुद्दा दर्ता भएको छ । शुक्रबार राती साढे ११ बजे मादक पदार्थ सेवन गरि रोकाको घरमा पुगेर नाराबाजी गर्दै ढोका फोडेर आक्रमण गर्ने कुहुँका रामबहादुर खत्री, देविन्द्र रोका र दिनेश पुन विरुद्ध सार्वजनीक अपराध सम्बन्धि मुद्दा दर्ता भएको एमाले नेता चन्द्रकुमार केसीले जानकारी दिनुभयो ।