लोकतान्त्रिक गठवन्धनको तर्फबाट प्रदेश सभा ‘क’का उम्मेदवार भीमप्रसाद गौचन सहितको एक टोलीले शनिवार बेनी नगरपालिकाका विभिन्न वडाहरुमा आमसभा,कोणसभा र घरदैलो अभियान सम्पन्न गरेको छ । यही मंसिर १० गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा लोकतान्त्रिक गठवन्धनका उम्मेदवारहरुलाई निर्वाचित गराउन आग्रह गर्दै टोलीले बेनी नगरपालिका ५को पुरण्य,फुर्केसल्ला,भिरमुनी,बेनपा-४ को डाडाँखेतल र बेनपा ६ को नेपानेमा मतदाता भेटघाट सहित कोणसभा सम्पन्न गरेको छ ।

डाडाँखेत र फुर्केसल्लामा आयोजित आमसभामा बोल्दै प्रदेश सभा ‘ख’का उम्मेदवार भीमप्रसाद गौचनले राष्ट्रियता,लोकतन्त्र र धार्मिक स्वतन्त्रता माथि भैरहेको प्रहरबाट मुलुकलाई जोगाउनका लागि लोकतान्त्रिक गठवन्धनको आवश्यकता परेको बताउँदै मंसिर १० गते हुने निर्वाचनमा आफू सहित प्रतिनिधि सभाका उम्मेदवार खमवीर गर्वुजालाई जिताउन आग्रह गर्नुभयो ।

‘म्याग्देली जनताका लागि यूवा नेता गर्बुर्जाले धेरै त्याग गर्नुभएको छ । उहाँलाई एकपटक अवसर दिनुहोस्,अहिलेसम्म नभएको विकासको काम गर्नुहुनेछ’ गौचनले भन्नुभयो । भेटघाटको क्रममा गौचनले आफ्नो चरित्रहत्या गर्ने प्रयास गरिएको बताउँदै प्रदेशसभामा आफ्नो उपस्थितीले प्रदेश क संगै जिल्लाको विकासमा समेत भूमिका खेल्ने बताउनुभयो ।

उम्मेदवार गौचनले पंचायत कालमा नै भएपनि म्याग्दीका ग्रामिण क्षेत्रहरुमा विद्यालय,स्वास्थ्यचौकी, गोरेटो र घोडेटो बाटो बनाएर जनतालाई सुविधा दिनुका साथै जिल्लाको विकासको मार्गचित्र सवैभन्दा पहिला आफूले नै बनाएको बताउँदै इतिहाँसलाई कसैले पनि विर्सन र वङ्ग्याउन हुँदैन भन्नुभयो ।

लोकतान्त्रिक गठवन्धनका उम्मेदवारहरुको विजय निश्चित रहेको दोहोराउँदै उम्मेदवार गौचनले विकास र समृद्धि रोज्नेभए लोकतान्त्रिक गठवन्धनका उम्मेदवारहरुलाई भोट दिई विजयी वनाउन आग्रह गर्नुभयो । कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख एवम् म्याग्दी कांग्रेसका सचिव हरिकुमार श्रेष्ठ,कांग्रेस म्याग्दीका सदस्य माधवप्रसाद रेग्मी,वेनी नगरसमितिका अध्यक्ष विनोद श्रेष्ठ,राप्रपाका समानुपातिक उम्मेदवार डम्मर सुवेदी लगाएतले लोकतान्त्रिक गठवन्धनका उम्मेदवारहरुलाई भोट दिई विजयी वनाउन आग्रह गर्नुभएको थियो ।