जन्मदिनका अवसरमा वालवालिकालाई न्यानो कपडा वितरण

0

छोरीको जन्म दिनको अवसरमा बेनी नगरपालिका ७ हुलाकचोकका श्रेष्ठ परिवारले एक विद्यालयका वालवालिकालाई न्यानो कपडा वितरण गरेका छन् । बेनी नगरपालिका ७ हुलाकचोकका स्थायी वासिन्दा एवम म्याग्दी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कुविर श्रेष्ठ र उहाँको धर्मपत्नी जुनु उदास श्रेष्ठले आफ्नो छोरीको जन्मदिनको अवसरमा वालवालिकाहरुलाई न्यानो कपडा वितरण गर्नुभएको हो ।

श्रेष्ठ परिवारद्धारा छोरी ज्यास्मिनको २० औं जन्मदिनको अवसर पारेर आइतवार बेनपा २ बगरफाँट स्थित श्री सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत ६५ जना वालवालिकाहरुलाई सुइटर वितरण गर्नुभएको छ । छोरीको जन्मदिन मनाउदा लाग्ने खर्चलाई बचाएर आर्थिक अवस्था कमजोर भएका वालवालिकालाई न्यानो कपडा प्रदान गरेको कुविर श्रेष्ठले बताउनुभयो ।

छोरी ज्यास्मिनले विपन्न र गरिव परिवारका बालबालिकाहरुलाई सहयोग गर्ने इच्छा देखाएकाले चिसो मौसममा वालवालिकाहरुलाई थोरै भएपनि राहत मिल्ने अपेक्षा सहित न्यानो कपडा सुइटर सहयोग गरेको उहाँले बताउनुभयो । विद्यालयका प्रधानाध्यापक कार्कीले विद्यालयमा पढने सवै वालवालिकाको आर्थिक अवस्था कमजोर भएकोले यस्ता वालवालिकालाई सक्दो सहयोग गर्न अरु परोपकारी मनहरुलाई पनि आग्रह गर्नु भएको छ ।

न्यानो कपडा वितरण कार्यक्रममा बेनी नगरपालिका ७ का वडा अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले गरिव र विपन्न वालवालिकालाई सहयोग गरेको भन्दै सहयोगी ज्यास्मिन श्रेष्ठको प्रशंसा गर्नुभयो । जन्म दिनका नाममा हुने फजुल खर्चलाई कटौती गरी समाजसेवामा लगाउनु उदाहरणिय कार्य भएको बताउनुभयो । विद्यालयमा गरिव र विपन्न परिवारका वालवालिकाहरुले अध्ययन गर्ने भएकाले आर्थिक एवम् भौतिक सहयोगको अपेक्षा गरिएको शिक्षक याम केसीले बताउनुभयो । कार्यक्रम विद्यालयका प्रधानाध्यापक प्रधानाध्यापक भरत कार्कीको अध्यक्षतामा शिक्षक नवराज शर्माको सञ्चालन र शिक्षिका देवि शर्माको स्वागतमा सम्पन्न भएको थियो ।