म्याग्दी जिल्लाबाट सौन्दर्यकला व्यवसायी संघ नेपालको केन्द्रीय सदस्यमा हालै निर्वाचित राधाकुमारी मल्ललाई स्वागत गरिएको छ । सौन्दर्यकला व्यवसायी संघ म्याग्दीको आयोजनामा नवनिर्वाचित केन्द्रीय सदस्य मल्ललाई बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको शुभकामना दिइएको हो ।

संघका जिल्ला अध्यक्ष प्रमिला जोशी श्रेष्ठ, संस्थापक अध्यक्ष सङ्गीता श्रेष्ठलगायत संस्थाका पदाधिकारी र सदस्यहरुले मल्ललाई अबिरको टिका, फुलमाला र खादा लगाएर संस्थामा स्वागत गरेका थिए । स्वागतपछि बोल्दै नवनिर्वाचित केन्द्रीय सदस्य राधा मल्लले पेशा व्यवसायको साथसाथै आफ्नो व्यक्तित्व र नेतृत्वको पनि विकास गर्नुपर्ने बताइन् ।

उनले आफ्नो कार्यकालमा जिल्लामा सौन्दर्यकलाको विकासमा आवश्यक पहल गर्ने र त्यसका लागि सबै व्युटिसियनहरुको साथ र सहयोग आवश्यक पर्ने बताएकी छिन् । कार्यक्रमको अवसरमा संस्थामा आबद्ध नयाँ व्युटिसियन सदस्यहरुलाई स्वागत गर्नुका साथै आबद्धता प्रमाणपत्र प्रदान गरिएको थियो ।

सौन्दर्यकला व्यवसायी संघका जिल्ला अध्यक्ष प्रमिला जोशी श्रेष्ठको अध्यक्षता र सचिव अनिता थापा बानियाँको सञ्चालनमा सम्पन्न कार्यक्रममा संघका सदस्य लिलिमा जोशीले मन्तव्य राखेकी थिइन् । म्याग्दीमा पछिल्लो समय सौन्दर्यकलाको क्षेत्रमा आकर्षण बढ्दै गएको छ ।