दलहरुको चुनाबी अभियान अन्तिम चरणमा आइपुग्दा ‘कम्जोर क्षेत्र’मा केन्द्रीत भएका छन् ।मनोनयनको भोलीपल्टै देखि आमसभा, अन्तरसंवाद र घरदैलो कार्यक्रममा व्यस्त बनेका लोकतान्त्रिक र वाम गठबन्धनले आफ्नो जनधार कम भएको क्षेत्रलाई बढी प्राथामिकता दिएर अभियान चलाइरहेका छन् । कात्र्तिक ८ गते अन्नपूर्ण गाउँपालिकाको दानाबाट अभियान सुरु गरेको लोकतान्त्रिक मोर्चाले गाउँपालिकाको नारच्याङ, शिखघार, हिस्तान, राम्चे र दोबामा पहिलो चरणको अभियान सम्पन्न गरिसकेको छ ।

गत स्थानीय तह निर्वाचनमा काँग्रेसले विजय पाएको यो गाउँपालिकामा ११ हजार १५ मतदाता छन् । एमालेको बलियो आधार मानिने अन्नपूर्णमा काँग्रेस विजय भएपछि अहिले बामगठबन्धनले बढी ध्यान केन्द्रीत गरेको छ । ‘अन्नपूर्ण कम्युनिष्टहरुको आधार किल्लाको रुपमा थियो तर, स्थानीय तह निर्वाचनमा काँग्रेस अघि आएको छ, त्यसमा अहिले हामी बढी होमवर्क गरिरहेका छौँ’, एमालेका जिल्ला सचिब बालकृष्ण सुवेदीले भने ।

एमाले, माओबादी र राप्रपा गरि तीन शक्तिको मोर्चाबन्दी हुँदा समेत ७ वडाअध्यक्ष सहित प्रमुख काँग्रेसले जितेको अर्को गाउँपालिका रघुगंगामा वाम गठबन्धनले जोडतोडले अभियान चलाइरहेको छ । गाउँपालिका अन्र्तगत सबैभन्दा दुर्गम कुईनमँगलेमा समेत गठबन्धनले आमसभा र घरदैलो गरिसकेको छ । १२ हजार ३ सय मतदाता रहेको रघुगंगाको वडा नं २ र ३ भगवति र पिप्लेमा झन् गठबन्धनले दोश्रो चरणको घरदैलो सुरु गर्दैछ ।

प्रदेशसभा ‘क’का उम्मेदवार विनोद केसी यसै क्षेत्रका भएकाले पनि वामको बढी ध्यान रघुगंगामा केन्द्रीत छ । लोकतान्त्रिक र वाम दुबैको हाराहारी सैद्धान्तिक मत रहेको बेनीनगपालिकामा दुबै पक्षले आमसभा सहित पहिलो चरणको कार्यक्रम सम्पन्न गरिसकेका छन् । १९ हजार ६ सय मतदाता रहेको बेनपाको मेयर काँग्रेस–माओबादी गठबन्धनबाट हरिकुमार श्रेष्ठ विजयी हुँदा उपमेयर सञ्जु बरुवाल भने एमाले–राप्रपा गठबन्धनबाट विजयी भएकी थिइन् । ‘सैद्धान्तिक मत’ आउने भन्दै दुबै पक्षले खाशै चासो दिएका छैनन् ।

११ हजार ४ सय मतदाता रहेको मंगलामा एमाले सशक्त मानिन्छ । गाउँपालिका प्रमुख शतप्रसाद रोका काँग्रेस–माओबादी गठबन्धन हुँदा समेत भारी मतले विजयी भएका थिए । तर, लोकतान्त्रिक मोर्चाले यसै क्षेत्रको सबैभन्दा बढी मतदाता रहेको बरंजा र कुहुँ क्षेत्रलाई आधारक्षेत्र बनाउने प्रयत्न गरिरहेको छ । माओबादी केन्द्र कुहुँका इञ्चार्ज दिलबहादुर सार्कीलाई पार्टी प्रवेश गराएको काँग्रेसले बावियाचौर र बरञ्जामा पनि वाम कार्यकर्तालाई आकर्षित गर्ने रणनीति अख्तियार गरेको छ ।

‘हामी सबैभन्दा कम्जोर मंगलामा थियौँ । तर कुहुँ र बरञ्जामा हाम्रो अवस्था सुधार गरेको छौँ, नतिजा स्थानीय तहको जस्तो हुदैन’, काँग्रेसका जिल्ला सचिब क्या. मिनबहादुर कार्कीले भने । वाम गठबन्धनले यहि गाउँपालिकाबाट चुनाबी अभियान सुरु गरेपनि लोकतान्त्रिक मोर्चाको घरदैलो र भेटघाट बढी आक्रामक छ ।

जिल्लाको दुर्गम गाउँपालिका धवलागिरिलाई जनमतको आधारमा लालकिल्ला नै भन्ने गरिन्छ । एउटा मात्र वडा अध्यक्ष जितेको काँग्रेसले यो क्षेत्रमा अहिले सबैभन्दा बढी सुधार भएको दाबी गरेको छ । ‘यो गाउँपालिका अन्र्तगत मराङमा माओबादी केन्द्रको गाउँ इञ्चार्ज सहित वडाअध्यक्षका प्रत्यासी हाम्रो पार्टीमा प्रवेश गरेको छ’ गाउँपालिका खटेका काँग्रेसका निर्वतमान सभापति एवँ निर्वतमान सांसद् रेशम बानियाँले भने, ‘यहाँको जनमत अस्थिर खालको देखिन्छ, स्थानीय तहमा वामतिर गएपनि अहिले हाम्रो पक्षमा हुनेछ।’ साभार रिखार राष्टिय दैनिक