‘बालमैत्री शासन, बालअधिकारको सम्मान’ भन्ने मूल नारासहित सोमबार २८औं अन्तर्राष्ट्रिय बालअधिकार दिवस–२०७४ मनाइएको छ । जिल्ला बालकल्याण समिति, महिला तथा बालबालिका कार्यालय, सिविन म्याग्दी र योङ्ग गल्र्ज नेटवर्क म्याग्दीको सहयोग एवं जिल्ला बाल सञ्जालको आयोजनामा विविध कार्यक्रमसहित म्याग्दीमा बालअधिकार दिवस मनाइएको हो ।

बालअधिकार दिवसको अवसरमा बेनी नगरपालिका–७ कालीपुलमा सञ्चालित बालमन्दिर आधारभूत विद्यालयमा विशेष कार्यक्रमको अयोजना गरिएको थियो । उक्त कार्यक्रममा बालमन्दिर विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई जाडोका लागि न्यानो कपडा स्वीटर वितरण गरिएको जिल्ला बाल सञ्जाल म्याग्दीले जनाएको छ ।

विद्यालयका ७० जना बालबालिकाहरुलाई म्याग्दीका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला बालकल्याण समिति संयोजक कृष्णप्रसाद अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्य, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचाय लगायतले स्वीटर वितरण गरेका थिए । बालबालिकालाई स्वीटर वितरण गर्दै प्रजिअ अधिकारीले बालबालिका अत्यन्तै संवेदनशील क्षेत्र भएको हुँदा उनीहरुलाई सबैले सहयोग गर्नुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा जिल्ला बाल सञ्जालका उपाध्यक्ष थमप्रसाद आचार्य, नेपाल बाल सङ्गठनका सभापति नेत्रबहादुर महत, गैरसकारी संस्था महासंघका अध्यक्ष हरिप्रसाद पौडेल र नागरिक समाजका संयोजक सुदर्शनकुमार श्रेष्ठले बालबालिका राष्ट्रका कर्णधार भएकाले उनीहरुको शिक्षादिक्षामा सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए ।

प्रजिअ अधिकारीको अध्यक्षता, विद्यालयका प्रधानाध्यापक सुरेन्द्र केसीको स्वागत र जिल्ला बाल सञ्जालका सदस्य गीता बुढाको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्लास्थित विभिन्न सरोकारवाला तथा सहयोगी संघसंस्थाका प्रमुख÷प्रतिनिधिको सहभागिता रहेको थियो ।

विज्ञापन