आगामी हप्ता हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मुखैमा म्याग्दीमा नक्कली नोटको बिगबिगी बढेको छ। सोमबार गरिमा विकास बैङ्क, प्रकाश मावि र बेनीको एक किराना पसलमा उस्तै प्रकृतिको एक हजार रुपैयाँ दरको नक्कली नोट भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालयले नक्कली नोटको अनुसन्धान भैरहेको जनाइरहेका बेला सोमबार एमालेनिकट युवा संघ र माओवादी केन्द्रनिकट वाईसीएलले पत्रकार सम्मेलन गरेर उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

एमाले पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा वाईसीएलका जिल्ला अध्यक्ष कुमार थापाले चुनावमा सिधासाधा जनतालाई प्रभावमा पार्नेहरुले नक्कली नोटको प्रयोग गरेको गरेको हुन सक्ने भन्दै सचेत हुन अपिल गरे । यसअघि गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको समयमा पनि बेनी अस्पतालको फार्मेसीमा पाँचसय रुपैयाँको नक्कली नोट भेटिएको थियो ।

चुनावको समयमा नक्कली नोट फेला पर्नु गम्भीर विषय भएको बताउँदै संयुक्त युवा परिचालन समितिका संयोजक प्रकाश पौडेलले यस्ता गैरकानुनी क्रियाकलाप गर्नेहरुको पहिचान गरी कारवाही गर्न प्रशासनसँग माग गरे । उनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सघाउने प्रतिबद्ध रहेको बताउँदै राज्यशक्तिको दुरुपयोगको प्रयास भएमा हातमा दही जमाएर नबस्ने चेतावनी दिएका छन् ।

युवा संघ नेपालका सचिवालय सदस्य कृष्णकुमार विश्वकर्माले स्वस्थ्य एवं शान्तिपूर्ण प्रतिस्पर्धाको सम्मान गर्ने तर पैसा, गुण्डा तथा राज्यशक्तिको दुरुपयोग भएको टुलुटुलु हेरेर नबस्ने बताए । यसैबीच युवा संघ र वाईसीएलले व्यक्तिगत सुरक्षाका लागि अनुमति लिएर राखिएका हतियार नबुझाएको र सङ्कलनमा समेत बेवास्ता भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

एक महिना अघि नै स्थानीय प्रशासनले चुनावी प्रयोजनका लागि हतियार बुझाउन सार्वजनिक सूचनामार्फत आग्रह गरेपनि गत शुक्रबारसम्म जम्मा १९ जनाले मात्रै हतियार बुझाएका थिए । म्याग्दीमा व्यक्तिगत सुरक्षाका लागि ८२ जनाले हतियार राखेका प्रशासनले जनाएको छ । ती हतियार बुझाउन अटेरी र बेवास्ता गर्नुले निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुन्छ भन्ने विषयमा शङ्का उब्जाएको युवा संघका नेता विश्वकर्माले बताए ।