आउँदो मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदातालाई शिक्षा प्रदान गर्न र सचेत बनाउने उदेश्यले सडक नाटक प्रस्तुत गरिएको छ । जिल्ला निर्वाचन कार्यालयको आर्थिक तथा धौलागिरि नाट्य समुह को ब्यवस्थापनमा जिल्लाका ६ वटै स्थानीय तहको विभिन्न ठाउँमा ‘महादान’ शीर्षकको सडक नाटक प्रस्तुत गरिएको हो ।

बेनी नगरपालिका, मंगला, मालिका, धौलागिरि, रघुगंगा र अन्नपूर्ण गाउँपालिको केन्द्रमा प्रर्दशन गरिएको नाटकमा मतपत्रमा कसरी छाप लगाउने ?मतपत्र कसरी पट्याउने ? कस्ता उम्मेदवारलाई मतदान गर्ने,आर्थिक प्रलोभनबाट जोगिने लगाएत विभिन्न माध्यमबाट मतदातालाई आर्कषित गरिएको संस्थाका अध्यक्ष एवम् चर्चित हाँस्य कलाकार रवी कार्कीले बताए ।

नाटकमा कलाकारले उम्मेदवार छान्ने, होट हाल्ने तरिकाका बारेमा सर्वसाधारणले चासो देखाएको बताए ।समुहका अध्यक्ष कार्कीको निर्देशनमा नारायण पौडेल, सविना पौडेल, लक्ष्मण विश्वकर्मा, विकास फगामी, लभ कार्की, विज्ञान शर्मा लगाएतले नमुनाम मतपत्र बोकेर उपस्थित मतदातालाई भोट हाल्ने तरिका सिकाएका थिए ।

उनले स्थानीयतह संगै हरेक गाउँमा मतदानको प्रक्रियाका बारेमा जानकारी गराउने नाटकलाई प्राथमिकता दिनुपर्ने देखिएको बताए । नाटकमा निर्वाचनलाई शान्तिपूर्ण, हिंसारहित ढंगले गनुपर्छ भन्ने सन्देशले मतदातासंगै उम्मेदवार र राजनीतिक दललाई समेत सचेत बनाएको टोलीको भनाई छ । नाटकको जिल्ला निर्वाचन कार्यालयका अनुगमन टोलीले समेत अनुगमन तथा दर्शकको प्रतिक्रिया लिएको थियो ।

‘नाटकले मतदाता शिक्षालाई प्रभावकारी बनाउन सघाएको छ । कलाकारको प्रस्तुतीले राम्रो सन्देश प्रवाह भएको छ’ निर्वाचन अधिकृत केदारनाथ पौडेलले बेनीअनलाइनलाई भने ।स्थानीयतहमा भएको बदरमतलाई यसपटक न्यूनिकरण गर्न स्वयंमसेवकलाई निरक्षर मतदातामा धेरै केन्द्रित गरिएको बताए । निर्वाचन कार्यालयसंगै राजनीतक दलका कार्यकर्ताले समेत मतदाता शिक्षा लिएर जनताको घरदैलोमा पुगेका छन् ।