आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई प्रभावित गर्न विकास निर्माण सहित राजनीतिक गतिविधिमा संलग्न रहेको भन्दै म्याग्दीमा १० उजुरी परेको छ । आफ्नो पक्षमा मतदातालाई आर्कषित गर्न मंगला र रघुगंगा गाउँपालिका, विद्यतु प्राधिकरणलाई उजुरी परेको छ । मंगला गाउँपालिकाले प्रदेशसभा ‘ख’ की उम्मेदवार नरदेवी पुनलाईआफ्नै गाउँ मंगला गाउँपालिका–१ कुहुँमा डोजरको प्रयोग सडक विस्तार गरेको उजुरी परेको हो ।

त्यस्तै लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार खम्बीर गर्बुजा र प्रदेशसभा ‘क’ का उम्मेदवार भीमप्रसाद गौचनको पक्षमा मत बटुल्न रघुगंगा गाउँपालिकाले डोजरको प्रयोग गरी आचारसंहित उल्लंघन गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका आचारसंहिता अनुगमन अधिकृत छविन्द्र बेलबासेले बताए । ‘दुईवटा गाउँपालिका विरुद्ध उजुरी परेको छ, दुवै उजुरीको छानविन भइरहेको छ’वेलबासेले भने ।

उनले दुवै गाउँपालिकाले सडक निर्माणको बजेट,लागत अनुमान, कार्यदेश, गाउँपालिकाको योजनालाई पेश गरेको बताए । उनले गाउँपालिका संगै प्रचारप्रसारमा प्रयोग गरिएका साम्रागी, राजनीतिक गतिविधिमा सक्रिय रहेका शिक्षकका नाम सहित उजुरी परेको बताए ।गाउँपालिकाको बजेटलाई बार्षिक कार्यक्रम बाहेक पनि प्रयोग भएको उजुरी परेपछि गाउँपालिका प्रमुखलाई समेत प्रत्यक्ष उपस्थिती बनाएर तथा टेलिफोनबाट समेत सचेत बनाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै बेनी नगरपालिका–९ घतानमा विद्युतको पोल फेर्न प्रयास गरिएको भन्दै उजुरी परेपछि विद्युत प्राधिकरणबाट समेत लिखित जवाफ मागिएको छ । जिल्लामा क्रियासिल राजनीतिक दलले एकअर्कालाई आरोप–प्रत्यारोप सहित उजुरीमा उत्रिएका छन् । राजनीतिक दलको कार्यक्रममा सहभागि भएका नेपाल शिक्षक संघ र नेपाल शिक्षक संगठनमा आवद्ध शिक्षकहरूको प्रमाणसहित उजुरी समेत दिइएको छ ।

‘आचारसंहितका ठुला घटना घटेका छैनन्, हामीले उम्मेदवारलाई पनि विभिन्न कार्यक्रममा सचेत बनाइरहेका छौ’ सहयाक निर्वाचन अधिकृत राजु ढुंगानाले भने । उनले विकास निर्माण, कार्यक्रममा सहभागिता र मतदातालाई प्रभावित पार्ने बाहेकका उजुरी नपरेको बताए ।उनले निर्वाचनको अन्तिम समयमा आचारसंहित उल्लंघनका गतिविधि हुनसक्ने भन्दै सरोकारावाला निकायले समेत सक्रियता देखाएको बताए ।

निर्वाचनको अन्तिम समयमा मतदातालाई आर्कषित गर्ने गरी हुनसक्ने घटनाप्रति सचेत हुन अनुरोध गरिएको छ । यता मतदाता शिक्षा कार्यक्रममा सहभागि स्वयसेवकहरुबाट समेत दलित पक्षमा मत माग्न सक्ने सम्भावना रहेकाले जिल्ला निर्वाचन कार्यालयबाट समेत नियमित अनुगमन तथा मतदाता शिक्षाका सहभागि भएका स्वयमसेवकलाई सचेत बनाइएको कार्यालय प्रमुख केदारनाथ पौडेलले बताए ।

‘गुनासो आएको छैन, हामीले त्यस्ता गुनासोलाई समाधान गर्ने गरी संयन्त्र बनाएका छौ’ उनले भने । निर्वाचनमा खटिने मतदान अधिकृत, सहायक र कर्मचारी विरुद्ध समेत उजुरी परेपछि आवश्यक छानविन गरी सच्चाइएको छ । यसैविच मुख्य निर्वाचन अधिकृतको कार्यालयले अति संवेदनशिल मतदान केन्द्रको स्थलगत अनुमगन तथा सुरक्षा योजना तयार गरेको छ ।