दैनिक चुनावी अभियानमा ब्यस्त म्याग्दीको प्रदेशसभा क्षेत्र (ख) का लोकतान्त्रिक गठबन्धनका साझा उमेद्वार क्याप्टेन अमलाल फगामीले दुर्गम क्षेत्रका जनतालाई घरदैलोमै पुगेर मत मागिरहेका छन् । पश्चिम म्याग्दीका तीनवटा गाउँपालिका मिलेर बनेको क्षेत्र (ख) का धेरै बस्तीमा पुगेका फगामीले मतदातालाई आफ्नो योजनाका बारेमा बताउँदै दिन विताउँछन् । भारतीय सेनाबाट अवकाश लिएपछि नेपाली कांग्रेसबाट राजनीतिमा सक्रिय भएका फगामीले चुनावी अभियानमा जिल्लाकै अति विकट गुर्जामा समेत पुगे ।

धौलागिरि गाउँपालिका–१ गुर्जामा भोट माग्न उम्मेदवार आएपछि मतदाता समेत दंग परेका थिए।पञ्चायतकाल,बहुदल आएपछि पनि निकै कम उम्मेदवार पुग्ने गुर्जामा ०७० सालमा सम्पन्न भएको दोस्रो संविधान सभाको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका लोकेन्द्र बहादुर विष्ट पछि पहिलोपटक भोट माग्न गएका फगामीले गुर्जाबासीलाई आफ्नो उम्मेदवारी र भावी योजनाका बारेमा सुनाए । ‘म त्यहाँ पुग्दा मतदाताले समेत उम्मेदवार नआउने गाउँ भन्नुभयो । मैले विकासका योजनाहरु समेत ल्याएर आउँछु भन्ने प्रतिबद्धता जनाएको छु’ फगामीले भने ।

विकटबस्तीका जनतामा देखिएको समस्यालाई मध्यनजर गरी आफुँले मत मागेको बताउँदै प्रदेशसभामा निर्वाचति भए राज्यबाट प्राप्त हुने सेवासुविधालाई दुर्गमबस्तीमा रहेका बालबालिका, बृद्धबृद्धा लगाएतको उद्धार र सेवामा खर्च गर्ने गुर्जाबासीलाई प्रतिबद्धता जनाएको बताए । ‘मैले भनेको पुरा गर्ने गरेको छु, मेरो योगदान र प्रतिबद्धता म जन्मिएको गाउँ देविस्थानमा पुगेर हेन सक्नुहुन्छ’ फगामीले भने ।

उनले धौलागिरि गाउँपालिकामा आयोजित चुनावी अभियानको क्रममा सडक, विद्युतीकरण, शिक्षा, लगाएत स्थानीयबासीको आयआर्जन लगाएत विभिन्न क्षेत्रमा प्राथमिकता दिनुपर्ने देखिएको बताए । उनले मतदाताले तत्काल परिवर्तन चाहेको बताउँदै अहिलेसम्म विकासमा असमानता, पहुँच, ब्यक्तिगत लाभका कारण दुर्गमबस्तीका जनताले चाहेका धेरै योजनाहरु पहुँच बाहिर भएको बताए । उनले नेतासम्म नपुग्ने गाउँमा विकासको लहर ल्याउने दावी समेत गरे ।

उनले मंगला, मालिका र धौलागिरि गाउँपालिकाका सामुदायिक विद्यालयमा दरबन्दीको अभावमा समुदायले तलबभत्ताको ब्यवस्था गर्नुपर्ने बाध्यताले समेत बालबालिकाको शैक्षिक गुणस्तर बढाउन समस्या भएको बताउँदै दरबन्दी नभएका विद्यालयमा दरबन्दीका लागि आवश्यक स्रोत पहिचान गरिने प्रतिबद्धता जनाएको फगामीको चुनावी अभियानमा रहेका नेविसंघका विद्यार्थी नेता इन्द्रजित छन्त्यालले बताए । ‘उहाँको प्रतिबद्धताले धेरै उत्साहित छन् । विजय भएपछि राज्यको सुविधा नलिदाँ पनि गाउँका धेरै समस्या समाधान हुने रहेछ’ छन्त्यालले भने । अभियानमा थोरै बस्ती भएको अन्य गाउँमा समेत पुगेको बताए । लोकतान्त्रिक गठबन्धनबाट आक्रामक चुनावी अभियान संगै घरदैलो अभियानले समेत तिब्रता पाएको छ । तस्वीर सौजन्य इन्द्रजित छन्त्याल