आगामी मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा बेनी नगरपालिका, रघुगंगा गाउँपालिका, अन्नपूर्ण गाउँपालिकालाई समेटर बनेको प्रदेश ‘क’ मा लोकतान्त्रिक गठबन्धन र बाम गठबन्धनका उम्मेदवार बिचको कडा टक्कर हुने निश्चित छ ।पञ्चायतकालमा एकछत्र राज गरेका पुर्वराज्यमन्त्री भिमप्रसाद गौचन रनेकपा माओवादीका यूवा नेता विनोद केसीले विभिन्न चरणको चुनावी अभियानलाई सकेर बिहिबार देखी घरदैलो अभियानमा केन्द्रित भएका छन् ।

पञ्चायकालिन विकास र गतिविधिबाट चर्चित गौचन र शसस्त्र जनयुद्धमा आफ्नो दाईलाई गुमाएका एक कम्युनिष्ट परिवारका यूवा नेताको चुनावी अभियानमा एकले अर्कोलाई प्रहारका आरोपले पनि दुवै एक अर्को प्रति असुरक्षित भएको महसुस गरेको देखिएको छ । भिमप्रसादले जिल्लामा राजनीतिक गतिविधि गर्दा धर्तीमा पाईला समेत नटेकेका बिनोदले बुढापाकाको सम्मान गर्ने भन्दै यूवाको पक्षमा मत मागिरहेका छन् ।

उता तत्कालिन समयमा अन्य जिल्लामा गएको विकासका योजनालाई समेत जिल्लामा ल्याउँदा आफ्नो तर्फबाट भएका कार्यबाट समेत म्याग्देली जनताले अन्तिम पटक जनप्रतिनिधिको हैसियतामा काम गर्न दिनेमा विश्वस्त छन् ।गौचनलाई प्रदेश ‘क’ मा बलियो शक्ती नेपाली कांग्रेसको सहयोग छ भने केसीलाई नेकपा एमालेको । दुवैले आफ्नो पक्षमा नजिता आउने दावी गरेपनि सहज भने दुवैलाई देखिदैन् । तत्कालिन समयमा शिख लगाएतका गाउँमा घटेको घटनाले गौचनलाई र माओवदी जनयूद्धमा ज्यामरुककोट, सिंगा र दोवामा भएको घटनाबाट दुवै उम्मेदवार भित्रभित्र झस्किएका छन् । गठबन्धन भएकाले असन्तुष्टी भएपनि दुवै उम्मेदवारको प्रभाव क्षेत्रहरु छन् ।

प्रदेश ‘क’ (बेनी नगरपालिका, रघुगंगा, अन्नपूर्ण गाउँपालिका)
सदरमुकाम बेनीसंगै छिमेकी जिल्ला मुस्ताङसम्मको सिमासम्म फैलिएको प्रदेश ‘क’ मा दुवै गठबन्धनका उम्मेदवारले आफ्नो प्रचारप्रसारलाई तिब्रता दिएका छन् । उम्मेदवारका हरेक समस्यालाई समाधान गर्ने प्रतिबद्धता जनाइरहेका दुवै गठबन्धनका उम्मेदवार बीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । बामगठबन्धनका यूवा नेता केसी र लोकतान्त्रिक गठबन्धनका गौचनले आफ्नो पक्षमा जनमत ल्याउन दिनरात खटिएका छन् । १९ बर्षको उमेरमा पाखापानीमा गाउँपञ्चायतको अध्यक्ष भएका गौचन २०२३ सालमा पहिलो जिल्ला सभापति भएका थिए । ३० बर्षको उमेरमै निर्माण तथा यातायात राज्यमन्त्री बनेका गौचनले ०२८ सालमा बन सहायक राज्यमन्त्री, ०४९ मा यातायात राज्यमन्त्री, सामान्य प्रशासन राज्यमन्त्री हुदै पञ्चायकालमा ४ पटक मन्त्री बन्ने अवसर पाए ।

पञ्चायतकालमा म्याग्दी जिल्लामा विकासको सुरुवात गरेका गौचनले २०२३ साल देखी ४४ सालसम्म करिव जिल्लाको सर्वमान्य लिडरको रुपमा आफ्नो प्रभाव जमाएका थिए । नेपाल रेडक्रस सोसाईटीको संस्थापक, बाल संगठन, जिल्लाका धेरै सामुदायिक विद्यालय, स्वास्थ्य, खानेपानीको उद्घाटनमा स्वर्गिय राजा विरेन्द्र शाहलाई तीनपटक म्याग्दीको भ्रमणमा ल्याएका गौचनले अझैपनि जिल्लाको राजनीतिमा आफ्नो आवश्यकता देखेका छन्।

‘मलाई म्याग्देली जनताले विकासप्रेमी भन्छन् ।अझैपनि मैले म्याग्देलीको लागि काम गर्न चाहन्छु’ गौचनले भने । उनले आफ्नो पक्षमा अझैपनि जनमत रहेको बताउँछन् । ‘मेरो पालामा जिल्लामा धेरै विकास भए, मैले खुल्ला बहस गर्न सक्छु’ उनले भने । नेपालका अन्य जिल्लामा जाने विकासे योजनाहरूलाई समेत जिल्ला भित्र ल्याउन खेलेको प्रयास म्याग्दीली जनतालाई थाहा भएको बताउँदै उनले एकपटक काम गर्ने अवसर दिन समेत अनुरोध गरे ।

उनले आफ्नो प्रतिस्पर्धीसंग भिजन नभएको दावी समेत गरे । ‘उहाँले के मुखले भोट माग्न जाने, उहाँसंग भिजन छ’ गौचनले भने । उनले जनतालाई मत माग्न आफुँले विगतमा गरेका कुनैपनि काम नभएपछि आफुँलाई अनावश्यक आरोप लगाएको बताउँदै जनताले मतदानमा आफुँलाई रोज्ने बताए । जनताबाट बहिस्कृत राजनीतिक दलमा नेता नभएपछि नेताको रुपमा देखिएपनि उनले जिल्लाको विकासमा कुनै योगदान नगरेको गौचनको आरोप छ । उनले राप्रपाले जिल्लामा आफ्नो पहिचानलाई कायम राखेको दावी समेत गरेका छन् ।

नयाँ पुस्तालाई समेत आफ्नो विगतका बारेमा जानकारी गराउँदै हिडेको बताउँदै यूवापुस्ताको आर्कषण आफ्नो पक्षमा रहेको दावी गर्छन् । तत्कालिन समयमा उत्तरी म्याग्दीका जनतालाई दमन गरेको आरोप खेपिरहेका गौचनले केही यूवाहरुले प्रहरीमाथि आक्रमण गरेपछि प्रतिकार गर्दा गोली चलेको बताउँछन् । उनले बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा आफ्नो राम्र्रो प्रभाव भएकाले चुनाव जित्न सहज भएको दावी गरेका छन् । प्रदेशमा आफ्नो उपस्थिति सांसद नभई मन्त्रीको लागि हुने उनको भनाई छ ।

यता बामगठबन्धनका तर्फबाट चुनावी मैदानमा रहेका विनोद केसी चुनावी अभियानमा देखिएको लहरबाट उत्साहित छन् ।यूवापुस्ताले राजनीतिमा त्याग गरेपनि अवसरबाट बन्चित भइरहेको अवस्थामा केसीले नेकपा एमाले र माओवादीको गठबन्धनबाट पाएको उम्मेदवारीले आफ्नो विजयलाई बलियो बनाएको बताउँछन् ।आमसभा, घरदैलो अभियानमा केन्द्रित भएका केसीले यूवापुस्ताको आर्कषण, बुढापाकाको साहनुभुतीले समेत आफ्नो विजयलाई कसैले रोक्न नसक्ने बताउँछन् ।

माओवादी जनयूद्धमा होमिएका केसीका दाजुलाई २०५८ सालमा मराङको घण्टेवाङबाट नियन्त्रणमा लिएर दरवाङको दुखुमा क्रुरतापूर्वक हत्या गरेपछि जनयूद्धलाई सहयोग गरिरहेका केसीको परिवार नै पञ्चायत विरोधी अभियानमा सक्रिय थिए । ‘मेरो उम्मेदवारी जिल्लाभित्रका सबै यूवाहरुको प्रतिनिधित्वसंग केन्द्रित छ, भिजनलाई कार्यान्वयन गर्न पनि मेरो बिजय आवश्यक छ’ उनले भने । नेकपा एमालेको जनमत, माओवादी केन्द्र र अन्य राजनीतिक दलका यूवाहरुको समेत समर्थन रहेकाले पनि आफ्नो बिजय घोषणा गर्न मात्रै बाँकी रहेको केसीको भनाई छ ।

उनले जनयूद्धमा शहिद भएका दाजुको सपना संगै पिछडिएका यूवाहरुलाई समेत आत्मनिर्भर बनाउने मतदान गर्न समेत अपिल गरे ।लोकतान्त्रिक गठबन्धनका उम्मेदवार गौचन म्यान नाघिसकेको औषधी भएको उनको भनाई छ । ‘पञ्चायतकालमा उहाँले गरेका गतिविधि विरुद्ध जनता नै उत्रिएका छन्, अव पनि पुरानै पारा खोज्ने की नयाँ यूवाहरुको जोसजागरलाई रोज्ने’ केसीले भने । उनले आफ्नो परिवारले पञ्चायतकाल देखि गणतन्त्र ल्याउने बेलासम्म ज्यान समेत गुमाउनु र धेरै यातना पाएको बताउँदै जनप्रतिनिधिको हैसियतमा काम गर्ने अवसर दिन अनुरोध गरे ।

माओवादीको यूवा विभाग हुदै पार्टीको सचिवाल र केन्द्रिय महाधिवेशन आयोजिक समितिका सदस्य समेत रहेका केसीले मतदातालाई आर्कषित गर्ने आफ्ना सबै क्षमतालाई परिचालन गरेका छन् । प्रदेश ‘क’ मा लोकतान्त्रिक गठबन्धनले बेनी नगरपालिका, रघुगंगा गाउँपालिका र अन्नपूर्ण गाउँपालिकामा बिजय प्राप्त गरेकोको आधारमा गौचनले आफ्नो जीतलाई सुनिश्चित भनेका छन भने केसीले नगरपालिका सहित दुईवटै गाउँपालिकामा एमाले र माओवादीको मत, गौचनप्रति असन्तुष्ट विपक्षीको मतले समेत जितलाई सजिलो बनाएको बताउँछन् ।

यस क्षेत्रमा बेनी नगरपालिकामा कुल मतदाता १९ हजार ६०५ मतदाता रहेका छन् । तीमध्ये १० हजार ४६८ महिला र नौहजार १३७ जना पुरुष, रघुगंगा गाउँपालिकामा १२ हजार ३७३ मतदातामध्ये छ हजार ५३१ महिला र पाँचहजार ८४२ पुरुष र ११ हजार १५ मतदाता रहेको अन्नपूर्ण गाउँपालिकामा पाँचहजार ६५७ महिला, ५ हजार ३५७ पुरुष र एकजना तेस्रोलिङ्गी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।