आउँदो आइतबार हुन गैरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन दुई दिन मात्रै बाँकी रहँदा बिहीबार म्याग्दीका उम्मेदवारहरुले बेनीमा घरदैलो र मतदाता भेटघाट गरेका छन् । आज राती १२ बजेदेखि मौन समय सुरु हुनेहुँदा गाउँ अभियानपछि बेनीमा झरेर लोकतान्त्रिक र वाम गठबन्धनका उम्मेदवारले घरदैलो कार्यक्रममार्फत मतदातालाई भेटेर भोट मागेका हुन् ।

लोकतान्त्रिक गठबन्धनको तर्फदेखि प्रतिनिधिसभाका उम्मेदवार नेपाली कांग्रेस म्याग्दीका सभापति खम्बीर गर्बुजा, प्रदेशसभा (क)का राप्रपाका उम्मेदवार भीमप्रसाद गौचन, वाम गठबन्धनका उम्मेदवार नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य भूपेन्द्रबहादुर थापा र प्रदेशसभा (क)का माओवादी केन्द्रका उम्मेदवार विनोद केसीले मतदातालाई भेटेर भोट माग्नुभएको छ ।

उम्मेदवार र दुवै गठबन्धनमा आबद्ध दलका नेता, कार्यकर्ता र समर्थकले चुनाव चिह्न बारेमा जानकारी गराउँदै आ–आफ्नो उम्मेदवारको पक्षमा भोट मागेका थिए । राजनीतिक दल तथा उम्मेदवारहरुले रातीदेखि शुन्य समय सुरु हुने भएपछि सदरमुकामवासीलाई भेटेर आकर्षक नारा र योजना सुनाउँदै मत मागिरहेका छन् । एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दीमा कुल मतदाता सङ्ख्या ७५ हजार ५ सय ३८ रहेको छ । तीमध्ये ३९ हजार ४ सय ३५ महिला, ३६ हजार १ सय २ जना पुरुष र एकजना तेस्रोलिङ्गी मतदाता रहेका छन् । प्रतिनिधिसभा र प्रदेशसभातर्फ गरी कुल १३ जना उम्मेदवारहरु चुनावी मैदानमा छन् ।