आउँदो आइतबार हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाका खटिएका कर्मचारीहरु निर्वाचन सामाग्री बुझेर मतदानस्थलतर्फ खटिएका छन् ।मतदान सम्पन्न गराउने सामाग्रीसहित सुरक्षाकर्मीको साथमा कर्मचारीहरु कार्यक्षेत्रमा प्रस्थान गरेका हुन् । चुनावका लागि म्याग्दीमा आठसय ४७ जना कर्मचारीहरु नियुक्ती गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रबक्ता खेमराज पाठकले बताए । ‘अधिकृत सहितको टोली मतदान केन्द्रमा पुग्नुभएको छ ।

कडा सुरक्षाको ब्यवस्था मिलाइएको छ’ पाठकले भने । उनले नियुक्ती लिएर खटिने क्रममा आवश्यकता अनुसारको निर्देशन दिइएको बताउँदै निर्वाचनलाई मर्यादित र भयरहित वातावरणमा सम्पन्न हुने बताए । यसैगरी चारसय २२ जना स्वमसेवक खटाइएको छ । सदरमुकामबाट दुईदिन लाग्ने धौलागिरि गाउँपालिका–१ गुर्जाका लागि कर्मचारीहरु बुधवार सामाग्री बुझेर प्रस्थान गरेका थिए ।

यसैगरी धौलागिरिकै मुना, मुदी र लुलाङ खटिएका कर्मचारी पनि बुधबारै त्यसतर्फ प्रस्थान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै मालिका गाउँपालिका–५ मल्कबाङ, चिमखोला र कुईनेमङ्गले खटिएका कर्मचारीले पनि सामान बुझेर बिहीबार प्रस्थान गरेका छन् ।

सदरमुकामबाट नजिक रहेका मतदानस्थलहरुमा पनि बिहिबार नै कर्मचारी पठाइएको छ । नेपाली सेना र शसस्त्र प्रहरीको सुरक्षा गस्तीमा मतदान केन्द्रमा पुगेका कर्मचारीले शुक्रबार देखी काम सुरु गर्नेछन् । नेकपाको प्रभावित जिल्लाको रुपमा समेत चिनिएकाले पनि म्याग्दीमा सुरक्षा ब्यवस्था कडा बनाइएको छ ।

मतदान केन्द्र आसपासका क्षेत्रमा २४ घण्टे अर्लट गरिएको छ । त्यस्तै नयाँ अनुसार गाउँमा देखिएमा तत्काल पक्राउ गरी अनुसन्धान गर्न समेत प्रहरीले आदेश पाएका छन् । प्रतिनिधिसभामा एक, प्रदेशसभामा दुई निर्वाचन क्षेत्र रहेको म्याग्दीमा ७५ हजार ५३८ जना मतदाता छन् । एक नगरपालिका र ५ वटा गाउँपालिका रहेको यस जिल्लामा ७२ मतदानस्थल र एकसय ६ मतदान केन्द्र कायम गरिएको छ । १३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।