आगामी आइतबार हुने लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई भयरहित बनाउन म्याग्दीका राजनीतिक दललाई अनुरोध गरिएको छ ।

बिहिबार निर्वाचनको तयारी, आचारसंहितको उल्लंघन, कर्मचारीको परिचालन, मतपेटिकाको सुरक्षा, दलिय विवाद लगाएतका विषयमा केन्द्रित भएर मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भएको सर्वदलीय छलफलमा मुख्य निर्वाचन अधिकृत राजकुमार कोईरालाले मौनअवधिको पूर्णरुपमा पालना संगै मतदान देखी मतगणनासम्मको अवधिभर निर्वाचनको आचारसंहित विपरितका गतिविधिलाई रोक्न निर्देशन दिएका थिए ।

‘अहिलेसम्म राम्रो छ, कुनै समस्यालाई तत्काल समाधान गर्न सकिन्छ’ कोइरालाले भने ।उनले निर्वाचनको आवश्यक तयारी पुरा भएको बताए ।छलफलमा आफ्ना कार्यकर्तालाई परिचालनलाई समेत ब्यवस्थित गर्न अनुरोध गरिएको थियो ।भयरहित वातावरणमा सम्पन्न गर्न लोकतान्त्रिक र बामपन्थी गठबन्धन बिच आपसी सहकार्यबाटै भइरहेका गतिविधिलाई आगामी दिनमा समेत निरन्तरता दिन समेत अनुरोध गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले सुरक्षा संयन्त्रबाट निस्पक्ष रुपमा आफ्नो कार्य सम्पादन भइरहेको बताउँदै अनावश्यक आरोप नलगाउन समेत दलका प्रतिनिधिहरुलाई अनुरोध गरेका थिए ।‘निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउनु हाम्रो दाहित्व हो, निर्वाचन केन्द्रित सुरक्षा योजनामा सबैको सहयोग आवश्यकता छ’ अधिकारीले भने ।निर्वाचनको मुखमा हुने अपराधिक गतिविधिलाई रोक्न ब्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको बताए । ‘जिल्लाका सबै क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिती छ ।परिचालित कर्मचारीको सुरक्षा पनि थपिएको छ’ उनले भने ।

प्रहरी नायव उपरिक्षक बशुन्धरा खड्काले मौनअवधिमा रातीको १० बजे पछि आवतजावतलाई कडाई गरिने बताईन् । उनले अटेर गर्नेलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिने बताईन् ।नेपाली कांग्रेसका जिल्ला कार्यसमिति सदस्य माधवप्रसाद रेग्मी, नेकपा एमालेका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, नेकपा माओवादी केन्द्रका संयोजक गोविन्द पौडेलले समेत आफ्ना भनाई राखेका थिए ।

राजनीतिक दलका प्रतिनिधिले निर्वाचनको अन्तिम समयमा आर्थिक चलखेल,गुन्डाहरूको परिचालन लगाएतका गतिविधिहरु हुनसक्ने भन्दै त्यसप्रति सचेत हुन समेत सुरक्षा निकायलाई अनुरोध गरेका थिए ।छलफलमा निर्वाचन आयोगका सहसचिव डा.हरि पौडेल, मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृतद्धय राजु ढुंगाना, खेमराज पाठक, प्रहरी नायव उपरिक्षक बशुन्धरा खड्का, श्रीबक्स गुल्मपति अनिल बुढाथोकी, शसस्त्र प्रहरी चन्डिका गढको म्याग्दीस्थति अस्थायी क्याम्पका प्रहरी नायव उपरिक्षक शुशिल सुबेदी, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख अर्जुन शर्मा लगाएतको उपस्थिती रहेको थियो ।

जिल्लाभित्रका मतदान केन्द्रमा सुरक्षा ब्यवस्था कडा बनाइएको छ । सदरमुकाम बेनी बाहेक जिल्लाका सबै मतदान केन्द्रमा १०६ मतदान केन्द्रमा अधिकृत र सहायक २१२, सहायक कर्मचारी ४२३,सहयोगी कर्मचारी २१२ गरी कुल ८४७ जना कर्मचारी जिल्लाबाट परिचालन गरिएको छ । शसस्त्र प्रहरी र नेपाली सेनाको सुरक्षा घेराभित्र सबै मतदान केन्द्रमा कर्मचारी सहित निर्वाचन साम्रागी पुगेको छ । प्रतिनिधिसभामा १, प्रदेशसभामा २ निर्वाचन क्षेत्र रहेकोमा ७२ मतदानस्थल, १०६ मतदान केन्द्र रहेका छन् । कुल ७५ हजार ५३८ जना मतदाता रहेका छन् ।

यसैविच कुल ७२ मतदान केन्द्र रहेको जिल्लामा २२ मतदानस्थल अति संवेदनशिल रहेका छन् । अति संवेदनशिल बाहेक ३८ संवेदनशिल र १२ समान्य मतदानस्थलमा समेत तीन तहको सुरक्षा योजना परिचालन गरिएको छ । नेपाल कम्युनिष्ट ‐विप्लव) पार्टीको प्रभावित क्षेत्रलाई सुरक्षा थ्रेटलाई मध्यनजर गरी विगतका निर्वाचनमा देखिएका सुरक्षा चुनौती, भौगोलिक बिकटता, यातायात, सञ्चार, मतपेटिका ढुवानी, मौसम परिवर्तन,राजनीतिक दल विचको झडप लगाएत विभिन्न आधारमा अति, संवेदनशिल र समान्य अवस्थाको मतदान केन्द्रमा तीन तहको सुरक्षा घेरा बनाइएको छ ।