अतिथिको रुपमा भोट खसाल्न फर्किन थाले मुस्ताङी

0

आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सहभागि हुन उपल्लो मुस्ताङको लोमान्थाङका पेम्बा गुरूङ घर फर्किए ।अत्याधिक जाडो भएपछि पोखरा पुगेका गुरूङ सहित करिव ४० जनाको टोली उम्मेदवारले ब्यवस्थापन गरेको यातायातका साधानमा सडकमार्ग हुदै बिहिबार गाउँ फर्किएका छन् । विगतका निर्वाचनलाई भन्दा महत्व रहेकाले मतदानका लागि गाउँ फर्किएको लोमान्थाङका पासाङ गुरूङले बताए ।

‘चिसो मौसम भएपनि हामीलाई चुनावले छोएको छ ।गाउँको विकासका लागि पनि मतदानमा सहभागि हुदैछौ’ उनले भने ।पोखराबाट मतदाता सहित आएको टोलीलाई बेनी नगरपालिका–९ घतानस्थित गलेश्वरमा रहेको एक होटलमा खानाको ब्यवस्थापन गरिरहेका एक यूवाका अनुसार मतदातालाई यातायात सुविधा, खानाबस्न लगाएत सार्वजनिक गर्न नमिल्ने सुविधाहरु समेत रहेको बताउँछन् ।

‘मतदान गरेपछि उहाँहरुलाई पोखरासम्मको यातायातको सुविधा समेत छ ।जाडो मौसम भएकाले पनि खर्च धेरै हुन्छ’ उनले भने । कोखमा दुधेबालक सहित मतदानका लागि हिडेका मुस्ताङको लर्कोले बेनी–जोमसोम सडकखण्डमा समेत भिडभाड देखिन्छ । जाडो छल्न जिल्ला छोड्ने मुस्ताङीले आफ्नो ब्यापार ब्यवसायलाई समेत छोडेर गाउँ फर्किन थालेपछि उम्मेदवार समेत उत्साहित भएको खुङ्गा गुरूङले बताए ।

‘हामीलाई भन्दा धेरै चुनाव उम्मेदवारलाई लागेको छ, जाडो भनेर बस्दा भविस्यमा सहयोग नहुनसक्छ’ उनले भने । तल्लो मुस्ताङ देखी माथिल्लो क्षेत्रसम्मका मतदाताहरू अतिथि जस्तै बनेर फकिएका छन् । निर्वाचनमा सहभागि भइरहेका मतदाताहरूलाई आर्कषित गर्न उम्मेदवारले समेत काठमाण्डौ देखी पोखरासम्मको हवाई टिकटका साथै सवारीसाधनको समेत ब्यवस्थापन गरेपछि बाध्य भएर गाउँ फर्किएका छन् ।

म्याग्दीको सिमाना क्षेत्रमा बस्ने मतदाता देखी चिनको तिब्वतसंग सिमाना जोडिएको छोसेर र छोन्हुप सम्मका मतदाताहरूको अन्तिम टोली शुक्रबार बेलुकीसम्म जिल्ला फर्किने मतदाता ब्यवस्थापनमा सहभागि नेपाली कांग्रेसका एक नेताले बताए । जिल्लामा छिट्टै फर्किएका मतदातालाई अन्य दलले समेत आफ्नो पक्षमा पार्न सक्ने सम्भावना रहेकाले पनि म्याग्दीकै होटलमा खाने र बस्नेको ब्यवस्थापन समेत गरिएको छ। नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारले ब्यवस्थापनमै धेरै खर्च गर्ने गरेका छन् ।

थोरै मतदाता भएकाले पनि मुस्ताङमा धेरै खर्च हुने गरेको छ । ब्यक्तिगत रुपमा समेत सम्पन्नशाली उम्मेदवार र आफ्ना शुभचिन्तकबाट समेत ठुलो आर्थिक सहयोगले समेत सानो जिल्ला मुस्ताङमा चुनावमा धेरै खर्च हुने गरेको छ ।मुस्ताङमा ३७ ओटा मतदानस्थल रहेका छन् । उक्त निर्वाचनका लागि मतदान केन्द्र पनि ३७ ओटै कायम गरिएको छ ।

एकहजार ५० जनासम्म मतदाता रहेकोमा एउटा मतदान केन्द्र तोकिए पनि मुस्ताङका कुनै पनि मतदानस्थलमा मापदण्ड अनुसारका मतदाता छैनन् । जिल्लाभर कुल नौहजार ४ सय २७ जना मतदाता रहेका छन् । तीमध्ये महिला चारहजार ८ सय ६, पुरुष चारहजार ६ सय २० र एकजना तेस्रोलिङ्गी रहेका छन् । गएको बैशाख ३१ गते सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचनमा मुस्ताङमा कुल आठहजार ४ सय ६१ जना मतदाता रहेका थिए । गत साउन १ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन गरेको फोटोसहितको मतदाता नामावली सङ्कलन अभियानमा मुस्ताङमा ९ सय ६६ जना मतदाता थपिएका छन् ।

२०६८ सालको जनगणना अनुसार मुस्ताङ जिल्लाको कुल जनसङ्ख्या १३ हजार ४ सय ५२ रहेको छ । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा एकहजार ८०६, दालोमे गाउँपालिकामा एकहजार ३५०, बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकामा दुईहजार १२१, घरपझोङ गाउँपालिकामा एकहजार ९१२ र थासाङ गाउँपालिकामा दुईहजार २३८ जना मतदाता छन् ।सबैभन्दा धेरै मतदाता थासाङ र सबभन्दा कम दालोमे गाउँपालिकामा रहेका छन् ।

पाँचवटा गाउँपालिका रहेको मुस्ताङमा आउँदो निर्वाचनका लागि एक प्रतिनिधिसभा र दुईवटा प्रदेशसभा रहेको छ भने विभिन्न दलका गरी ८ जना उम्मेदवारहरु चुनावी मैदानमा रहेका छन्। मुस्ताङको चुनावमा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसबाट रोमी गौचन थकाली र नेकपा एमालेका प्रेमप्रसाद तुलाचन उम्मेदवार बनेका छन् ।

यसैगरी प्रदेशसभा ‘क’ मा कांग्रेसका मिक्युर गुरुङ र एमालेका ईन्द्रधारा धारा विष्ट रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रदेशसभा ‘ख’ मा कांग्रेसका छिरिङधावा गुरुङ, एमालेका महेन्द्रबहादुर थकाली, राप्रपाका नरबहादुर हिराचन र राप्रपा प्रजातान्त्रिकबाट प्रविण शेरचन चुनावी मैदानमा उत्रिएका छन् । निर्वाचनलाई आवश्यक पर्ने सबै साम्रागी सम्बन्धित केन्द्रमा पुगिसकेको छ ।