दृष्टिविहिन भन्छन्,‘हाम्रो मत दुरुपयोग नहोस्’

0
229

आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा म्याग्दीका दृष्टिविहिनले आफ्नो मत दुरूपयोग हुने गरेको गुनासो गरेका छन् । हरेक निर्वाचनमा आफ्नो इच्छा अनुसारको उम्मेदवारलाई मतदान गर्न दृष्टिविहिनले आफ्नो मताधिकार गोप्य रुपमा प्रयोग गर्ने मतपत्रको माग गरेपनि सम्बन्धित निकायबाट वेवास्ताले परिवार र छिमेकीकको सहयोगमा छनौट गर्नुपर्ने अवस्थाले गोप्य मतदानबाट बञ्चित हुनुपरेको गुनासो गरेका छन् ।

‘मतपत्र दृष्टिविहिनमैत्री छैन्, नाममात्रका मतदाता बनेका छौ’ नेत्रहीन संघका केन्द्रिय सदस्य खेमराज शर्माले भने ।उनले आफन्त, छिमेकी र मतदान अधिकृतको सहयोगमा मतदान प्रक्रियामा सहभागि हुदाँ आफुँले चाहेको उम्मेदवार भन्दा सहयोगीले आफुँ निकटका उम्मेदवारलाई भोट हाल्ने गरेको गुनासो गरे ।

उनले विद्युतीय भोटिङ मेसिन र चिन्हलाई पहिचान गरेर मतदान गर्ने मतपत्रको ब्यवस्था नभएसम्म दृष्टिविहिनको मत सधै दुरूपयोग हुने बताए ।उनले स्थानीय तहको निर्वाचनमा समेत आफुँहरुले माग गरेपनि अर्को निर्वाचनमा प्रयास गर्ने आश्वासन समेत पुरा नभएको गुनासो गरे ।देशभरका दृष्टिविहिन मतदाताले आफ्नो छोराछोरी, श्रीमति लगाएत छिमेकीले मत हाल्ने गरेकाले निर्वाचनको उत्साह खासै नहुने शर्माको भनाई छ ।

पहिलो संविधानसभाको निर्वाचनबाटै दृष्टिविहिनमैत्री मतपत्रको माग गरेपनि अहिलेसम्म पुरा नभएको उनले बताए ।दृष्टिविहिनलाई भोट बैङ्कका रुपमा प्रयोग गर्ने वातावरणको अन्त्य गर्न आगामी निर्वाचनमा दृष्टिविहिनको समस्यालाई ध्यान दिन समेत अपाङ्कता भएकाको क्षेत्रमा काम गर्ने अधिकारकर्मीको भनाई छ । राजनीतिक दलमा सक्रिय भएका मतदाताले समेत सहयोगीको भरमा मतदान गर्दा दुरुपयोग हुने गुनासो गदैं आइरहेका छन् ।

पहिलोपटक हुन लागेको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा मतदान गर्ने दृष्टिविहिनको आधिकारिक सङ्ख्या पहिचान नभएपछि म्याग्दीमा पुर्ण र न्यून दृष्टियूक्त मतदाता धेरै रहेको अपाङ्ग संघले जनाएको छ । ‘चुनाबमा धेरै खर्च हुन्छ तर दृष्टिविहिनको क्षेत्रमा एकपैसा पनि खर्च गर्ने हिक्मत कसैले गरेका छैनन्’ सन्ध्या छन्त्यालले भनिन् ।उनले मतदाता परिचय पत्रमा नाम समावेश गर्न पुग्ने उमेर समुहका दृष्टिविहिन समेत मतदानबाट बन्चित हुनुपर्ने अवस्था आएको गुनासो गरिन् ।

मतदानस्थलमा समेत दलका नेताकार्यकर्ताले दृष्टिविहिनलाई सहयोग गर्ने भन्दै खोसाखोस गर्ने गरेको गुनासो उनीहरूको छ ।केही दृष्टिविहिनले आफ्नो मतलाई परिवार र छिमेकीले समेत खरिद विक्री गर्ने गरेको आरोप समेत लगाएका छन् । निर्वाचनमा अपाङ्ता भएको क्षेत्रमा आवश्यक सहयोग तथा आधारभुत आवश्यकताका बारेमा घोषणापत्रमा समेत प्राथमिकतामा नपरेपनि राष्ट्रिय उत्सव भएकाले मतदान प्रति उत्साहित भएको दृष्टिविहिनहरूको भनाई छ । अपाङ्ग संघ म्याग्दीले समेत दृष्टिविहिन मतदाताका बारेमा उठाइएका आवाजको सुनुवाई नभएको जनाएको छ ।

यसैविच जिल्ला निर्वाचन कार्यालयले दृष्टिविहिनको मत दुरूपयोग हुन नदिन आवश्यक सतर्कता अपनाउने बताएपनि मतदाताले आफुँलाई विश्वास लाग्नेलाई मतदान प्रक्रियामा सहभागिता जनाउन सक्ने जनाएको छ ।‘उहाँहरुले विश्वास गर्नेबाट सहयोग लिनुपर्छ, हामीलाई पनि धेरै गुनासो आउने गरेको छ’ निर्वाचन अधिकृत केदारनाथ पौडेलले भने ।उनले मतपत्रमा स्वस्तिक छाप लगाउँदा मतपत्रको आकार र आफुँले हाल्ने स्थानको पहिचान गर्न नुमना मतदान गर्न समेत अनुरोध गरेको छ ।नेपाल नेत्रहीन संघका अनुसार देशभर पूर्ण र न्यून दृष्टियूक्त गरी करिव ४ लाख जनसंख्या रहेको अनुमान गरिएको छ ।