म्याग्दीमा निर्वाचनको तयारी पूरा

0

आईतबार हुने प्रतिनिधि र प्रदेशसभा चुनावको म्याग्दीमा सम्पूर्ण तयारी पूरा भएको छ ।सुरक्षा प्रबन्ध, निर्वाचनका लागि आवश्यक सामाग्री सहित सम्पूर्ण जनशक्ति मतदानकेन्द्रमा पुगीसकेको जनाईएको छ । मूख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी खेमराज पाठकले शुक्रबार साँझसम्म सम्पूर्ण मतदानकेन्द्रमा कर्मचारी र सुरक्षाकर्मीको टोली पुगीसकेको जानकारी दिनुभयो । उहाँका अनुसार, अधिकाँश मतदानकेन्द्रमा मतदान अधिकृतको सर्वदलीय वैठक सहित आवश्यक आचारसंहिताको बारेमा छलफल भइसकेको बताए ।

७२ निर्वाचनस्थलमा १०६ केन्द्रका लागि ८४७ जना कर्मचारी र शिक्षकलाई चुनावका लागि खटाइएको छ । चुनावी सुरक्षाका लागि ठूलो संख्यामा जनपद प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरी परिचालन भएको छ । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी बलबहादुर खत्रीका अनुसार चुनावका लागि मतपेटीका, मतपत्र, स्ट्याम्प, स्वतीक छाप देखि सियो, धागो सम्मका ६३ प्रकारका सामाग्री प्रयोग हुनेछ ।

जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलका अनुसार चुनाबको प्राविधिक पक्षको सम्पूर्ण तयारी पूरा भइसकेको छ । उहाँले निर्धक्क मतदान गर्ने वातावरण बनेको बताए । प्रतिनिधिसभामा एक र प्रदेशसभामा २ वटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा १३ जना उमेद्वार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । एक नगरपालीका, ५ गाउँपालीका र ७२ मतदान स्थल रहेको म्याग्दीमा ७५ हजार ५३८ जना मतदाता रहेका छन् ।