म्याग्दीका सबै मतदान केन्द्रहरुमा मतदान सुरु : मतदाताको उत्साहाजनक सहभागिता (भिडियो)

0
229

म्याग्दी जिल्लाका सबै मतदान केन्द्रहरुमा विहान ७ बजेदेखि नै प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मतदान कार्य सुरु भएको छ । जाडोको प्रवाहा नगरी एकाविहानै जिल्लाका ७२ मतदान स्थल र १ सय ६वटै मतदान केन्द्रहरुमा मतदाताहरुको उत्साहाजनक सहभागिता रहेको विभिन्न मतदान केन्द्रहरुमा खटिनुभएको मतदान अधिकृतहरुले जानकारी दिएका छन् । मतदान अधिकृतहरुका अनुसार म्याग्दीमा अहिलेसम्म शान्तिपूर्णरुपमा नै मतदान कार्य जारी रहेको छ ।

जिल्लाका सवै मतदान स्थल र केन्द्रहरुमा स्थानीय वयोवृद्ध र वृद्धाहरुलाई सवैभन्दा पहिला मतदान गराइएको छ । विहान ८ वजेसम्म एकघण्टाको अवधिमा सवै मतदान केन्दहरुमा हरेक केन्द्रवाट १ सय जनाले मतदान गरीसकेका बेनी सामुदायिक माविका मतदान अधिकृत रमेश भुषालले बताए ।निर्वाचन सम्पन्न गराउन जिल्लामा १०६ जना मतदान अधिकृत, १०६ जना सहायक मतदान अधिकृत, ४२३ जना सहायक कर्मचारी, २१२ जना कार्यालय सहयोगीसहित सुरक्षाकर्मीबाहेक कुल ८४७ जना कर्मचारीहरु खटिएका छन् ।

एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दीमा कुल मतदाता सङ्ख्या ७५ हजार ५ सय ३८ रहेको छ । प्रतिनिधिसभामा एक र प्रदेशसभातर्फ दुई क्षेत्र रहेको म्याग्दीमा विभिन्न दलका १३ जना उम्मेदवारहरु चुनावी मैदानमा छन् । मतदानको तयारी सुरु भएसँगै जिल्लाको गाउँगाउँमा चुनावको रौनक देखिएको छ ।मतदान केन्द्रमा राजनीतिक दल विचको सहकार्यले समेत सहज भएको छ ।

सदरमुकाम बाहिरका मतदान केन्द्रमा निकै उत्साहजनक सहभागिता देखिएको छ । चिसो मौसममा समेत विहानै मतदाता लाइनमा बसेका छन् । मतदाताको उत्साहले समेत सहज भएको छ । अति विकट हिमाली क्षेत्रमा समेत मतदानको लाइनले स्थायी सरकार र समृद्ध नेपालको कामाना गरेका छन् । मतदान केन्द्रा बाहिर भेटिएका मतदाताले हरेक निर्वाचनमा उम्मेदवारले दिने प्रतिबद्धताले मात्रै नपुग्ने भन्दै मतदाताको हित र आवश्यकतालाई समेत केन्द्रित गर्न अनुरोध गरेका थिए ।

यसैबीच आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा म्याग्दीका सबै मतदान केन्द्रमा शारिरीक रुपमा अशक्त एवं अपाङ्गता भएका मतदातालाई प्राथमिकता दिइने भएको छ । मतदान गर्न सहज वातावरण निर्माणका लागि १०६ ओटै मतदान केन्द्रमा अपाङ्गता, गर्भवती महिला, बिरामी र ज्येष्ठनागरिकलाई मतदानमा प्राथमिकता दिन निर्देशन दिइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

यसैगरी मतदातालाई ढुक्कसँग मतदानस्थलसम्म पुगेर भोट खसाल्न आग्रह समेत गरिएको छ । जिल्लाभरका मतदान केन्द्रमा निर्धारित समयमै मतदान सुरु भएको छ । यसैविच मतदान केन्द्र आसपासको क्षेत्रमा सुरक्षा ब्यवस्था कडा बनाइएको छ । निर्वाचनको खारेजीको माग गरिरहेकाले अवरोधको प्रयास गर्न सक्ने सम्भावनालाई मध्यनजर गदैं नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीको कडा सुरक्षाको ब्यवस्था मिलाइएको छ ।