म्याग्दीमा प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवारले आफ्नो मतदान केन्द्रबाट भोट हालेका छन् । मतदान केन्द्रमा पुगेका उम्मेदवारले आफ्नो मत संगै मतदातालाई समेत मतका लागि अनुरोध गरेका छन् ।

प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवम् नेपाली कांग्रेसका सभापति खम्बीर गर्बुजाले रघुगंगा गाउँपालिका–४ दग्नामको जनता मावि, नेकपा एमालेका बैकल्पिक केन्द्रिय सदस्य भुपेन्द्र बहादुर थापाले बेनी नगरपालिका–१ रत्नेचौरस्थित भानु मावि, प्रदेशसभा ‘क’ मा बाम गठबन्धनका उम्मेदवार विनोद केसीले बेनपा–८ कालिपुलमा अवस्थित बालमन्दिर आधारभुत विद्यालयमा मतदान गरेका छन् ।

त्यसैगरी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार भिमप्रसाद गौचनले रघुगंगा गाउँपालिकाको अमर मावि पाखापानी, प्रदेश ‘ख’ का नेपाली कांग्रेसका उम्मेदवार क्याप्टेन अमलाल फगामीले मालिका गाउँपालिकाको देविस्थानस्थित भिममावी, नेकपा एमालेकी उम्मेदवार नरदेवी पुनले मंगला गाउँपालिका–१ कुहुँस्थित दिपशिखा माविबाट मतदानमा भोट हाल्ने छन् ।

मतदान केन्द्रमा मतदातालाई आफ्नो मत हालेपछि सहयोगका लागि समेत अपिल गरेका दृष्यहरु समेत देखिएका थिए । साना दलका उम्मेदवारले समेत आफ्नो मतदान केन्द्रबाट मत खसालेका छन् । मतदान केन्द्र बाहिर विभिन्न राजनीतिक दलका कार्यकर्ताको भीड रहेको छ । मतदाता समेत विहानै देखी लाइनमा बसेका छन् । मतदाता समेत उत्साहित देखिएका छन् ।

मतदातालाई आर्कषित गर्न उम्मेदवारहरु आफ्नो सवारीसाधनमा समेत जिल्लाका विभिन्न मतदान केन्द्रमा पुग्ने कार्यक्रम रहेको छ । उम्मेदवारले सवारीसाधन अनुमति लिएका बाहेकका सवारीसाधन प्रयोग गर्न पाउने छैनन् । निकै उत्साहजनक रुपमा विहानै देखि मतदान सुरु भइरहेको समाचार बेनीअनलाइनलाई प्राप्त भएको छ । मतदानमा सहभागि भएका मतदाताहरूले समेत उम्मेदवारलाई बधाई दिइरहेका छन् ।