भोट हाल्दै गरेका मतदाताहरुको अपेक्षा : शान्ति,विकास र समृद्धि (भिडियो)

0
292

आइतवार सम्पन्न प्रतिनिधि र प्रदेश सभाको पहिलो चरणको निर्वाचनबाट प्रतिनिधि चयन गर्नका लागि मतदान गरेका म्याग्दीका मतदाताहरुले दीगो शान्ति,स्थिर सरकार,विकास र समृद्धिको अपेक्षा गरेका छन् । विगतका निर्वाचनहरु राजनीतिक मुद्धाहरुमा केन्द्रित हुने गरेका बताउँदै मतदाताहरुले अव राजनीतिक विषयमा नभई आर्थिक समृद्धि र विकास केन्द्रित हुन निर्वाचनबाट चुनिएर आउने प्रतिनिधिहरुलाई सुझाव समेत दिएका छन् ।

विहान ठीक ७ बजे बेनी नगरपालिकाको हंशवाहिनी मतदान केन्द्रबाट सवैभन्दा पहिला मतदान गर्नुभएका ९६ वर्षिय रणवहादुर सुवेदीले देशमा शान्ति र विकास भएको हेर्न चाहेको बताउनुभयो । ‘देशमा धेरै व्यवस्था फेरिए, धेरै पटक भोट हालेँ बयोवृद्ध सुवेदीले भन्नुभयो –‘ तर जनताको अवस्थामा सुधार र जिल्लाको विकास भने हुन सकेन,अव चुनिने जनप्रतिनिधिले विकास र समृद्धिलाई नै पहिलो प्राथमिकता दिनुपर्छ ।

’सोही मतदान केन्द्रबाट पहिलो पटक मतदान गरेकी रुपा सापकोटाले निर्वाचन जितेर आउने प्रतिनिधिले जनताका आवश्यकता र जिल्लाको विकासलाई ध्यानमा राखेर काम गर्नुपर्ने बताउँदै आफ्नो मतको सदुपयोग गरिदिन आग्रह गर्नुभयो ।

ज्यामरुककोटको अर्जुन मावि मतदान केन्द्रबाट मतदान गरेका नारायण शर्माले नागरिक अधिकारको सदुपयोग गर्न र योग्य जनप्रतिनिधिको छनोट गर्न आफूले मतदान गरेको बताउनुभयो ।जिल्लाका अधिकांश मतदाताले आइतवार सम्पन्न प्रतिनिधि र प्रदेश सभाको निर्वाचनबाट चुनिएर आउने जनप्रतिनिधिले विकास र समृद्धिलाई नै प्राथमिकता दिनुपर्ने बताएका छन् ।

जिल्लाका ७२ मतदान स्थल र १ सय ६ वटा मतदान केन्द्रबाट विहान ७ बजेदेखि मतदान सुरु भएको थियो । सवै मतदान केन्द्र र मतदान स्थलहरुमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ ।
जिल्लाका सवै मतदान स्थल र केन्द्रहरुमा बृद्धबृद्धा,अपाङ्गता भएका,अशक्तहरुलाई महिलाहरुलाई सवैभन्दा पहिला मतदान गराइएको थियो ।

निर्वाचन सम्पन्न गराउन जिल्लामा १०६ जना मतदान अधिकृत, १०६ जना सहायक मतदान अधिकृत, ४२३ जना सहायक कर्मचारी, २१२ जना कार्यालय सहयोगीसहित सुरक्षाकर्मीबाहेक कुल ८४७ जना कर्मचारीहरु खटिएका थिए । एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दीमा कुल मतदाता सङ्ख्या ७५ हजार ५ सय ३८ रहेको छ । प्रतिनिधिसभामा एक र प्रदेशसभातर्फ दुई क्षेत्र रहेको म्याग्दीमा विभिन्न दलका १२ जना उम्मेदवारहरु चुनावी मैदानमा छन्।