म्याग्दीमा आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सबै मतपेटिका सदरमुकाम बेनीबजारमा ल्याइएको छ । जिल्लाको ७२ मतदानस्थल र १०६ ओटा मतदान केन्द्रको ३१८ ओटै मतपेटिकाहरु जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइएको हो ।

म्याग्दी सदरमुकाम बेनीबजारदेखि २६ कोष टाढा दुर्गममा रहेको धौलागिरि गाउँपालिका–१ गूर्जाबाट भने मतपेटिका सोमबार बिहान मात्रै हेलिकप्टरमार्फत बेनी ल्याइएको छ । भौगोलिक हिसाबले विकट, यातायातको पहुँच नहुनु, सुरक्षा चुनौती लगायतका कारणले गर्दा गूर्जाको मतपेटिका ल्याउन हेलिकप्टरको प्रयोग गरिएको हो ।

कुल ६७३ मतदाता रहेको गूर्जामा सोमबार भएको निर्वाचनमा ३७५ मत खसेको थियो । गूर्जाबाहेक अन्य ठाउँको मतपेटिकाहरु आइतबार अबेर राती नै बेनी ल्याइएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश राजकुमार कोईरालाले बताउनुभयो । उहाँका अनुसार सबै मतपेटिकाहरुलाई सुरक्षितसाथ राखिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयभित्र तीनओटा छुट्टाछुट्टै कोठामा क्रमशः प्रतिनिधिसभा, प्रदेशसभा र समानुपातिकतर्फको मत रहेका मतपेटिकाहरु आवश्यक प्रक्रिया पुरा गरी सिलबन्दीसहित सुरक्षित गरी राखिएको मुख्य निर्वाचन अधिकृत कोईरालाले जानकारी दिनुभयो । आउँदो २१ गते ४५ जिल्लामा दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको मतदानपछि एकैसाथ मतगणना गरिने निर्वाचन आयोगको कार्यतालिका रहेको छ ।

म्याग्दी जिल्लामा कुल ७५ हजार ५३८ मतदाता रहेकोमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ४७ हजार ४४९ अर्थात् ६२ दशमलव ८१ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत कोईरालाको भनाइ छ । यसैगरी प्रदेसभा (क)मा २७ हजार ६९१ र प्रदेशसभा (ख)मा १९ हजार ७१३ मत खसेको बताइएको छ । प्रदेशसभा (क)मा कुल मतदाता ४२ हजार ९९३ र (ख)मा ३२ हजार ५४५ रहेका छन् । जिल्लाभर महिला ३९ हजार ४३५, पुरुष ३६ हजार १०२ र एकजना तेस्रोलिङ्गी मतदाता रहेका छन् ।

एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दीमा प्रतिनिधिसभामा एक तथा प्रदेश सभातर्फ दुईवटा निर्वाचन क्षेत्र रहेको छ । प्रतिनिधिसभाको निर्वाचनका लागि ७ जना, प्रदेशसभा (क)मा २ जना र प्रदेशसभा (ख)मा ४ जनासहित विभिन्न दलका गरी १३ जना उम्मेदवारहरु चुनावी मैदानमा होमिएका थिए ।