दोभान यूथ क्लवका अध्यक्षको निधन

0

म्याग्दीको सदरमुकाम बेनीस्थित न्यू दोभान यूथ क्लवका अध्यक्ष अनन्त गिरीको असामयिक निधन भएको छ । तीनदिन देखी उच्च रक्तचापका कारण घरमै आराम गरेका गिरीको आइतबार घरमै आकस्मिक निधन भएको हो । आइतबार निधन भएका गिरीको सोमबार विहान अन्तेष्टी गरिएको थियो । दसनामीको धार्मिक परम्परा अनुसार कालिगण्डकीमा शव गाडिएको थियो ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बेनी सामुदायिक मावि मतदान केन्द्रमा मत दिएर घरमा पुगेका थिए ।बेनीबजारका सक्रिय यूवा समेत रहेका गिरी रोजगारको सिलसिलामा दक्षिण कोरियामा आधा दशक विताएर घर फर्किएका थिए । भदौ महिनाको तेस्रो साता बेनीमा सम्पन्न भएका दोभान क्लवको अधिवेशनबाट अध्यक्षमा निर्विरोध चयन भएका गिरीले खेलकुद संगै सदरमुका बेनीमा विभिन्न रचनात्मक कार्यक्रममा समेत सहभागिता जनाएका थिए ।

कोरियाबाट फर्किएपछि कोरियन भाषा सहित विभिन्न सामाजिक कार्यमा संलग्न रहेका गिरीले बेनीबजारमा पुराना मठमन्दिरमा सरसफाई गरी एकबर्षभित्र नगरपालिका र गाउँपालिकास्तरीय महिला, पुरुष भलिबल प्रतियोगिता सञ्चालन गर्ने योजना बनाएका थिए ।‘एउटा उर्जाशिल सहकर्मीलाई गुमाएका छौ ।उनका अधुरा योजनाहरु हामीले पुरा गर्नेछौ’ क्लवका निर्वतमान अध्यक्ष तेजेन्द्र शेरचनले भने । उनले खेलकुद संगै सामाजिक कार्यलाई समेत क्लवले प्राथमिकता दिने बताए ।अध्यक्षको निधन भएपछि क्लवले समेत स्मृतिमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने सहित भावी योजना तय गर्ने सचिव सतिश श्रेष्ठले बताए । गिरीको निधनले संगमचोक,बैङ्करोड शोकमा डुवेको छ ।