गत आइतवार सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मतपेटिका सिलवन्दी गरेर बन्द कोठामा कैद गरिएको छ । मत पेटिका भित्र रहेका मतपत्रमा उम्मेदवारहरुको भविष्य पनि तालावन्दी गरेर राखिएको छ । राजनीतिक दल र उम्मेदवारहरु मतपरिणामको पर्खाइमा रहेका छन् । तर,म्याग्दीका जनता भने वर्षौंदेखि विकासको पर्खाइमा छन् ।

विगतका निर्वाचनहरुमा पनि जनताको समृद्धि र जिल्लाको विकासलाई प्रमुख एजेण्डा बनाउँदै भोट माग्न जनतासंग गएका राजनीतिक दल र तिनका नेताहरुबाट विकासको चाहना पूरा हुन नसकेको गुनासो जनताले गरेका छन् ।

सात महिना अघि गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा निकै उत्सुकताका साथ मतदान गरेका म्याग्दीका मतदाताहरु ७ महिना वित्न नपाउँदै आफैले चुनेका जनप्रतिनिधिहरुबाट उपेक्षित हुन थालेपछि निर्वाचनप्रति नै जनताको चासो कम भएको छ । ‘जुन जोगी आए पनि कानै चिरेको’ भन्ने उखानको शिकार आफूहरु भएको म्याग्देली जनताले गुनासो गरेका छन् ।

आइतवार सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा म्याग्दीबाट करिव ६३ प्रतिशत मत खसेको छ । गत वैशाखमा पहिलो चरणमा सम्पन्न स्थानीय तहको निर्वाचनमा करिब ६८प्रतिशत मत खसेको थियो ।

आफूले मत दिएर चुनेका जनप्रतिनिधिहरुबाट जनचाहना अनुसार काम नभएपछि मतदाताहरुमा राजनीतिक दलहरु प्रतिपनि विश्वास कम हुँदै गएको छ । विशेष गरी पुरानै मानसिकताका उम्मेदवारहरु चुनावी प्रतिष्पर्धामा रहनु,राजनीतिक दलहरुप्रति अस्वस्थ प्रतिष्पर्धा हुनु, जनअपेक्षा अनुसार काम हुन नसक्नु जस्ता कारणले जनताको मतदान प्रति अरुचि बढ्दै गएको पाइएको म्याग्दीका वरिष्ठ साहित्यकार रामप्रसाद सुवेदीले बताउनुभयो ।

‘भौगोलिक रुपमा विकट रहेको म्याग्दी जिल्लाका रघुगंगा र धौलागिरि गाउँपालिकाका ६ वटा वडाहरुमा अझैसम्म पनि मोटरबाटो त परको कुरा राम्रो घोडेटोबाटो सम्मको पहुँच पुगेको छैन । प्राथमिक तहको अध्ययनका लागि ३ घण्टासम्म पैदल हिड्नुपर्ने वाध्यता छ । खोला तथा नदीहरुमा पुल नहुँदा १ घण्टाको दुरीमा रहेको गाउँमा पुग्न ५ घण्टा लगाएर घुमाउरो बाटो हिड्न जनता बाध्य छन् । न स्वास्थ्य सेवाको पहुँच छ, न त खानेपानीको सुविधा नै छ ती गाउँहरुमा । जनताले यस्तो कष्टकर जीवन विताइरहदा पनि जनताका लागि राजनीति गछौं भन्ने दल र तिनका नेताहरु चुप लागेर बसेका छन्’ धौलागिरि गाउँपालिका १ गुर्जाका स्थानीय वासिन्दा कमल छन्त्यालले बताउनुभयो ।

‘म्याग्दीको कर्णाली’ भनेर चिनिने गुर्जा गाउँ जिल्लाकै अति विकट गाउँ हो । ६ सय ७३ मतदाता र १ हजार भन्दा बढी जनसंख्या रहेको गुर्जामा नेपाली कांग्रेसबाट प्रदेश सभा ‘ख’ का उम्मेदवार अमलाल फगामी बाहेक अन्य कुनै उम्मेदवारहरु मत माग्नका लागि त्यहाँ पुग्न नसकेको स्वयं उम्मेदवारहरुले नै बताएका छन् । यस्ता विकट गाउँहरुको विकासमा राजनीतिक दलहरुको ध्यान पुग्न नसक्दा जनताको विश्वास घटेदै गएको छ ।

राजनीतिक दल र सरकारी निकायले वेवास्ता गरेपछि जिल्लाका कतिपय गाउँका वासिन्दाहरुले आफ्नै पहलमा मोटरबाटो,खानेपानी र विद्यालय जस्ता खर्चिला योजनाहरु समेत सम्पन्न गरेका उदाहरणहरु म्याग्दीमा छन् । त्यसका लागि धेरै टाढा पुग्नु पर्दैन ।बेनी नगरपालिका वडा नं ३ मा पर्ने भकिम्लीको राखुका महिलाले आफूले लगाएका गहना बैंकमा धितो राखेर सडकका लागि पैसा जुटाएर गाउँसम्म मोटरबाटो पु¥याएका छन् ।

‘पर्यटन,जलविद्युत, खनिज र वनपैदावरमा प्रशस्त सम्भावनाहरु रहेको म्याग्दी जिल्लाका विकट ग्रामिण वस्तीहरुमा अहिलेसम्म पनि विद्युत सुविधा पुगेको छैन । मोवाइलको नेटवर्कले काम गर्दैन । टुकी र सोलारको भरमा साँझ र रात कटाउने बाध्यता छ । पर्यटकहरुका लागि पदमार्गको त परको कुरा सामान्य वाटो समेत बन्न सकेको छैन ।

तामाखानी,स्लेट खानी जस्ता आम्दानीका गतिलो माध्यम वन्न सक्ने श्रोतहरुको उत्खनन् हुन नसक्दा ‘भिल्लाका देशमा मणि’जस्तै भएका छन् ती श्रोतहरु ।वन पैदवार र बहुमूल्य जडिबुटीहरुमा माफियाहरुको रजाईँ छ । यस्ता अनिगिन्ति समस्याहरुका बीचमा म्याग्देली जनताहरु रहेका भएपनि राजनीतिक दल,नेता र सम्वन्धित निकायले कुनै पहल नगर्दा म्याग्देली जनता मत परिणामको होइन विकासको पर्खाइमा रहेका नेपाल जेसिजका निवर्तमान अध्यक्ष एवम् म्याग्दीका युवा धनञ्जयकुमार श्रेष्ठले बताउनुभयो ।

स्थानीय तहको निर्वाचन सम्पन्न भएर जनप्रतिनिधि चुनिएपछि निकै उत्साहित भएका म्याग्देली जनता जनप्रतिनिधिहरुकै क्रियाकलापहरुबाट वाक्क हुन थालेका छन् । ‘जनप्रतिनिधिहरुले आफूलाई जङ्गवहादुर ठान्न थालेका छन् ’ बेनपा ७ का एक युवाले भने ‘जनप्रतिनिधिहरुले अवको पाँच वर्षसम्म हाम्रो अधिकार छ,हामीलाई कसैले केही गर्न सक्दैन भनेर फेसबुकमा स्टाटस पोष्ट गर्छन् । त्यस्ताबाट हामीले के अपेक्षा गर्ने ?’

१० गते सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा कम मत खस्नुका कारणहरुमध्येको एउटा कारण स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको व्यवहार र कार्यशैली पनि भएको भनेर जिल्लामा वहस गरिदै छ ।प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा म्याग्दीमा जुन पार्टीको जीत भएपनि, जुनसुकै उम्मेदवारले जितेपनि दुर्गमको विकास,जनताको असुविधा र समृद्धिको विषयलाई प्राथमिकतामा राखेर काम गर्न सकेनन् भने भविष्यका निर्वाचनहरुमा अहिले खसेको मतभन्दा पनि कम मत खस्ने निश्चित छ ।

मत परिणामको पखाईमा रहेका उम्मेदवार र दलहरुले विकासको पर्खाइमा रहेका जनताको चाहनालाई पूरा गर्न सक्लान् त्यो हेर्न २१ गते पछिको मतगणनाबाट आउने परिणाम र त्यसपछि निर्वाचित भएका नेताको कार्यशैलीको प्रतिक्षा गर्नुवाहेक अर्को विकल्प छैन । धु्रबसागर शर्मा