गलेश्वर शिवालय क्षेत्रको सल्लेरीमा बाँदर आतङ्क : कृषकलाई सास्ती

0

पश्चिम नेपालको पशुपतिनाथका नामले परिचित म्याग्दीको गलेश्वरधाम क्षेत्रको पश्चिमतर्फ रहेको सल्लेरीको जंगलमा बाँदरको बिगबिगि बढेपछि कृषकहरुलाई समस्या भएको छ ।

बेनी नगरपालिका वडा नं ९ मा पर्ने सल्लेरीको जंगलमा विगत केही वर्ष यता अप्रत्यासित रुपमा बाँदरको संख्यामा बृद्धि भएपछि स्थानीय कृषकहरुले लगाएको अन्नवाली सखाप पार्नुका साथै गलेश्वर शिवालय क्षेत्रमा दर्शनका लागि पुगेका भक्तजनहरुलाई पनि समस्या भएको छ ।

५ वर्ष अघिसम्म नगण्य मात्रमा देखिने बाँदर त्यसपछिका वर्षहरुमा हुलका हुल देखिन थालेपछि स्थानीय वासिन्दाहरु आतंकित बेनका छन् । बाँदरले कृषकहरुले लगाएको अन्नवाली नष्ट गर्नुका साथै घरभित्र नै पसेर क्षति पु¥याउन थालेपछि कृषकहरु समस्यामा परेका प्रकाश शर्माले जानकारी दिनुभएको छ ।

शर्माले दिएको जानकारी अनुसार केहीवर्ष अघि काठमाण्डौंको पशुपति क्षेत्रमा रहेका वाँदरहरुमा प्राण घातक रोग देखा परेपछि ती बाँदरहरुलाई गलेश्वर क्षेत्रमा लगेर छोडिएको भन्ने चर्चा चलेको थियो । कतै तिनै बाँदरहरु यहाँ छोडिएका त होइनन् भन्ने चिन्ताले स्थानीयलाई सताएको छ ।

बाँदरका कारण सल्लेरी तथा त्यस क्षेत्र वरपर बसोबास गर्ने कृषकहरुले लगाएको नगदेवाली,बेमौसमीवाली लगाएत फलफूल खेतीमा ठूलो क्षति पुगेको स्थानीय रामदास बैरागीले जानकारी दिनुभयो । त्यतिमात्र होइन यदि पशुपतिनाथ क्षेत्रमा रहेका बाँदरलाई यहाँ ल्याएर छोडिएको हो भने कसको इजाजतमा छोडिएको र किन छोडिएको हो यस विषयमा खोजी तथा अनुसन्धान गर्न स्थानीयले सरोकारवाला निकायहरुसंग माग गरेका छन् । धु्रबसागर शर्मा