रघुगंगा गाउँपालिका–३ पिप्ले मौवाफाँटस्थित ज्ञानोदय माविमा कक्षा १० मा अध्ययरत दृष्टिविहिन विद्यार्थी भासवीर किसानले विद्यालयमा आयोजित कार्यक्रममा आफ्नो गायन प्रतिभालाई प्रस्तुत गर्छन् । विद्यालयस्तरमा उनले प्रस्तुत गर्ने गीतसंगितलाई राष्ट्रिय पहिचान बनाउने धोको छ । उनले हातमा हामोनियम लिएर दृष्टिविहिनका समस्या र समाजमा हुने विभेद देखी राष्ट्रिय भावना बोकेका गीतहरूले पस्कने गरेका छन् ।

दृष्टिविहिन विद्यार्थीको स्रोत विद्यालयमा सहयोग गर्नेे सहयोगीदाताको स्वागत, स्थापना दिवस देखी विद्यालयभित्र आयोजित विभिन्न कार्यक्रममा दृष्टिविहिन विद्यार्थीको सांगितिक सहितको प्रस्तुती प्रमुख आर्कषणको रुपमा देखिन्छ । संसार हेर्ने दृष्टि गुमेपनि शिक्षा संगै अतिरिक्त क्रियाकलापमा संलग्न भएका विद्यार्थीले आफ्नो एकल मेहनतले विद्यालयका साथै राष्ट्रियस्तरसम्मका सम्मान प्राप्त गरेका छन् ।

फरक क्षमतालाई विद्यालयको सहयोगमा विभिन प्रतियोगितामा प्रस्तुत गर्ने अवसर् पाएपनि शिक्षाका क्षेत्रमा संलग्नहरूबाट अपेक्षा गरे अनुसारको सहयोग नभएको विद्यार्थीको गुनासो छ ।‘साङ्गले समान्य प्रतिभा देखाउँदै त्यसलाई निकै प्राथमिकताका साथ हेर्ने गरिन्छ । उनीहरूलाई अवसरै अवसर हुन्छ’ भासवीर किसानले भने ।

उनले समाजमा दृष्टिविहिन विद्यार्थीलाई हेर्ने दृष्टिकोण नकारात्मक भएकाले पनि प्रतिभालाई देखाउने अवसरबाट बन्चित भएको बताए । अपाङ्ता भएकालाई राज्यले प्राथमिकता देखाएको जस्तो गरेपनि दोस्रो दर्जा सरह ब्यवहार गरेको भन्दै गीतसंगीतको माध्यमबाट समेत गुनासो पोख्न ठाउँ नभएको बताए । संगीतको प्रशिक्षण सहित आवश्यक साम्रागी भए दृष्टिविहिनका लागि नमुना गायक बन्ने धोको रहेको बताए ।

विद्यालयमा ब्यक्तिगत तथा संस्थागत सहयोग ल्याउनेलाई स्वागत देखी विदाई गीतसम्म प्रस्तुत गर्ने गरेका विद्यार्थीले सांगितिक क्षेत्रबाट समेत भविस्यमा धेरै गर्न सकिने बताए । २०६५ सालमा स्थापना भएको दृष्टिविहिन कक्षामा अध्ययरत १६ जना विद्यार्थी मध्ये अधिकांसले गायनमा रूची देखाउने गरेका छन् ।

प्लान नेपालको आर्थिक सहयोगमा संगित कक्षा समेत लिएका विद्यार्थीले आफ्नै रचना सहित तीनदर्जन भन्दा धेरै आधुनिक गीतलाई सजिलै गाउने गरेका छन् । हातमा हामोनियम, मादल, किर्वोड सहित बाजा आफ्नै हातले बजाउन सक्ने दृष्टिविहिन विद्यार्थीले विद्यालयका कार्यक्रममा समेत यस्तै प्रतिभाहरु प्रस्तुत गर्ने गरेको विद्यालयका स्रोतकक्षा शिक्षक गणेश सुबेदीले बताए ।

‘उनीहरुको प्रतिभा विद्यालयभित्र खुम्चिएको छ ।अवसर भए राज्यका सम्पत्ती बन्न सक्छन्’ सुबेदीले भने । जिल्लाभित्र विद्यालयस्तरका प्रतियोगितामा प्रथम र राष्ट्रियस्तरका प्रतियोगितामा समेत स्वर्ण पदक जितेपनि गायन क्षेत्रलाई अगाडी बढाउन संगीतका साम्रागी र तालिमको आवश्यकता रहेको सुबेदीले बताए ।

अपाङ्ग संघ म्याग्दी सहित विभिन्न संघसंस्थामा पहल गरिएको बताए । जिल्ला शिक्षा कार्यालयको सहयोगमा बौद्धिक अपाङ्ता, बहिरा र दृष्टिविहिन गरी तीनवटा स्रोतकक्षा सञ्चालन भइरहेका छन् । तीनवटै विद्यालयमा अध्ययरत विद्यार्थीले खेलकुद, संगीत लगाएतका विभिन्न अतिरिक्त क्रियाकलापमा आर्कषित भएपनि साम्रागी ब्यवस्थापनमा आर्थिक समस्या भएको विद्यालयले जनाएको छ ।