जगन्नाथ मन्दिरमा २४ घण्टे अखण्ड किर्तन सुरु

0
298

म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा शनिबार बिहानदेखि २४ घण्टे अखण्ड किर्तन सुरु भएको छ । जगन्नाथ मन्दिर गुठी व्यवस्थापन समितिको आयोजनामा आज बिहान साढे ९ बजेदेखि आइतबार बिहान साढे ९ बजेसम्मका लागि अखण्ड भजनकिर्तनको कार्यक्रम सञ्चालन गरिएको हो ।

भजनकिर्तन हरेक मठमन्दिरमा हुने भए पनि जगन्नाथ मन्दिरमा भने २०१८ सालदेखि अखण्ड किर्तन सुरु गर्ने गरिएको जगन्नाथ मन्दिरले जनाएको छ । पृथ्वीमा प्रलय हुन्छ भन्ने हल्ला फैलिएपछि सबै गाउँवासी एकै ठाउँमा जम्मा भएर मंसिर शुक्लपूर्णिमा तिथि अर्थात् धान्य पूर्णिमाको अवसरमा किर्तन आयोजना गरेपछि सोही परम्परालाई निरन्तरता दिन अखण्ड किर्तनको आयोजना गर्ने गरिएको गुठी व्यवस्थापन समितिका सचिव निलकण्ठ शर्माले बताए।

जगन्नाथ मन्दिरको प्राङ्गणमा गाउँका सबैजना भेला भएर भजनकिर्तन सुरु गरिएको बताइएको छ । नेपालमा बाईसे–चौबीसे राज्यका पालामा सन् १५६० सालमा तत्कालीन राजा दिलिपबम मल्ल (डिम्ब)ले भारतको उडिसा राज्यबाट भगवान् जगन्नाथको मूर्ति ल्याएर गाजनेमा जगन्नाथको स्थापना गरेको किम्बदन्ती रहेको छ । जगन्नाथको मूर्ति स्थापना गरेपछि राजा डिम्बबम मल्ल सोही ठाउँमा अलप भएको इतिहास समेत रहेको बताइन्छ ।

जगन्नाथ भगवान्कै कारण गाजने गाउँमा घरेलु मदिरा उत्पादन र कुखुरापालन गर्न निषेध गरिएको छ । भगवान् जगन्नाथजीलाई मदिरा र कुखुरा मन नपर्ने भएको हुँदा गाउँवासी कसैले पनि दुवै चिजको उत्पादन नगर्ने गाजनेवासी बताउँछन् । यदि कसैले अटेर गरेर मदिरा उत्पादन र कुखुरापालन गरेको खण्डमा उसको परिवारमा दुःखकष्ट परेको भनाई पनि रहेको छ ।

यसैबीच शनिबारै म्याग्दीका प्रहरी नायव उपरीक्षक बशुन्धरा खड्का, बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवाल, गैरसरकारी संस्था महासंघका जिल्ला उपाध्यक्ष दिपक पौडेल, जगन्नाथ गुठी व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर बानियाँ र महायज्ञ मूल आयोजक समितिका महासचिव रामचन्द्र पौडेल लगायतको एक टोलीले जगन्नाथ मन्दिरको दर्शन गर्नुका अवलोकन गरेको छ ।

साथै मन्दिर नजिकै रहेको पर्यटकीय एवं रमणीयस्थल गुफाडिलको अवलोकन गर्नुका साथै गुफाको डाँडो र मन्दिरको विकासका लागि स्थानीयसँग अन्तत्र्रिmया र छलफल गरिएको छ । कार्यक्रममा नगर उपप्रमुख बरुवालले ऐतिहासिक महत्वको जगन्नाथ मन्दिर र गुफाको डिलको विकासमा नगरपालिका र अन्य निकायबाट आवश्यक पहल गर्नका लागि आफूले जोड दिने बताएकी छिन् ।