म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरमा शनिबार लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । ‘लैङ्गिक हिंसा अन्त्यका लागि सबै जुटौं, कोही नछुटौं’ भन्ने मूल नारासहित बेनी नगरपालिका, सिबिन म्याग्दी र संगम म्याग्दीको संयुक्त आयोजना तथा जिल्ला प्रहरी कार्यालयको समन्वयमा कार्यक्रम गरिएको हो ।

जनचेतनामूलक कार्यक्रमलाई सम्बोधन गर्दै म्याग्दीका प्रहरी नायव उपरीक्षक बशुन्धरा खड्काले जिल्लामा महिलामाथी हुने हिंसा धेरै पाइएको बताइन् । उनले अज्ञानताको कमी र चेतनाको अभावमा बहुविवाह, बालविवाह, यौनजन्य जस्ता हिंसा बढिरहेको बताउँदै यसको निराकरणका लागि व्यक्ति, परिवार तथा समाज सबै एकसाथ मिलेर अघि बढ्नुपर्नेमा जोड दिएकी छिन् ।

कार्यक्रममा प्रनाउ खड्काले घरेलु एवं लैङ्गिक हिंसा, हिंसाका प्रकार, यौनजन्य घट्ना, बाल तथा बहुविवाह, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कानुनी मान्यता, महिला अधिकार र हिंसा न्युनीकरणका उपायहरु लगायतका विषयमा सहजीकरण गरेको आयोजकले जनाएका छन् । उक्त कार्यक्रमको अवसरमा नेपाल प्रहरी महिला तथा बालबालिका सेवा निर्देशनालयद्वारा निर्मित सामाजिक सञ्जाल, घरेलु हिंसा, बालविवाह, कानुनी व्यवस्थालगायत विषय समेटिएको ‘मुड’ नामक लघु चलचित्र समेत देखाइएको थियो ।

बेनपा ५ नम्बर वडा अन्तर्गत विभिन्न गाउँ र टोलमा क्रियाशिल आमा समूहका अगुवा महिलाहरुको सहभागिता रहेको कार्यक्रममा नगरपालिकाका उपप्रमुख सन्जु बरुवाल, महिला मानवअधिकार रक्षक सञ्जालका जिल्ला अध्यक्ष रेखाकौशल रेग्मी, सिविन म्याग्दीका सामाजिक परिचालक खिमा पूर्जा, लायन्स क्लब अफ बेनी महारानीका सचिव हिरा शर्मा र पुलाचौरका जनप्रतिनिधिको उपस्थिति रहेको थियो । कार्यक्रम वडाध्यक्ष लक्ष्मण बानियाँको अध्यक्षता र संगम म्याग्दीका अध्यक्ष दिपक पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।