विश्वको गहिरो अन्धगल्छी र मनमोहक रुप्से झरना । दर्जनौं हिमशृंखलाको अवलोकन गर्न पाइने नारच्याङ मगर समुदायको कलासंस्कृतिले पनि धनी छ । यसैलाई आधार मानेर सरकारले सन् २०११ मा ‘पर्यटकीय गाउँ’ घोषणा गरेको थियो । विश्वप्रसिद्ध अन्नपूर्ण चक्रिय पदमार्गअन्तर्गत समावेश नारच्याङको परिचय अब यतिमा मात्रै सीमित रहेन । थुप्रै जलविद्युत् आयोजना निर्माण हुन थालेपछि यो गाउँ ‘हाइड्रो भिलेज’ मा परिणत भएको छ ।

जिल्ला सदरमुकाम बेनीदेखि चारघण्टाको सवारीयात्रापछि पुगिने नारच्याङमा ४२ मेगावाटको मिस्त्रीखोला, पाँच मेगावाटको घलेम्दीखोला र ३८ मेगावाटको नीलगिरिखोला जलविद्युत् आयोजना निर्माण भइरहेका छन् । त्यस्तै, ६२ मेगावाटको नीलगिरि क्यास्केट र १० मेगावाटको रेलेखोला आयोजनाले पनि सार्वजनिक सुनुवाईदेखि वातावरणीय प्रभाव मूल्यांकन सम्पन्न गरिसकेका छन् । म्याग्दीका उद्योगी, ब्यापारी र प्रवासीको पहलमा २०७१ सालदेखि निर्माणाधीन पाँच मेगावाटको घलेम्दीको ७५ प्रतिशत पूर्वाधार निर्माणको काम सकिएको छ । एक हजार ६९७ मिटर सुरुङ निर्माण गरेको घलेम्दीले आगामी चैतभित्र विद्युत् उत्पादन सुरु गर्ने तयारी गरेको छ । ३८ करोड ५० लाख रुपैयाँ संस्थापक सेयर रहेको आयोजनामा लुम्बिनी र टुरिजम डेभलपमेन्ट बैंकले ५५ करोड रुपैयाँ लगानी गरेका छन् ।

अन्नपूर्ण चक्रिय पदमार्गअन्तर्गत समावेश नारच्याङमा थुप्रै जलविद्युत् आयोजना निर्माण हुन थालेपछि ‘हाइड्रो भिलेज’ मा परिणत भएको छ ।

‘अहिले सुरुङमार्गमा फिनिसिङको काम भइरहेको छ भने विद्युत्गृह निर्माणलाई तीव्र बनाएका छौँ, कुनै समस्या आएन भने सात महिनाभित्र हामीले विद्युत् उत्पादन गर्नेछौँ’, घलेम्दी हाइड्रो लिमिटेका अध्यक्ष किशोर सुवेदी भन्छन् । रोबस्ट इनर्जी लिमिटेडले निर्माण गरिरहेको ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजनाको पूर्वाधार निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी हाई हिमाल हाइड्रो कन्ट्रक्सनले बाँध, सुरुङ र विद्युत्गृहको निर्माण कार्य एकै साथ अघि बढाएको छ । ‘निर्माण सुरु गरेको १३ महिनाभित्र ३० प्रतिशत काम सम्पन्न भइसकेको छ । सुरुङमार्गमा सबैभन्दा बढी प्रगति भएको छ’, आयोजनाका परामर्शदाता हाइड्रो कन्सल्टेन्ट इन्जिनियरिङका आवासीय इन्जिनियर दिवाकर खड्का भन्छन्, ‘२३ सय मिटर सुरुङमार्गमध्ये एक हजार मिटर खनिसकिएको छ ।

आयोजनाको अन्डरग्राउन्ड बाँध हुनेछ । त्यसका लागि एक सय १५ मिटर लामो दुईवटा पोखरी बनाउने काम पनि सकिएको छ ।’ करिब ६ अर्ब रुपैयाँ लाग्ने आयोजनामा जलविद्युत् लगानी तथा विकास कम्पनी र नबिल बैंकले १÷१ अर्ब रुपैयाँ लगानी गरेका छन् भने नबिलकै अगुवाइमा अन्य पाँचवटा बैंकले दुई अर्ब २० करोड रुपैयाँ लगानी गरेका छन् । आयोजनाले २०७५ फागुनभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ । ३८ मेगावाट निलगिरिले सडक निर्माणको कामलाई तीव्र बनाएको छ । मिस्त्रीको बाँधस्थल, घलेम्दीको विद्युत्गृह हुँदै अघि बढ्ने निलगिरिले करिब २० किलोमिटर सडकको ट्रयाक खोल्ने जनाएको छ ।
गाउँमै रोजगारी

२९ वर्षीय वीरबहादुर पुन पाँच वर्षदेखि घलेम्दीमा सुरुङमार्गको सह-इन्चार्ज भएर काम गरिरहेका छन् । स्थानीय नरेश पुन केही वर्ष कतार बसेर स्वदेश फर्किए । गाउँकै सबै युवा जलविद्युत्का काममा व्यस्त बनेको देखेर उनलाई विदेश मोह हट्यो । तीन वर्षदेखि उनी घलेम्दीमै कामदारका नाइके छन् । ‘म विदेश जाने बेलामा जलविद्युत् आयोजना बन्ने भन्ने हल्ला मात्रै थियो, फर्केर आउँदा सबै निर्माण चरणमा थिए’, नरेश भन्छन्, ‘क्षमता अनुसारको काम पनि पाइयो अहिले ठिकै छ ।’
गाउँमै पाएको जागिरले उनलाई कतारको भन्दा बढी सन्तुष्टि दिएको छ । नरेश भन्छन्, ‘काम गर्ने हो भने नारच्याङ र आसपासका कोही पनि युवा त्यतिकै बस्नुपर्दैन, कामदार नभएर कम्पनीले बाहिरबाट ल्याउँछन्, त्यसको फाइदा हामीले उठाउन सक्नुपर्छ ।’ घलेम्दी र मिस्त्रीले भारी बोक्नेदेखि गिट्टी, बालुवा कुटनेसम्म स्थानीयलाई प्राथामिकता दिएका छन् । उनीहरूले क्षमता र कम्पनीको नियमअनुसार १५ हजारदेखि ५० हजार रुपैयाँसम्म मासिक तलब बुझ्छन् ।

स्थानीय महेन्द्र गर्बुजाका अनुसार घलेम्दी र मिस्त्रीमा दैनिक १५० जनाले काम पाइरहेका छन् । ‘अब निलगिरिले पनि कामदार खोजिरहेका छन्, अब त रोजी-रोजी जागिर गर्न पाइन्छ’, उनी भन्छन्, ‘गाउँमा जलविद्युत् आयोजनाले नै परिवर्तन हुँदोरहेछ भन्ने कुरा बुझ्दैछौं ।’ स्थानीयले आयोजनामा काम मात्र होइन त्यहाँ काम गर्ने कामदारका लागि किराना पसलदेखि होटेलसमेत सञ्चालन गरी आत्मनिर्भर बन्न थालेका छन् । घलेम्दीको विद्युत्गृह र मिस्त्रीको बाँधस्थल एकै स्थानमा पर्छ ।
अहिले त्यहाँ करिब दुई सय कामदार छन् । त्यसैलाई लक्ष्य गरेर स्थानीय धनबहादुर पुनले किराना पसल सञ्चालन गरेका छन् । त्यहाँको व्यापारबाट उनी सन्तुष्ट छन् । ‘कामदारले मात्र होइन जलविद्युत् आयोजनाको अवलोकनका लागि हरेक दिन विभिन्न ठाउँका पर्यटक पनि आउँछन्, त्यसैले व्यापार राम्रै छ’, दुई वर्षदेखि किराना पसल सञ्चालन गर्दै आएका पुनले भने । नारच्याङका वडाअध्यक्ष चन्द्रप्रसाद फगामी गाउँमा निर्माणाधीन जलविद्युत् आयोजनाले स्थानीयलाई राम्रो रोजगारी प्रदान गरिरहेको बताउँछन् । ‘गर्छु र कमाउँछु भन्ने युवालाई अहिले समस्या छैन ।

आयोजनामा जति पनि काम पाउँछन्’, उनी भन्छन्, ‘अहिले विदेश जाने युवाको संख्या पनि निकै कम भएको छ ।’ कम्पनी प्रत्यक्ष आफैंले भौतिक संरचनाको काम गरिरहेकाले घलेम्दीले तुलनात्मक रूपमा स्थानीयलाई बढी प्राथामिकता दिएका छन् । मिस्त्रीको निर्माण ठेक्कामार्फत भइरहेको छ भने निलगिरिले पनि सोहीअनुसार काम गर्ने तयारी गरिरहेको छ । ‘ठेकदारमार्फत काम गर्दा दक्ष जनशक्ति मात्र खोजिदो रहेछ, तर घलेम्दीले स्थानीयलाई निकै राम्रो गरेको छ’, वडाअध्यक्ष फगामी भन्छन्, ‘घलेम्दीमा स्थानीयले धेरथोर लगानी पनि गरेका छन् ।’

गाउँपालिकाको जलविद्युत्मैत्री नीति

असार ३० गतेको अन्नपूर्ण गाउँपालिकाको पहिलो गाउँसभामार्फत सार्वजनिक नीति तथा कार्यक्रम र बजेटले जलविद्युत्मैत्री नीति पारित गरेको छ । नारच्याङमा निर्माणाधीन र निर्माण प्रक्रियामा रहेका आयोजनाका साथै गाउँपालिकाअन्तर्गत निर्माण हुने ११ मेगावाटको घारखोला, १६५ मेगावाटको कालीगण्डकी गर्ज, ६५ मेगावाटको अपर कालीगण्डकी आयोजनालाई समयमै सम्पन्न गर्ने वातावरण सिर्जनाका लागि गाउँपालिकाले यस्तो नीति पारित गरेको जनाइएको छ ।

‘यहाँ थुप्रै जलविद्युत् आयोजना बन्ने क्रममा छन् भने थुप्रै लाइसेन्स लिएर बसेका छन्, सबैलाई समयमै सम्पन्न गर्न बाह्य वातावरण सिर्जना गर्न हामीले यस्तो नीति लिएका छौँ’, गाउँपालिका प्रमुख क्या. डमबहादुर पुन भन्छन्, ‘आयोजनामा आइपर्ने समस्या हल गर्न गाउँपालिका तयार छ तर, आयोजना समयमै सम्पन्न हुनपर्‍यो ।’ गाउँपालिकाले ‘उज्यालो घर, अन्नपूर्णको भर’ नारा लिएर ती आयोजनामा संस्थागत रूपमा लगानीसमेत गर्ने योजना बनाइएको प्रमुख पुनको भनाइ छ । ‘यो विषयमा आयोजनासँग बसेर बृहत् छलफल गर्दछौँ, केही बजेट हामीले लगानी गर्ने योजनाका साथ राखेका छौँ’, उनी भन्छन् ।

ध्यान सबस्टेसन र प्रसारण लाइनमा

सरकारले कालीगण्डकी करिडोर क्षेत्रमा निर्माण हुने जलविद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जडान गर्न जिल्लाको अन्नपूर्ण गाउँपालिका-३ दानामा २२० केभीए सबस्टेसन र दानादेखि पर्वतको खुर्कोट जोड्ने प्रसारण लाइन निर्माणको काम अघि बढाएको छ । दाना र खुर्कोटमा जग्गा प्राप्तिको विवादले यसको निर्माण प्रक्रिया दुई वर्ष लम्बिएको थियो । सोही कारणले मिस्त्रीले १३ महिना मात्रै निर्माण कार्य गर्न सकेको थियो भने घलेम्दीको निर्माण पनि निकै सुस्त देखियो । २०७३ को जेठ महिनादेखि दानामा सबस्टेसन निर्माणको काम अघि बढेपछि जलविद्युत् आयोजनाको निर्माण रफ्तार पनि तीव्र छ।

प्रसारण लाइनको अन्तर्गत खुर्कोटमा निर्माण हुने सबस्टेसनको जग्गा विवाद पनि २०७३ भदौमा टुंगिएपछि अहिले सबस्टेसन र प्रसारण लाइन दुवै कामले गति लिएको छ । घलेम्दी हाइड्रो लिमिटेडका प्रबन्ध निर्देशक प्रमोद श्रेष्ठले दाना सबस्टेसनको विवाद ढिला गरी टुंगिदा यसको प्रभाव जलविद्युत् आयोजनामा परेको बताउँछन् ।

‘आयोजना बन्ने तर बेच्ने माध्यम नहुने भएपछि कसरी आयोजना छिटो बन्नसक्छ ? ’, अहिले सबस्टेसनले पनि गति लिएको र आयोजनाले पनि त्यसरी निर्माणअघि बढाएका छन्’, उनी भन्छन्, ‘हामी त सानो जलविद्युत् भएकाले तातोपानी जलविद्युत्मै जोडेर प्रसारण लाइनमा लैजान्छौँ, तर अरुलाई समस्या छ ।’ मुस्ताङको कोबाङमा विद्युत् उत्पादन गरिसकेको १३.६ मेगावाटको थापाखोला जलविद्युत् आयोजनालाई समेत विद्युत् बेच्ने समस्या रहेको उनको भनाइ छ । मिस्त्रीका आवासीय इन्जिनियर दिवाकर खड्काले अबको २० महिनाभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको र त्यो अवधिभित्र सबस्टेसन र प्रसारण लाइन पनि सम्पन्न हुने आशा गरिएको बताउँछन् । गोपाल छन्त्याल