मुस्ताङको थासाङ गाउँपालिकाअन्तर्गत कोबाङ र टुकुचेमा निर्माण भएको १३.६ मेगावाटको थापा खोला जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । म्याग्दीको नारच्याङस्थित घरापमा रहेको १३३ केभीए प्रसारण लाइनमार्फत मंसिर ६ गतेबाट राष्ट्रिय प्रसारण लाइनमा जडान भएको आयोजनाले जनाएको छ ।

माउन्ट कैलाश हाइड्रोपावरले निर्माण गरेको आयोजनाले मंसिर २१ गतेदेखि व्यावसायिक उत्पादन थाल्ने आयोजनाका प्रबन्ध निर्देशक भरत खड्काले जानकारी दिए । ‘१५ दिनसम्म परीक्षणका रूपमा हामीले राष्ट्रिय प्रसारण लाइनमा जाडेका छौँ’, उनले भने । घराप हुँदै पर्वतको मोदी सबस्टेसनमा जोडिएको उक्त आयोजनाले कोबाङदेखि नारच्याङसम्म आफैं प्रसारण लाइन निर्माण गरेको हो । तत्काललाई १३३ केभीए प्रसारण लाइनमा जडान भए पनि यसलाई पछि २२० केभीए प्रसारण लाइनमा स्थानान्तरण गरिनेछ ।

नारच्याङ नजिकै थापाखोलालगायत कालीगण्डकी क्षेत्रमा निर्माणधीन जलविद्युत् आयोजनालाई लक्ष्य गरी सरकारले अहिले दानामा २२० केभीए सबस्टेसन र दाना-पर्वतको खुर्कोट-बुटवलको बर्दघाटसम्मको राष्ट्रिय महत्वको आयोजना निर्माण गरिरहेको छ । दाना र खुर्कोट सबस्टेसन निर्माण कार्य ४० प्रतिशत सम्पन्न भइसकेको छ भने ४२ किलोमिटर प्रसारण लाइनका लागि टावर राख्ने ठाउँमा जग्गा अधिग्रहण र रुख काट्ने प्रक्रिया अघि बढेको छ।०७१ सालमै निर्माण हुनुपर्ने थापाखोला सबस्टेसन र प्रसारण लाइन निर्माणमा भएको ढिलाइका कारण तीन वर्ष पछि धकेलिएको छ ।

०७१ सालमै निर्माण हुनुपर्ने थापाखोला सबस्टेसन र प्रसारण लाइन निर्माणमा भएको ढिलाइका कारण तीन वर्ष पछि धकेलिएको प्रबन्ध निर्देशक खड्काले जानकारी दिए । ‘निर्माण अवधि लम्बिँदा लागत पनि बढेको छ । सुरुमा दुई अर्ब ६० करोड रुपैयाँ अनुमान गरिएको आयोजना सम्पन्न हुँदा दुई अर्ब ६० करोड पुगेको छ’, खड्काले भने, ‘नाकाबन्दीका साथै बेनी-जोमसोम सडकखण्डमा हुने समस्या पनि सहायक कारण बनेको छ ।’ हिउँदको समयमा यस आयोजनाबाट १३ मेगावाट उत्पादन गर्ने भए पनि अहिले पाँच मेगावाट मात्रै उत्पादन भएको छ ।

हिउँदमा यो आयोजनाले कुल क्षमताको एक तिहाइ मात्र उत्पादन गर्नेछ । दुईवटा साना सबस्टेसन निर्माण गरेको आयोजनाले कोबाङ, टुकुचे र घासा क्षेत्रमा स्थानीयलाई दसैंअघिदेखि नै विद्युत् वितरण गर्दै आएको थियो । सबस्टेसन निर्माण ढिला हुँदा थापाखोलालाई तत्काल घराप-मोदी हुँदै राष्ट्रिय प्रसारणमा जडान गरिएको कालीगण्डकी करिडोर सबस्टेसन आयोजनाका प्रारम्भिक अधिकृत रमेश खड्काले जानकारी दिए ।

आयोजनाले सर्वसाधारणका लागि २२ करोड ५० लाख रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने तयारी छ । ‘त्यसका लागि सेयर निष्कासनका लागि कम्पनीले बिक्री प्रबन्धकमा एनआईबीएल क्यापिटल मार्केट्ससँग सम्झौता गरेको छ । यो केही दिनमै जारी हुनेछ’, प्रबन्ध निर्देशक खड्काले भने ।