बेनी नगरपालिका साक्षर नगर घोषणा

0
413

म्याग्दीको बेनी नगरपालिका सोमबार एक समारोहबीच साक्षर नगरका रुपमा घोषणा भएको छ । नगरपालिकाको १० ओटै वडाका १५ देखि ६० वर्ष उमेर समूहका सबै जनाले अक्षर चिन्न सक्ने भएपछि साक्षर नगरपालिका घोषणा गरिएको हो ।

नगर क्षेत्रमा रहेका १५ वर्षदेखि ६० वर्ष उमेर समूहका २१ हजार ८ सय ८८ मध्ये २१ हजार १ सय ९४ अर्थात् ९६ दशमलव ८२ प्रतिशत जनसङ्ख्या साक्षर भएपछि नगरपालिकालाई साक्षर घोषणा गरिएको जिल्ला शिक्षा कार्यालय म्याग्दीले जनाएको छ । जिल्ला शिक्षा कार्यालयको संयोजन र बेनी नगरपालिकाको आयोजनामा नगरपालिकालाई साक्षर घोषणा गरिएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले आगामी दिनमा पनि साक्षर घोषणा अभियानलाई निरन्तरता दिनुपर्ने बताए । उनले साक्षर घोषणा अभियानलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने बताउँदै निरक्षर रहेको समूहलाई पनि साक्षर बनाएर साक्षरता प्रतिशत वृद्धि गराउनुपर्नेमा जोड दिएका छन् । म्याग्दीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले साक्षर घोषणा कार्यक्रमले नगर क्षेत्रमा शिक्षाको लहर ल्याएको बताउँदै साक्षर अभियानलाई निरन्तरता दिनका लागि शैक्षिक कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्नुपर्ने बताएका थिए ।

नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले राज्यले शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर सोही अनुसार बजेट विनियोजन गर्नुपर्ने भन्दै बाँकी रहेको निरक्षर उन्मुलनका लागि नगरपालिका, गाउँपालिका र सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने बताए । नगर उपप्रमुख सन्जु बरुवालले साक्षर घोषणा कार्यक्रमलाई व्यवहार उतार्नुपर्नेमा जोड दिएकी छिन् ।

जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठले नेपालका ३८ ओटा जिल्लाहरु साक्षर जिल्ला घोषणा भैसकेको बताउँदै आगामी माघ ८ गते म्याग्दी जिल्लालाई नेपालको ३९औं साक्षर जिल्लाका रुपमा घोषणा गरिने जानकारी दिए । उनका अनुसार एक नगरपालिका, पाँचवटा गाउँपालिका र ४५ ओटा वडा रहेको म्याग्दीमा हालसम्म ३५ ओटा वडालाई साक्षर घोषणा गरिसकिएको छ । कुल ९६ दशमलव २७ प्रतिशत जनसङ्ख्या साक्षर भएको जिल्ला शिक्षा कार्यालयको तथ्याङ्क रहेको छ ।

कार्यक्रममा म्याग्दी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख टिकाराम सापकोटा, बेनपा–७ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले मन्तव्य राखेका थिएभने स्रोतव्यक्ति मोहन बानियाँले साक्षरता विवरण प्रस्तुत गरेका थिए । बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माको स्वागत र विद्यालय निरीक्षक विश्वप्रकाश रेग्मीको सञ्चालनमा सम्पन्न कार्यक्रममा बेनी सामुदायिक मावि र प्रकाश माविका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।