दृश्यावलोकनको एउटा सुन्दर गन्तव्य ‘बेलढुंगा’(भिडियो)

0
320

बेनी नगरपालिका–३ भकिम्लीको शीरमा अवस्थित पर्यटकीयस्थल बेलढुंगा प्रचारप्रसार र पुर्वाधारको अभावमा ओझेलमा परेको छ । समुन्द्री सतह देखी करिव २८ सय मिटर उपचाईमा अवस्थित छिमेकी जिल्ला बागलुङको काठेखोला गाउँपालिकाको धम्जाको सिमानामा अवस्थित बेलढुंगा जिल्लाकै पर्यटकीय गन्तब्य बनाउन सकिने प्रसस्त सम्भावना भएपनि पूर्वाधार र प्रचारप्रसार नहुदाँ ओझेलमा परेको हो।

जिल्लाको सदरमुकाम बेनीबाट नजिक रहेको बेलढुंगाबाट म्याग्दीका अधिकांस भूभागका साथै बागलु, पर्वत, कास्की, गुल्मी जिल्लाका भूभाग देखिने बेनपा–३ का वडा सदस्य रत्न जिसीले बताए । ‘धार्मिकस्थल स्वर्गाआश्रमबाट करिव ४५ मिनेटको दुरीमा छ। चट्टानबाट अवलोकन गर्न सकिन्छ’ उनले भने ।

उनले भकिम्लीको मुसुङ, डोले, भुकभुके गाउँबाट करिव डेढघण्टाको दुरीमा रहेको बेलढुंगामा पुग्नु अगाडी धार्मिकस्थल स्वर्गाआश्रम, तपस्यास्थल,प्राचिनकालिन अवस्थामा निर्मित पोखरी, विश्रामस्थलहरू समेत देखिने बताए ।पदयात्रामा रमाउने आन्तरिक पर्यटकले घनाबस्तीलाई थिचोल्दै पहाडको शीरमा रहेको विशाल चट्टानमा बसेर दृष्य अवलोकन प्रमुख आर्कषण रहेको बताए ।

बेलढुंगा आसपासको क्षेत्रबाट धौलागिरि, गुर्जा, चुरेन, निलगिरी लगायत दर्जन हिमश्रंखला, लालीगुराँसको घना जंगल, बन्यजन्तुको बासस्थानका साथै मनोरम दृष्यहरू देखिन्छ । जंगलको बीचमा रहेको अग्लो ढुंगा सम्म पुगेपछि त्यहाँ करिव ३० जना बस्न मिल्ने ठाउँ समेत रहेको स्थानीय यूवा तारामिलन छन्त्यालले बताए । गोलो आकारको ढुंगाको माथिल्लो भागमा बसेर मिनी बनभोजको समेत आयोजना गर्न सकिन्छ ।

ढुंगाको आकार ठुलो भएपनि नाप नगरिएको बताउँदै ०७२ सालमा गएको भूकम्पले पनि ढुंगालाई कुनै असर नगरेको बताए । जंगलको माथिल्लो भागमा रहेको ढुंगामा धेरै मान्छे बस्दा हल्लिएको अनुभुती हुने गरेकाले पनि एकपटक पुगेकाले पटकपटक पुग्ने इच्छा ब्यक्त गर्ने गरेको बताए । ‘पैदलमार्गलाई ब्यवस्थित बनाउनुपर्छ, पिकनिकका लागि पनि प्रख्यात ठाउँ हो’ उनले भने। दुवै जिल्लाको सिमानामा रहेको ढुंगामा आसपासका क्षेत्रमा रहेका ठुला आकारका चारवटा चट्टान पार गरेपछि पुग्न सकिन्छ ।

प्राचिनकालमा तपस्या गर्ने गएका सप्त ऋषीहरुले तपस्या गर्ने क्रममा ठुला पत्थरमा बनाएको बाटो हुदै पुगिने उक्त ठाउँलाई सप्त ऋषी बेलढुङ्गा समेत भन्ने गरिन्छ । स्वर्गाआश्रम देखी बेलढुंगासम्म २ सयबर्ष अगाडीसम्म तपस्या गर्ने स्थानहरु अहिले पनि सजिलै पहिचान गर्न सकिन्छ । जोखिमपूर्ण तरिकाले पुगेपनि फर्कने बेलामा सहज हुने गरेको स्थानीयले बताउँछन् । ‘ढुंगामा पुगेपछि हल्लिएको महसुस हुन्छ । डोरी जस्तै बनेर बसेका नियालोको साहरा लिनुपर्छ’ स्थानीय यूवाले भने ।

जिल्लामा विभिन्न प्रजातीका गुराँस फुल्ने स्वर्गाआश्रम आसपासका क्षेत्रमा पक्की पदमार्ग, खानेपानी, बनभोजका लागि समेत आवश्यक पूर्वाधार विस्तारमा प्राथमिकता दिइएको वडा अध्यक्ष पदम पुनले बताए । ‘पर्यटकीय र धार्मिकस्थलको प्रचारप्रसारलाई प्राथमिकता दिइएको छ ।वडास्तरको बजेटबाट अपुग हुने भएकाले पनि नगरपालिकाबाट थप बजेट माग गरेका छौ’ पुनले भने । उनले छिमेकी जिल्ला बागलुङको धम्जाका बासिन्दा समेत आफ्नै सदरमुकाम जान समेत भकिम्ली हुदै आवतजावत गर्ने गरेको बताउँदै सडक सञ्जालले जोड्ने तयारी भएको बताए ।

विदा र फुर्सनको समयमा परिवार तथा समुह बनाएर भ्रमण गर्ने गन्तब्यको रुपमा विकास गर्न आगामी बर्षको बजेटमा समेत बेलढुंगा र आसपासका क्षेत्रको प्रचारप्रसारमा बजेट विनियोजन गरिने पुनको भनाई छ । उनले प्राचिनकाल अवस्थामा भकिम्लीका अग्ला पहाडमा समेत गुफा बनाएर तपस्या गरेका स्थानहरू समेत रहेकाले पनि मर्मत तथा अवलोकन गर्न जान मिल्ने गरी पदमार्ग बनाउने प्रतिबद्धता जनाए । उनले पदमार्ग निर्माणका लागि बेनी नगरपालिकालाई समेत सहयोग माग गरिएको बताउँदै नगरपालिकाबाट समेत सकारात्मक प्रतिक्रिया आएको बताए ।

उनले हरेक बर्षको बैशाख १ गते स्वार्गाआश्रममा हुने पुजमा समेत सरोकारवाला निकायलाई समेत निमन्त्रणा गरी भित्राउने गरिएको बताए । बेनी नगरपालिकाले समेत नगरभित्रका पर्यटकीयस्थलको प्रचारप्रसारका साथै आवश्यक पूर्वाधार विस्तारमा प्राथमिकता दिने जनाएको छ । नगरभित्रका सबै पर्यटकीयस्थलको प्रचारप्रसार र पूर्वाधार विस्तार गरी आन्तरिक तथा बाह्य पर्यटकलाई भित्राउने नगरपालिकाले जनाएको छ ।