डेढ लाखको तलव छोडेर आधुनिक बाख्रापालन

0
598

बेनी नगरपालीका–२ ज्यामरुककोट गौस्वाँराका बिराज मल्लले साढे तीनबर्ष इराकको भूमिमा विताए । जोखिमपुर्ण भएपनि उनले मासिक डेढलाख तलब बुझ्ने गर्दथ्ये । यूद्धमा फसेको इराकमा उनले धेरैपटक मृत्युलाई नजिक देखेपछि बाध्य भएर घर फर्किए । केही महिना अलमलमा परेपनि विभिन्न ब्यक्तिको परामर्शबाट २७ वटा बाख्रा खरिद गरी आधुनिक प्रविधिको प्रयोग गरी बाख्रापालन गरेका मल्ल अहिले जिल्लाकै नमुना बाख्रापालकको रुपमा चिनिएका छन्।

बाख्रापालनलाई कमाउने माध्यम भन्दा पनि यूवाहरुलाई आर्कषित गर्ने गरी आधुनिक प्रविधि, उपकरण सहित सिद्धबराह बाख्रापालन तथा कृषी फार्मको स्थापना गरेका मल्लले फराकिलो खोरभित्र बाख्रा राख्ने ११ वटा छुट्टा–छुट्टै कोठामा बोका, बाख्रा, पाठापाठी राखेका छन् ।‘बैदेशिक रोजगारमा कमाएको धनलाई बाख्रापालनमा लगानी गरे ।आधुनिक प्रविधिलाई गाउँमै प्रयोग गर्न सफल भए’ मल्लले भने ।

उनले बाख्रापालन गरेको एक महिनामै फाईदा खोज्ने प्रबृत्तिका कारण बाख्रापालनमा लागेकाहरूले अपेक्षा गरे अनुसार गोठ सहित बाख्राको हेरचाह गर्न नसकेकाको अवस्थामा आधुनिक सीप र प्रविधिको प्रयोग गरेर बाख्रापालन गरेको बताए ।‘दुई बर्ष लगानी मात्रै गरे,अहिले आम्दानी हुन थालेको छ’ मल्लले भने ।

उनले उन्नतजातको बोका र बाख्रा, तरकारी, घाँस विक्री गरी बार्षिक १० लाखभन्दा बढी आम्दानी गर्ने गरेका छन् । बाख्रपालानमा आधुनिक प्रविधिको प्रयोग गरेका मल्लको फर्म हेर्न म्याग्दी, बागलुङका साथै अन्य जिल्लाबाट पनि आउन थालेपछि प्रति ब्यक्ति २० रुपैयाँको टिकटमा फर्म हेर्ने ब्यवस्था मिलाउने तयारी गरेको बताए ।

उनले त्यसलाई बाख्रापालनका लाग्ने यूवाहरुलाई प्रोत्साहन गर्ने कार्यक्रममा खर्च गर्ने समेत बताए । आधुनिक प्रविधि र गोठ बनाउदा धेरैले लगानी डुवायो भन्दै आलोचना गरेपनि अहिले आएर बाख्राफर्म हेरेर दंग पर्ने गरेको समेत मल्लको भनाई छ । खोरमा उमेर समुह,ब्याउने, भर्खरै ब्याएका, तीन महिना उमेर पुगेका पाठापाठी,साना पाठापाठी, बोका, माउ बाख्रा बस्ने छुट्टा छुट्टै कोठामा राख्ने ब्यवस्था मिलाइएको छ ।

घाँसलाई काटेर खुवाउदा सहज र जनश्रम पनि कम लाग्ने मल्लको भनाई छ । घाँसको समेत बचत, खोर समेत सफा र सुन्दर देखिने भएकाले औजारको प्रयोग गरीएको छ। खोरमा रहेका बाख्रा र औजारको मुल्य करिव १ करोड १० लाखको हाराहारीमा रहेको छ । विक्री गरेका बाख्राहरूबाट आएको पैसालाई समेत खोरमै लगानी गरेका छन् ।

आधुनिक प्रविधिको प्रयोगमा तत्काल लगानी धेरै देखिने भएपनि भविस्यमा निरन्तर फाईदा हुने भएकाले गाउँका यूवाहरुलाई समेत सजिलै सीप हस्तान्तरण गर्न सहज हुने समेत बताए । ‘एक्लै ब्यवसाय भन्दा पनि धेरै यूवाहरूलाई बाख्रापालनमा आर्कषित गर्नु मेरो लक्ष्य हो । यहाँ आएर फर्म हेरेर गएकाहरूले बाख्रापालन समेत सुरु गरेका छन’ उनले भने । निर्वाहमुखी बाख्रापालनले किसानलाई अपेक्षाकृत लाभ नभएकाले लगानी गरेमा दिर्घकालिन रुपमा आम्दानी हुने मल्लको भनाई छ ।

उनले बाख्रालाई जाडो महिनामा फाईबरको टिन र गर्मीमा हावा प्रवेश गर्ने झ्यालको ब्यवस्था मिलाएका छन भने निकट भविष्यमा हिटर समेत जडान गर्ने तयारी गरेकाकरिव तीनबर्ष अगाडी २७ वटा बाख्राबाट ब्यवसायी सुरू गरेका मल्लले जमुनापारी, वित्तल, बोयर लगाएतका उन्नतजातका साथै स्थानीय बाख्रा गरी १ सय २५ वटा बाख्राबोका पालेका छन् ।

उनले खोरमा जम्मा भएको जुतोलाई आसपासका कृषकका साथै छिमेकी जिल्ला बागलुङको भान्छा गाउँसम्म निकै न्यून मुल्यमा विक्री गर्ने गरिएको छ । एकबर्ष भित्र थप चारवटा खोर विस्तारको तयारी गरिरहेका मल्लले फर्मभन्दा माथिल्लो क्षेत्रमा रहेको सामुदायिक बनबाट घाँस ल्याउन रोपबे ल्याउने तयारी समेत गरेका छन् । उनले तीनबर्षभित्र बार्षिक २० देखी ३० लाखको बोकाबाख्रा विक्री गर्ने योजना बनाएका छन् ।

गतबर्ष पशु सेवा कार्यालय मार्फत युवा स्वरोजगार कार्यक्रम अन्तरगत एक लाख रुपैया अनुदान समेत प्राप्त गरेको फर्म जिल्लाकै नमुना र आधुनिक बाख्रापालन फर्मका रुपमा समेत घोषित गरेको छ । बैदेशिक रोजगारबाट फर्किएका यूवाहरुले धमाधम कृषि र पशुपालनबाट रहरलाग्दो आम्दानी सुरु गरेका छन् । बेनी नगरपालिका, मंगला,मालिका, धौलागिरि, रघुगंगा र अन्नपूर्ण गाउँपालिका भित्र ब्यवसायीक बाख्रापालनमा सक्रिय रहेका अधिकांस खाडी मुलुकमा पुगेर फर्किएका यूवाहरू छन् ।