बालविवाह विरुद्धको लुलाङमा सडक नाटक

0
407

जिल्लाको धौलागिरि गाउँपालिका–२ लुलाङमा बाल विवाह विरुद्ध सडक नाटक प्रर्दशन गरिएको छ । बाल विवाह रोक्न जिल्लाभरी विभिन्न रचनात्मक कार्यक्रम सुरू गरेको जिल्ला बाल सञ्जाल म्याग्दीले विभिन्न गैरसरकारी संस्थाको सहयोगमा दुर्गम क्षेत्रका बालबालिका विरुद्ध हुने हिंसा र बाल विवाह विरुद्ध जनचेतना फैलाउने उदेश्यले आयोजित सडक नाटक प्रभावकारी बनेको बाल सञ्जाल म्याग्दीकी सचिव रन्जना श्रेष्ठले बताईन् ।

उनले कलिलै उमेरमा विवाह गर्ने, सम्बन्ध विच्छेद गर्ने घटना जिल्लामा बढ्न थालेपछि जिल्लामा रहेका सरोकावाला निकायहरुलाई समेत बालबालि विरुद्ध हुने गतिविधिलाई निरुत्साहित गर्ने अभियानमा सहयोग मागिएको बताईन् । जिल्लाको विकट लुलाङ आधारभुत विद्यालयमा आयोजित कार्यक्रममा बालबालिकाको पक्षमा रहेको कानुन, बालबालिका विरुद्ध हुने कुनैपनि किसिमका हिंसामा संलग्नलाई हुने कानुनी कारवाही, बाल विवाहका लागि जवरजस्ती गर्नेलाई कारवाही लगाएतका विषयमा विद्यार्थीलाई जानकारी गराइएको सञ्जालका उपाध्यक्ष थमप्रसाद आचार्यले भने ।

उनले आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई परिवार र आफन्तको सहयोगमा जवरजस्ती विवाह गर्ने, विवाह गर्न अस्वीकार गर्नेलाई शाररीक तथा मानसीक यातना दिने, यौनजन्य हिंसामा संलग्न भएपनि गुपचुप राखिने लगाएत बालबालिका विरुद्ध हुने सामान्य देखी जटिल घटनामा संलग्नलाई तत्कालै कानुनी दायरामा ल्याउन विद्यालय उमेर समुहका बालबालिकाबाटै सहयोगको आवश्यकता रहेकाले पनि दुर्गम क्षेत्रमा अभियानलाई प्राथमिकता दिएको बताए ।

दुर्गम क्षेत्रका बालबालिका माथि हुने हिंसा गुपचुप राखिने भन्दै बालसञ्जालले विद्यालय उमेरका बालबालिकामार्फत सुचना आदानप्रदानको ब्यवस्था समेत मिलाएको बताए । उनले जिल्ला प्रशासन कार्यालय, महिला तथा बालबालिका कार्यालय, बालकल्याण समिति, गुड नेइर्वश इन्टरनेशनल नेपालसंग समन्वय गरी जनचेतनामुलक कार्यक्रम सुरु गरिएको बताए ।