बिहिबार साँझ ५ बजेबाट पहिलो चरण अन्र्तरगत सम्पन्न भएको निर्वाचनको मतगणना सुरू हुन्छ । म्याग्दी जिल्लामा लोकतान्त्रिक र बाम गठबन्धनले समेत मतगणनास्थलमा पठाउने प्रतिनिधिहरूका बारेमा आन्तरिक तयारी गरेका छन् । गत मंसिर १० गते निर्वाचन सम्पन्न भएपछि मुख्य निर्वाचन कार्यालयमा राखिएको मतपेटिका भित्र रहेको मतलाई लिएर बजारमा बाजी थाप्नेको होडबाजी चलेको छ ।

प्रतिनिधिसभामा १ निर्वाचन क्षेत्र रहेको म्याग्दीमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार खम बहादुर गर्बुजा ‘खम्बीर’ र बाम गठबन्धनका उम्मेदवार भुपेन्द्र बहादुर थापा, प्रदेशसभॉक’लोकतान्त्रिक गठबन्धनका उम्मेदवार राष्ट्रिय प्रजातन्त्र पार्टीका भीमप्रसाद गौचन, बाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका विनोद केसी, प्रदेश ‘ख’ नेपाली कांग्रेसका क्याप्टेन अमलाल फगामी र नेकपा एमालेकी नरदेवी पुनको नाममा स्वदेश तथा विदेशमा बाजी थापिएको छ ।

पाँच हजार देखी ५ लाखसम्मको बाजी थापेपछि जिल्लाभित्र आफ्नो तर्फबाट समेत कसलाई कति मत खसेको अड्कलबाजी समेत गर्न थालेपछि मतगणना अगाडी नै जिल्लामा उम्मेदवारको जित हारको चर्चा चुलिएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका उम्मेदवारको पक्षमा रहेका मतदाता, ब्यापारी र प्रवासबाट आएकाहरूले जिल्लाभित्रको मत खसेको प्रारम्भीक जानकारी लिएर लाख–लाखको बाजी थाप्न थालेपछि चोकचोकमा चर्चा हुने गरेको छ ।

‘निर्वाचनमा खसेको मतका आधारमा मैले ५० हजारको बाजी थापेको छु।विगतमा भन्दा धेरै राम्रो अवस्था देखिएकाले बाजी राखेको छु’ प्रतिनिधिसभामा लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका गर्बुजाको पक्षमा बाजी थापेका केसी थरका एक यूवाले बेनीअनलाइनलाई भने ।उनले आफुँले ५० हजार बैंक खातामा राखिसकेको बताए ।उनीजस्तै एकल र समुह बनाएर आफ्नो उम्मेदवारको पक्षमा बाजी थाप्नेहरू धेरै भएपनि नाम सार्वजनिक गर्न चाहदैनन्।

बेनीबजारमा नेपाली कांग्रेस, नेकपा एमाले समर्थित यूवाले आफ्नो पक्षमा नतिजा आउने दावी सहित बाजी थाप्न थालेपछि बाजीका बारेमा दैनिकजसो चर्चा हुने गरेको छ ।‘दुवैले विश्वास गर्ने मध्यस्थलाई बुझाइसकेका छौ ।आफ्नो विचारलाई जिताउने अभियान हो’ नेकपा एमालेका एक यूवाले भने । उनले निर्वाचन अचारसंहिता र जित्ने र हार्ने उम्मेदवारले समेत भविस्यमा नकारात्मक सोच्ने भएकाले पनि परिचय गोप्य राख्नुपरेको बताए ।

प्रदेशसभा सदस्य भन्दा प्रतिनिधिसभा सदस्यका उम्मेदवारको पक्षमा बाजी थाप्ने धेरै छन् ।बाम र लोकतान्त्रिक गठबन्धनको चुनावमा आर्थिक, सचिवालय ब्यवस्थापनमा सक्रिय रहेकाले समेत २५ लाखको बाजी थाप्ने चर्चा समेत बजारमा फैलिएको छ । बैंकमा खाता खोलेर तीनजनाको हस्ताक्षरमा रकम निकाल्न मिल्ने गरी बाजी राख्ने चर्चा चलेको थियो । त्यस्तै काठमाण्डौमा समेत म्याग्दीको निर्वाचनलाई लिएर ५ लाखसम्मको बाजी थापिएको छ ।निर्वाचनमा जिल्लामा आएर आफ्नो विचार मिल्ने उम्मेदवारको पछाडी लागेकाले माहोल देखेपछि तेस्रो पक्षलाई पैसा दिएर बाजी थापेको स्रोतले जनाएको छ ।

आर्थिक हैसियत राम्रो भएकाले पार्टीलाई चन्दा दिएपनि उम्मेदवारको नाममा जुवा खेल्ने गरेका छन् । जिल्लाको सदरमुकाम बेनीसंगै स्थानीय तहमा रहेका नेताहरुले समेत त्यहाँ ५० हजारसम्म बाजी राखेपछि यसपटकको चुनावी नतिजाको कारोबार धेरै भएको गठबन्धन स्रोतको भनाई छ ।जिल्लाको सदरमुकाम बेनीमा जुवाताजका पेशेवरहरुले हरेक निर्वाचनमा बाजी थाप्ने गरेका छन् ।

०७० सालमा सम्पन्न भएको दोस्रो संविधानसभाको निर्वाचन, गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा समेत वडा अध्यक्ष देखी प्रमुख जित्ने र हार्ने नाममा बाजी थापेपछि प्रहरीले समेत जुवा ऐन अन्र्तरगत कारवाही गर्ने चेतावनी दिएको थियो । ‘साथीहरु बीचको रमाईलो पनि हो । आफ्नो पक्षको जीतको अवस्था देखिएपछि पैसाको बाजी अन्तिम विकल्प बन्यो’ मालिका गाउँपालिका दरवाङका एक यूवाले भने ।

जिल्लाभित्र र बाहिर गोप्य रुपमा लाखौंको बाजीको थापिएको चर्चा चलेपनि केहीले आफु निकटलाई बाजीका बारेमा जानकारी गराएपछि चर्चा सुरु भएको थियो । उम्मेदवारको नाममा बाजी थाप्ने धेरै दुईजना वा समुहभित्र मात्रै सिमित हुने गरेको छ । स्थानीय तहको निर्वाचमा मतदान अगाडी नै बाजी थाप्नेहरुले आफ्नो पक्षमा नतिजा ल्याउन घरदैलो अभियान देखी विभिन्न माध्यमबाट समेत मत मागेको सार्वजनिक भएको थियो । बाजी थाप्नेमा नेपाली कांग्रेस र नेकपा एमाले सर्मथित छन् ।