म्याग्दीमा मतगणनाका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयको आयोजनामा बुधबार बेनीमा बसेको सर्वदलीय बैठकमा मंसिर २१ गते बेलुकी ५ बजे देखि मतगणना हुने मतगणनास्थलको तयारी, कर्मचारीको ब्यवस्थापन सहित पूर्ण रुपमा तयार गरिसकेको मुख्य निर्वाचन अधिकृत राजकुमार कोईरालाले जानकारी दिए।

उनले मतगणनास्थलमा तारजाली सहित सिसी क्यामेरा जडान गरिएको छ । जिल्ला अदालतमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालका प्रतिनिधिसभाको २ ठाउँमा र प्रदेश क र प्रदेश ख को एक एक ठाउँमा मतगणना हुने कोईरालाले बताए ।

मतगणनास्थलमा गणक जारजालीभित्र र दलिय प्रतिनिधि बाहिर राखेर गणना गर्ने ब्यवस्था मिलाइएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार, सामानुपातिक, राजनीतिक दलका प्रतिनिधिहरु सहितको उपस्थितिमा भएको छलफलमा पहिलो चरणमा मतदान भएका जिल्ला मध्ये म्याग्दीमा नमुना मतदान सम्पन्न भएको बताउँदै मतगणनालाई समेत मर्यादित बनाउन अनुरोध गरिएको थियो ।

मतगणनाका लागि तारबार, जाली लगाइएको स्थलका बारेमा समेत राजनीतिक दलका प्रतिनिधिहरुलाई जानकारी गराइएको सहायक निर्वाचन अधिकृत राजु ढुंगानाले बताए । उनले मतगणनास्थलमा समेत कडा सुरक्षा ब्यवस्था मिलाइएको छ ।

उनले तारबार बाहिर रहेका उम्मेदवारका प्रतिनिधिहरुलाई देखाउँदै मत सदर वा बदर गरिने बताए । मतगणनास्थलमा ८ वटा सिसी क्यामेरा जडान गरिने छ ।

प्रतिनिधि र प्रदेशसभामा उम्मेदवारको दुईजना प्रतिनिधि रहने ब्यवस्था मिलाइएको छ । मतगणनास्थल र बाहिर पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा शसस्त्र र तेस्रो घेरामा नेपाली सेनालाई सुरक्षाको जिम्मा दिइएको छ । ९० जना कर्मचारी छनौट भएका छन् । एक नगरपालीका, ५ गाउँपालीका, ४५ वटा वडा भएको म्याग्दीमा ७५ हजार ५३७ मतदाता रहेकोमा ४७ हजार ४४९ मत खसेको थियो । यसैबीच मतगणनास्थल बाहिर सुरक्षा ब्यवस्था कडा बनाइएको छ ।