म्याग्दीमा वडा अनुसार मतगणना हुने, १५ सयभन्दा कम मत भए दुई वडालाई मिसाईने

0
140

पहिलो चरणमा सम्पन्न भएको प्रतिनिधि र प्रदेशसभा चुनावको म्याग्दीमा एक हजार पाँच सय भन्दा कम मत खसेको वडाको मतपेटीका अर्को वडासंग मिसाएर मतगणना गरिने भएको छ । निर्वाचन आयोगले एउटा वडाको मत गन्न नमिल्ने निर्देशिका जारी गरेपनि मुख्य निर्वाचन अधिकृतको कार्यालयको आयोजनामा बुधबार बेनीमा बसेको सर्वदलीय बैठकमा एक हजार पाँच सय भन्दा बढी मत भएका वडा अनुसारको मतगणना गर्ने निर्णय भएको हो ।

राजनितिक दलका प्रतिनिधिहरूले वडास्तरमा आफ्नो आँकलन अनुसारको मतका बारेमा प्रत्येक वडाको छुट्टा छुट्टै मतगणना गर्ने सहमत भएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले समेत सहमति जनाएको हो । एउटै वडाको मतगणना गर्दा उम्मेदवार र पार्टीको लगानी र वडाका मतदातालाई हेर्ने दृष्टिकोणमा समेत नकारात्मक हुने बताइरहेको अवस्थामा दल र उम्मेदवारले आफ्नो लगानी र प्रभावका क्षेत्रबाट प्राप्त मतहरूलाई सुरक्षित गर्ने यस्तो निर्णयमा सहमति जनाएका हुन् ।
सर्वदलिय बैठकमा जिल्लामा कुन वडाबाट आफ्नो पक्षमा कति मत खसेका थाहा पाउन सजिलो भएको छ ।

गत मंसिर १० गते सम्पन्न भएको निर्वाचन लगत्तै मुख्य निर्वाचन कार्यालयमा राखिएको मतपेटिका भित्रको मतका बारेमा दलका सर्मथकहरू हरेक वडाको मत परिणाम आफ्नो पक्षमा रहेको दावी गरिरहेको अवस्थामा वडास्तरको मतगणनाले समेत सहज भएको छ । बिहिबार सम्पन्न हुने ४५ जिल्लामा मतदान सकिएलगत्तै पहिलो चरणमा भएका म्याग्दी सहित ३२ जिल्लामा साँझ ५ बजेबाट गरिने मतगणना हुने छ ।

मतगणना सम्बन्धि आचारसंहिता, आयोगको निर्देशिकाका बारेमा भएको छलफलमा मतदान अधिकृतले बुझाएको प्रतिबेदन र मतपेटिकामा खसेको मत फरक भएमा मतपेटिका भित्रको मतलाई २५ वा सो भन्दा धेरै भएमा मुचुल्का हेरेर निर्णय गर्ने सहमित भएको मुख्य निर्वाचन अधिकृत राजकुमार कोईरालाले बताए । मतगणनालाई तीनदिन भित्र सम्पन्न गर्ने लक्ष्य रहेको बताउँदै पहिलो दिनको मतगणनाको गति, जनशक्ति र पुर्वाधारको अवस्था अनुसार गणक टोली बढाइने कोईरालाले बताए । एक नगरपालीका, ५ गाउँपालीका, ४५ वटा वडा भएको म्याग्दीमा ७५ हजार ५३७ मतदाता रहेकोमा ४७ हजार ४४९ मत खसेको थियो ।