प्रदेशको मतपत्र प्रतिनिधिसभाको मतपेटिकामा भेटिए बदर

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रयोग गरिएका तीनवटा मतपत्र फरक– फरक मतपेटिकामा भेटिए बदर हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन आयोगबाट प्राप्त मतगणना निर्देशिकामा मतपत्र सम्बन्धित मतपेटिकामा हुनुपर्ने उल्लेख भएपछि बिहिबार साँझ ५ बजेबाट हुने मतगणनास्थलमा प्रतिनिधिसभाको मतपत्र प्रदेशसभा र प्रदेशसभाको मतपत्र प्रतिनिधिसभाको मतपेटिकामा भेटिए बदर मत मान्ने राजनीतिक दलले समेत प्रतिबद्धता जनाएका छन्।

जिल्लामा साँघुरा मतदान केन्द्र र मतदाता शिक्षाको अभावका कारण मतदाताले नजिक रहेका मतपेटिकामा यस्ता मत खसाल्नेको मतदान अधिकृत र दलका प्रतिनिधिहरुले बताएपनि निर्देशिकामा उल्लेख भए अनुसार नै भेटिएका मतलाई बदर मतको रुपमा राखिने मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत राजु ढुंगानाले बताए । ‘मतलाई सदर गर्ने छलफल समेत भएको थियो, अन्तिममा निर्देशिका अनुसार नै अगाडी बढ्ने सहमति भयो’ उनले भने । निर्वाचनका लागि प्रत्येक मतदान केन्द्रमा मतपत्रमा स्वस्तिक चिन्ह लगाउने तीनवटा गोप्यस्थन र तीनवटै मतपेटिका राखिएको थियो ।

म्याग्दीका धेरै मतदान केन्द्रहरुमा प्रदेश र प्रतिनिधिसभाको मतपेटिका नजिक भएकाले पनि यस्ता मत धेरै भएको हुनसक्ने अनुमान गरिएको छ । सदरमुकाम बेनीस्थित बेनी सामुदायिक केन्द्रमा समेत यस्तो समस्या देखिएको थियो । प्रदेशसभाको मतपेटिकामा मत खसालिसकेपछि अर्को डेस्कबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फको मतपत्र खसाल्ने र तेस्रो डेस्कबाट मतदाताले समानुपातिकतर्फको मतपत्र मतपेटिकामा खसाल्नुपर्ने भएपनि प्रदेश र प्रतिनिधिसभाको मतपत्र एकअर्को मतपेटिकामा मतदाताले खसाले देखिएको थियो । समानुपातिक मतपत्रमा समेत यस्तो समस्या कम भएको अनुमान गरिएको छ ।

शेयर