पहिलो चरणमा निर्वाचन सम्पन्न भएको म्याग्दीमा बिहिबार साँझ पाँच बजेबाट मतगणना सुरू भएको छ ।मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निर्धारित समयमै प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना सुरू भएको हो ।

राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थितीमा मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले सिलबन्दी खोलेर उम्मेदवार र प्रतिनिधिहरुको उपस्थितीमा मतगणना सुरूका हुन् । प्रतिनिधिसभाको दुई र २ वटा प्रदेशसभाको एक–एक ठाउँमा गरि चार ठाउँमा मतगणना गरिएको छ ।

बन्द कोठाबाट निकालिएको मतपेटिकाबाट प्रतिनिधिसभाको बेनी नगरपालिका–३ भकिम्लीको १४ सय १ र बेनपा–४ सिंगाको १४ सय ९८ मत, त्यसैगरी प्रदेश ‘क’ अन्र्तगत बेनपा–४ र पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकमको १५ सय ३० मत गणना सुरु भएको सहायक निर्वाचन अधिकृत राजु ढुंगानाले जानकारी दिनुभयो । बन्द कोठामा राखिएको मतपेटिका दलको उपस्थितीमा निकालिएको थियो ।

बेनी नगरपालिका र धौलागिरि गाउँपालिकाबाट सुरु भएको मतगणना सुरु गरिएको हो । म्याग्दीमा वडा अनुसार मतगणना गर्ने दलले सहमति जनाएका थिए । एक हजार पाँच सय भन्दा कम मत खसेका वडाहरुको अर्को वडामा मिसाएर गणना गरिने छ । एक नगरपालीका, ५ गाउँपालीका, ४५ वटा वडा भएकोम्याग्दीमा ७५ हजार ५३७ मतदाता रहेकोमा ४७ हजार ४४९ मत खसेको थियो ।

यसैबीच मतगणनास्थल बाहिर सुरक्षा ब्यवस्था कडा बनाइएको छ । नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी परिचालन गरिएको छ । मत गणनास्थलमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारी सहित सुरक्षा निकायका प्रमुखहरुको समेत उपस्थिती रहेको छ । मतगणनाको निगरानी गर्न सिसी टिभी क्यामेरा जडान भएको छ । मतगणनाका लागि एउटा समूहमा दश जनाका दरले कर्मचारी खटाइने भएको छ । ९० जना कर्मचारी छनौट भएका छन् । मगणनास्थलमा मोवाईल, पानी, खानेकुरा निषेध गरिएको छ ।