यस्तो छ ताजा नतिजा: प्रतिनिधिसभा र प्रदेशसभा (क)मा वाम गठबन्धनको अग्रता कायमै

0

म्याग्दीको प्रदेशसभा (ख)मा वाम गठबन्धनको तर्फबाट नेकपा एमालेका उम्मेदवार नरदेवी पुनले १० हजार ८६८ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका क्या. अमलाल फगामीले ७ हजार ९९० मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैगरी प्रदेशसभा (ख)मा राष्ट्रिय जनमोर्चाका उम्मेदवार रमेशकुमार पुनले ५७ र राष्ट्रिय जनमूक्ति पार्टीका छमबहादुर रोकामगरले ३५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश राजकुमार कोईरालाले जानकारी दिनुभयो। प्रदेशसभा (ख)मा कुल मतदाता ३२ हजार ५४५ रहेकोमा १९ हजार ७७४ मत खसेको थियो भने ८२४ मत बदर भएको उहाँले बताउनुभयो ।

यसैगरी प्रतिनिधिसभातर्फ वाम गठबन्धनका उम्मेदवार नेकपा एमालेका भूपेन्द्रबहादुर थापाले १७ हजार १९९ मतसहित अगाडि हुनुहुन्छ । लोकतान्त्रिक गठबन्धनतर्फदेखि नेपाली कांग्रेसका खमबहादुर गर्बुजा (खम्बीर)को १५ हजार ५७३ मत रहेको छ । कुल मतदाता ७५ हजार ५३८ रहेकोमा प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा जम्मा ४७ हजार ४४९ मत खसेको थियो । अहिलेसम्म ३५ हजार ७ मत मात्रै गनेर सकिएको र अझै १२ हजार मत गन्न बाँकी रहेको मुख्य निर्वाचन अधिकृत कोईरालाले बताउनुभयो ।

त्यस्तै प्रदेशसभा (क)मा वाम गठबन्धनतर्फदेखि उम्मेदवार नेकपा माओवादी केन्द्रका विनोद केसीले १२ हजार १२६ र लोकतान्त्रिकको तर्फदेखि राप्रपाका भीमप्रसाद गौचनले १० हजार ४२४ मत ल्याएको सहायक निर्वाचन अधिकृत राजु ढुङ्गानाले बताउनुभएको छ । अहिले प्रतिनिधिसभा र प्रदेशसभा (क)को मतगणना द्रुत गतिमा जारीरहेको छ भने आजै बेलुकासम्म सबै नतिजा आइसक्ने बताइएको छ ।प्रदेशसभा (ख)मा विजयी पुन पूर्वराज्यमन्त्री समेत हुनुहुन्छ ।

२०४१ सालमा तत्कालीन विद्यार्थी सङ्गठन अनेरास्ववियुको मंगला मावि बाबियचौरमा प्रारम्भिक कमिटीको उपाध्यक्षबाट विद्यार्थी राजनीतिमा होमिएकी पुनले अनेमसंघको टोल तयारी समितिको अध्यक्ष, एमालेको युथ लिगको सदस्य हुँदै २०४६ सालमा अनेमसंघको जिल्ला सचिवको जिम्मेवारी सम्हाल्नुभएको थियो ।विद्यार्थी, महिला सङ्गठन हुँदै २०४८ सालदेखि ०६२ सालसम्म पार्टीको जिल्ला सहसचिवको जिम्मेवारी समेत सम्हालेकी पुनले द्वन्द्वकालीन अवस्थामा ग्रामीण क्षेत्रमा पुगेर पार्टीका कार्यकर्ताहरुलाई संरक्षण गर्ने गरेकाले पनि पुन पार्टीभित्र लोकप्रिय हुनुहुन्थ्यो ।

म्याग्दी जिल्लाकै प्रभावशाली महिला नेतृ समेत रहेकी पुन राजनीतिमा धेरै संघर्षको सामना गरेकी छन्। जोखिमपूर्ण समयमा पार्टीले दिएको जिम्मेवारीलाई सहज स्वीकार गर्ने गरेकाले पनि उनको गाउँ, जिल्लादेखि केन्द्रसम्म पार्टीभित्र राम्रो सम्बन्ध रहेको छ । नेकपा एमालेको इलाका सदस्य हुँदै सचिव, अनेमसंघको ४७ देखि २०६१ सालसम्म जिल्ला अध्यक्ष हुनुभएकी पुनले राजनीतिसँगै राजनीतिक तथा समाजशास्त्र विषयमा स्नातकोत्तरसम्मको अध्ययन पुरा गर्नुभएको छ ।

२०५६ सालमा संसदीय निर्वाचनमा पराजित भएकी पुनलाई २०६४ सालमा समेत पार्टीले पहिलो संविधानसभाको निर्वाचनमा उम्मेदवार बनाएको थियो । १० वर्षे जनयुद्धबाट शान्ति प्रक्रियामा आएको माओवादीको लहरसँगै दोस्रोपटक समेत निर्वाचनमा पराजित भए पनि पुनको राजनीतिक यात्रा रोकिएन । २०७० सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा नेकपा एमालेबाट समानुपातिक सांसद बनेकी पुनले एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा पशुपंक्षी विकास राज्यमन्त्री हुनुभएको थियो । जिल्लाको मंगला गाउँपालिका–१ कुहुँको भर्जुला स्थायी घर भएकी पुनको विजयसँगै उहाँलाई अहिले बधाइको ओइरो आउन थालेको छ ।