वाम गठबन्धनका उम्मेदवार भन्छन्,‘अव समृद्ध म्याग्दी बनाउने अभियानमा केन्द्रित हुन्छौ’

0

प्रतिनिधिसभामा एक र प्रदेशसभातर्फ दुईवटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा वाम गठबन्धनका उम्मेदवारहरु निर्वाचित भएका छन् । मंसिर १० गते पहिलो चरणमा सम्पन्न निर्वाचनको बिहीबार साँझदेखि मतगणना सुरु गरी शुक्रबार सार्वजनिक भएको मतपरिणाम अनुसार म्याग्दीका सबै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले विजयी हासिल गरेका हुन् ।

प्रतिनिधिसभामा वाम गठबन्धन उम्मेदवार नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य भूपेन्द्रबहादुर थापाले २३ हजार ३०८ मत ल्याएर विजयी हुनुभएको छ । यसैगरी उहाँका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्बीर)ले २० हजार ९८० मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कुल ७५ हजार ५३८ मतदाता रहेको म्याग्दीमा ४७ हजार ४४९ मत खसेको थियो भने प्रतिनिधिसभातर्फ २ हजार ४७४ मत बदर भएको मुख्य निर्वाचन अधिकृत राजकुमार कोईरालाले जानकारी दिनुभएको छ ।

यसैगरी म्याग्दीको प्रदेशसभा (क)मा वाम गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका विनोद केसी १४ हजार ७०४ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार राप्रपाका भीमप्रसाद गौचनले १२ हजार १७५ मत ल्याउनुभएको छ । प्रदेशसभा (क)तर्फ कुल ४२ हजार ९९३ मतदाता रहेकोमा जम्मा २७ हजार ६७५ मत खसेको थियो भने ७९६ मत बदर भएको छ ।

त्यस्तै प्रदेशसभा (ख)मा वाम गठबन्धनकै उम्मेदवार नेकपा एमालेका पूर्वराज्यमन्त्री नरदेवी पुनले १० हजार ८६८ मतका साथ विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनको तर्फदेखि उम्मेदवार बनेका नेपाली कांग्रेसका अमलाल फगामीले ७ हजार ९९० मत ल्याउनुभएको छ । प्रदेशसभा (ख)मा कुल ३२ हजार ५४५ मतदाता रहेकोमा १९ हजार ७७४ मत खसेको थियो भने ८२४ मत बदर भएको जनाइएको छ ।

यसैबीच प्रतिनिधि र प्रदेशसभा सदस्य पदमा निर्वाचित उम्मेदवारहरुलाई आजै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा एक समारोहबीच निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरिएको छ । प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित भएलगत्तै वाम गठबन्धनको दुवै पार्टीका नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुकहरुले सदरमुकाम बेनीबजारमा प्रारम्भिक ¥याली निकालेका थिए ।

प्रतिनिधिसभाका विजयी उम्मेदवार भूपेन्द्रबहादुर थापाले संक्षिप्त प्रतिक्रिया दिँदै आफ्नो पक्षमा मतदान गर्ने मतदातालाई धन्यवादसहित जिल्लाको समग्र विकास निर्माणको नेतृतव गरेर अघि बढ्ने बताउनुभयो । प्रदेशसभा (क)का विजयी उम्मेदवार विनोद केसीले मतदातालाई कृतज्ञताज्ञापन गर्दै जिल्लाका समस्यालाई मध्यनजर गरी चुनावको समयमा वाचा गरेका प्रतिबद्धताहरु पुरा गर्ने जानकारी दिनुभयो । प्रदेशसभा (ख)का विजयी उम्मेदवार नरदेवी पुनले जनतालाई सहज हुनेगरी जिल्लालाई समृद्धीको बाटोमा अघि बढाउन पहल गर्ने प्रतिक्रिया दिनुभयो ।