विजयउत्सवमा के भने वाम गठबन्धनका विजय उम्मेदवारले 

0
168

प्रतिनिधिसभामा एक र प्रदेशसभातर्फ दुईवटा निर्वाचन क्षेत्र रहेको म्याग्दी जिल्लामा वाम गठबन्धनका उम्मेदवारहरु निर्वाचित भएपछि शनिबार सदरमुकाम बेनीमा विशाल ¥यालीसहित विजयउत्सव मनाइएको छ । मंसिर १० गते पहिलो चरणमा सम्पन्न निर्वाचनमा म्याग्दीको सबै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले विजय हासिल गरेपछि नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले संयुक्तरुपमा विजयउत्सव मनाएका हुन् ।

प्रतिनिधिसभातर्फ नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य भूपेन्द्रबहादुर थापाले २३ हजार ३०८, प्रदेशसभा (क)मा माओवादी केन्द्रका विनोद केसीले १४ हजार ७०४ र प्रदेशसभा (ख)मा एमालेका पूर्वराज्यमन्त्री नरदेवी पुनले १० हजार ८६८ मत ल्याएर विजयी भएका छन् । कुल ७५ हजार ५३८ मतदाता रहको म्याग्दीमा मंसिर १० मा सम्पन्न निर्वाचनमा जम्मा ४७ हजार ४४९ मत मात्रै खसेको थियो ।

प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित वाम गठबन्धनको दुवै पार्टीका नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुकहरुले सदरमुकाम बेनीबजारमा शुक्रबारै प्रारम्भिक ¥याली निकालेका थिए । शनिबार जिल्लाको गाउँगाउँबाट वाम गठबन्धनका नेता तथा कार्यकर्ता एवं मतदाता बेनी आएर विजय ¥यालीमा सहभागी भएका थिए । विजयी उम्मेदवारहरुलाई नेता, कार्यकर्ता तथा मतदाताले अबिर र खादा लगाई बधाई दिनुका साथै विजयको खुसियाली मनाएका छन् ।

बेनीको शहिद स्तम्भचोकबाट सुरु भएको विजय ¥याली मङ्गलाघाट, हुलाकचोक, न्युरोड, क्याम्पसचोक, शिक्षामार्ग, हस्पिटलचोक, गणेशटोल, सङ्गमचोक र बैङ्करोड हुँदै खुलामञ्च पुगेर सभामा परिणत भएको थियो । ¥यालीमा नौमती पञ्चेबाजासहित नेता एवं कार्यकर्ताले नाचगान गर्नुका साथै खुसियाली समेत साटासाट गरेका थिए ।

खुलामञ्चको सभालाई सम्बोधन गर्दै प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य भूपेन्द्रबहादुर थापाले निर्वाचनमा खटिने सम्पूर्ण नेता तथा कार्यकर्ता र मतदाताहरुलाई धन्यवाद दिएका छन् । उनले अब देशको विकास र समृद्धिको नेतृत्व वामपन्थी पार्टीहरुको हातमा आएको बताउँदै नेपाली जनताको मुहारमा खुसी ल्याउने गरी काम गर्दै देश विकासमा लाग्ने उद्घोष गरेका छन् ।

सोही सभामा प्रदेशसभाका नवनिर्वाचित सदस्य नरदेवी पुनले स्थानीय स्रोतसाधनको परिचालन गरी स्वदेशमै रोजगारको सिर्जना गर्ने र महिलाहरुलाई आयआर्जन तथा आत्मनिर्भर बन्ने खालका कार्यक्रमहरु सञ्चालन गर्ने बताएकी छिन् । अर्का प्रदेशसभाका नवनिर्वाचित सदस्य विनोद केसीले विदेशिने युवाहरुलाई स्वदेशमै कृषि, पर्यटन, जलविद्युत, खनिजको उत्खनन् र परिचालनसहित काम गर्ने वातावरण निर्माण गर्ने बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिट व्युरो सदस्य एवं म्याग्दी जिल्ला संयोजक गोविन्दप्रसाद पौडेल र एमाले जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठले अब वामपन्थीहरुको नेतृत्वमा देश अगाडि बढ्ने बताउँदै देशको विकास निर्माणले गति लिने विश्वास व्यक्त गरेका छन् । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले नेपालमा बनेका हरेक वामपन्थी सरकारले लोकप्रिय कार्यक्रमहरु ल्याएर कार्यान्वयनमा लगेको बताउँदै अब बन्ने वामपन्थी सरकारले पनि आर्थिक क्रान्ति र देश विकास गर्ने बताएका थिए ।

एमाले अध्यक्ष श्रेष्ठको अध्यक्षता, सचिव बालकृष्ण सुवेदीको स्वागत र माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति सदस्य सुवास विश्वकर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा जनसांस्कृतिक महासंघका कलाकारहरुले जनवादी गीतसङ्गीत र नृत्य प्रस्तुत गरेका थिए । यसैबीच आफ्ना उम्मेदवारहरुलाई अमुल्य मत प्रदान गरी विजयी गराएको भन्दै वाम गठबन्धनको तर्फदेखि नेकपा एमालेका अध्यक्ष हरिकृष्ण श्रेष्ठ र माओवादी केन्द्रका संयोजक गोविन्द पौडेलले हस्ताक्षरसहित एक विज्ञप्ति जारी गरी मतदाताहरुलाई धन्यवाद दिएका छन् ।