महोत्सवमा पाहुनालाई पर्यटकीयस्थल भ्रमण गराइने

बागलुङ उद्योग वाणिज्य संघले आगामी पुसमा गर्ने प्रदेश नम्बर ४ स्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेला तथा पाँचौ बागलुङ महोत्सवमा आउने पाहुनालाई जिल्लाका पर्यटकीय स्थान घुमाइने भएको छ ।

आगामी पुस १४ देखि २३ गतेसम्म धौलागिरि बहुमुखी क्याम्पसको हाताभित्र हुने महोत्सवमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सदरमुकाम नजिकै रहेको कालिका मन्दिर, सर्वसिद्धिधाम पञ्चकोट, होमस्टे गाउँ भकुण्डेलगायत पर्यटकीय सम्भावना बोकेका स्थानमा घुम्ने घुमाउने व्यवस्था गरिएको हो ।

महोत्सव अवधिभर जिल्लाका पर्यटकीय सम्भावनायुक्त गाउँठाउँमा पुग्न चाहने पर्यटकलाई ती स्थानमा पु¥याउन यातायातको सहज व्यवस्था गरिने बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारीले बताए । ‘हामीलाई अहिले पनि काठमाडौंलगायत स्थानबाट महोत्सवमा आएर पर्यटकीय ठाउँमा पुग्न चाहनेले सम्पर्क गरिरहनुभएको छ’, उनले भने, ‘सामुहिक रूपमा ३÷४ वटा गाडीमा आएर होमस्टे गाउँमा जाने गरी अग्रिम बुकिङ समेत गर्न अनुरोध आएको छ ।’

महोत्सवमा स्थानीय स्तरमा उत्पादित कृषि, हस्तकला तथा पशुजन्य उत्पादनको प्रर्दशनी, विभिन्न जातजातिको झाँकी प्रर्दशन, बाल उद्यान रमाइलो मेला, ७५ हजार राशीको खुल्ला राष्ट्रिय लोकदोहोरी गीत प्रतियोगिता, एक लाख एक हजार एक सय ११ रुपैयाँ राशीको खुल्ला पुरुष भलिबल, खुल्ला नृत्य, राष्ट्रिय कलाकारद्वारा सांगीतिक कार्यक्रम, डिजे लाइभ कन्सर्ट, लाइट हेलीबाट पर्यटकीय स्थलको अवलोकन लगायत मुख्य आकर्षणको रूपमा राखिएको छ ।

करिब ८० लाख खर्च हुने अनुमान गरिएको महोत्सवमा एक करोड बराबरको आम्दानी गर्ने लक्ष्य आयोजकको रहेको अध्यक्ष भारीले बताए । ९० हजार बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको महोत्सवमा १० करोडभन्दा बढीको कारोबार हुने आँकलन छ । ‘नयाँ संघीय अभ्यासपछि पहिलो पटक हुने महोत्सवले स्थानीय पर्यटकीयस्थलको प्रचारप्रसार तथा व्यावसायिक गतिविधि बढाउन महŒवपूर्ण सहयोग पुग्नेछ’, अध्यक्ष भारीले भने, ‘आर्थिक गतिशीलता र व्यावसायिक सोचमा पनि अभिवृद्धि हुनेछ भन्ने हाम्रो अपेक्षा छ ।’