बोटबाटै सुन्तलाको विक्री

0

बेनी नगरपालिका–३ भकिम्ली मरेकका प्रेम थापाले बारीबाटै सुन्तला विक्री गरे । काठमाण्डौ र पोखराबाट गाउँमै आएका ब्यापारीले काँचो अवस्थामा रहेका सुन्तलाको बोटै खरिद गरेपछि मरेकका सुन्तला कृषक उत्साहित छन् । विगतका बर्षमा महँगो ढुवानी, बजारको खोजीमा जिल्ला बाहिरसम्म जाने गरेका कृषकहरू बगैचाबाटै सुन्तला खरिद भएपछि खुसी देखिएको स्थानीय कृषक बिर बहादुर थापाले बेनीअनलाइनलाई बताए ।

‘बजारमा सुन्तलाको अभाव देखिएपछि ब्यापारी गाउँसम्म आएका छन् । उत्पादन समेत बढेकाले एकसातापछि फल टिप्न सुरू हुन्छै’ थापाले भने । उनका अनुसार गतबर्ष ४५ रुपैयाँमा विक्री गरेका सुन्तला यसबर्ष गाउँमै प्रतिकेजी ५० रुपैयाँ मुल्य प्राप्त गरेका छन् । १६ घरधुरी सुन्तला खेतीमा आर्कषित रहेको मरेकका ए र बि ग्रेडको करिव ८ लाख बराबरको सुन्तला विक्री भइसकेको छ । केहीबर्ष अगाडीसम्म स्थानीयबजारमा खपत हुने गरेको सुन्तला धमाधम जिल्ला बाहिर जान थालेपछि सुन्तला खेतीप्रति आर्कषण समेत बढेको छ ।

स्वादिलो, गुणस्तरीय र गुलीयोपन भएका सुन्तलाहरू उत्पादन हुन थालेपछि भकिम्लीकै राखु, बेनीनगरपालिका–४ बास्कुना, बरंजाको खर्क लगाएत जिल्लाका विभिन्न गाविसमा रहेका सुन्तला बगैचाबाटै विक्री हुने गरेको छ । ‘महंगो ढुवानी तिरेर बजारमा सुन्तला लैजानुपर्ने अवस्थाको अन्त्य भएको छ ।ब्यापारीले आफ्नै साधनमा गाउँबाटै सुन्तला खपत गर्ने गरेकाले पनि सुन्तलाका नयाँ बोटहरू विस्तार भइरहेको छ’ बाँस्कुनाका कृषक तिलक गुरूङले भने ।

उनका अनुसार गतबर्षको तुलनामा सुन्तला उत्पादनमा अपेक्षा गरेभन्दा धेरै कमी भएकाले पनि ब्यापारीले सु्न्तलाको बगैचा खोज्दै गाउँमै पुग्ने गरेको बताए । कालीमाटी मण्डीका साथै पोखराबाट लगातार ब्यापारीले फोनबाटै बगैचाको बुकिङ गरेकाले केही ब्यापारी रित्तै समेत फर्कनुपर्ने अवस्था आएको कृषकको भनाई छ ।‘सुन्तला खेतीमा लागेका किसान उत्साहित छन् । हरेकबर्ष विरुवा थप भइरहेको छ’ एक कृषकले भने ।यसबर्ष एक किसानले ४० हजार देखि ३ लाखसम्म आम्दानी गर्ने अपेक्षा गरिएको छ । बाँस्कुनामा रहेका २५ घरमध्ये २० घरले व्यवसायीक रुपमा सुन्तला खेती गरेका छन ।

‘ए’ ग्रेडको सुन्तला प्रतिकेजी बोटबाटै ७० देखी ७३ रुपैयाँमा विक्रि गरेका छन । साना बगान भएका कृषकले जिल्ला भित्र खपत गर्ने गरेका छन् । बास्कुनाबाट १० टन सुन्तला बजारमा ढुवानी गरिएको छ भने अझै १० टन सुन्तला बारीमा रहेको कृषकको भनाई छ । गतबर्ष बास्कुनाबाट १६ लाखको सुन्तला निर्यात भएको थियो । एकदशक अगाडी परिक्षण उत्पादनका रुपमा एकदुई घरले सुरू गरेको खेती गाउँका साथै आसपासका गाविसमा समेत विस्तार भएको छ । धान र कोदो रोप्ने खेतमा सुन्तला खेती सुरू गरेका थिए ।

जिल्लाको बास्कुना, भकिम्लीको मरेक, राखु, बरंजा, ताकम, बिम, मुदी, घार, हिस्तान, दोवा, नारच्याङ लगाएतका सुन्तला उत्पादनमा पकेट क्षेत्र मानिएको जिल्ला कृषि विकास कार्यालयका बागबानी अधिकृत भोज बहादुर थापाले बताए । ‘यसबर्ष नयाँ विरुवाले फल दिएकाले करिव ८ प्रतिशत उत्पादन बढ्ने अनुमान गरिएको छ ।कम लगानीमा राम्रो मुनाफा कमाइ हुने भएकाले पनि सुन्तलाखेतीमा आर्कषण बढेको छ’ थापाले भने । एक कृषकले ४० हजार देखी ६ लाखसम्म सुन्तला विक्री गर्ने गरेका छन् । बेनी नगरपालिका सहित पाँचवटै गाउँपालिकामा सुन्तला हुने गरेको छ । उत्पादन हुने क्षेत्रमा धेरै कृषक आर्कषित भएका छन् । जिल्लाबाट बार्षिक १२ करोड ३० लाख १० हजार बराबरको सुन्तला उत्पादन हुने गरेको छ ।