जिल्लामा मगर समुदायको मारुनी नृत्यलाई आफ्नो पहिचानको रुपमा संरक्षण गदैं आइरहेका छन् । लोपउन्मुख कला र संस्कृतिको संरक्षणमा सक्रिय रहेका मगर समुदायले गाउँघरमा हुने मेलापर्व देखी जिल्लाभित्रका महोत्सवमा मारुनी नृत्यलाई प्रस्तुत गदैं आइरहेका छन् । मगरजातीले पुर्खाले हस्तान्तरण गरेको नृत्यका रुपमा लिने गरेको मारुनीलाई जिल्ला बाहिर र प्रवासमा समेत उत्तिकै स्थान दिने गरेको पाइन्छ । मगरजातीको बाहुल्य रहेको म्याग्दीका हरेक गाउँमा यो नाच नाच्ने गरिन्छ । ‘हाम्रो पहिचान हो, यसलाई संरक्षणका लागि निरन्तर सक्रियता देखाइरहेका छौ’ मगर संघ म्याग्दीका सचिव लोकेश पुन मगरले बेनीअनलाइनलाई भने ।

उनले मारुनी नृत्यले जिल्लाका पर्यटकीयस्थलमा समेत स्वदेशी तथा विदेशी पर्यटकलाई आर्कषित गर्न सजिलो भएको बताए । नृत्यमा मादले र मारुनीको संख्या बराबर हुनुपर्छ । सकभर बिजोर संख्या भएको राम्रो मानिन्छ । एउटा गीतको टुक्का निकालेपछि अरूले त्यसलाई पछ्याउँदै गाइन्छ ।संस्कृतिलाई मर्न दिएका छैनन् । पुरुष नै महिलाको पहिरनमा सजिएर नाचिने भएकाले यो नृत्यलाई मारुनी नृत्य भनिएको हो ।

मगर संघ म्याग्दीले हरेक बर्ष प्रतियोगिता नै आयोजना गरेर समेत यसलाई संरक्षणको प्रयास गरेको छ । ४५ वर्षदेखि मादलेका रूपमा नाच्दै आएका अन्नपूर्ण गाउँपालिका–५ शिख पाउद्धारका रुद्र मगरले अग्रजको सम्मानका लागि गाउँमा पुख्र्यौली नृत्यलाई जगेर्ना गर्दै आएको बताए । ‘कार्यक्रममा नाच्दा र गाउँमा पुर्खाको सम्झना हुन्छ । जीवनको अन्तिम समयसम्म सकेसम्म संरक्षणका लागि प्रयास गरिरहन्छु’ उनले भने । उनका अनुसार नाचको सुरुमा सरस्वती जगाइन्छ, त्यतिबेला केहीलाई सरस्वती जाग्ने हुँदा काँम्नेसमेत हुन्छ । गीतमार्फत राम(लक्षणका वाणीहरू र सरस्वतीलाई सम्मानपछि काम्ने हराउँदै जान्छ ।यो नृत्य एउटा पुस्ताले अर्को पुस्तामा हस्तान्तरण गर्ने संस्कारका कारण म्याग्दीमा जीवित रहँदै आएको छ । पछिल्लो समय यूवापुस्तालाई समेत नाचमा आर्कषित गर्ने गरिएको पाउद्धारका राजु पुनले बताए ।

उनले पुर्खाले दिएको संस्कृति जोगाउनमा आफूहरू लागिपरेको र गाउँका धेरै युवाहरू यसप्रति आकर्षित भइरहेको बताए ।‘ यूवापुस्ताले ध्यान नदिए केहीबर्षमै लोप हुनसक्छ । यसमा आवश्यकता अनुसारको बजेट पनि ब्यवस्थापन गर्ने गरेका छौ’ उनले भने । नृत्य ठाउँ विशेष केही फरक भए पनि समग्रमा यसले दिने भाव भने एउटै हुन्छ । म्याग्दीसँगै पर्वत, बागलुङ, कास्कीका मगर समुदायले यो नृत्यलाई जगेर्ना गर्दै आएका छन् ।मेला महोत्सवसँगै विवाह, व्रतबन्धलगायतका शुभकार्यमा यो नृत्य प्रस्तुत गर्ने गरिएको सर्जकहरुको भनाई छ ।
बेनी नगरपालिका–३ भकिम्लीमा मारुनी नाच प्रस्तुत गदैं ।