म्याग्दीका दुई स्थानीय तहमा अझै पनि वित्तीय पहुँच पुग्न सकेको छैन। वित्तीय पहुँच पुग्न नसक्दा ती स्थानीय तहको दैनिक कार्यसम्पादनमा समेत समस्या उत्पन्न भएको छ। वैशाखमा सम्पन्न निर्वाचनपछि जनप्रतिनिधि चुनिएर आए पनि कारोबारका लागि बैंक तथा वित्तीय संस्था नहुँदा सदरमुकाम बेनी झर्नुपर्ने बाध्यता हट्न सकेको छैन। जिल्लाको दुर्गम धवलागिरि र रघुगंगा गाउँपालिकामा वित्तीय संस्था नहुँदा समस्या उत्पन्न भएको हो।

मालिका गाउँपालिकाको केन्द्र दरबाङ, मंगलाको बाबियाचौर, बेनीनगरपालिकाको बेनी र अन्नपूर्णको पोखरेबगरमा वित्तीय पहुँच पुगेको छ। अन्नपूर्णमा एक हप्ताअघि गाउँपालिका केन्द्र पोखरेबगरमा गरिमा विकास बैंकले शाखा विस्तार गरेको थियो। ग्रामीण भेगमा पर्ने दरबाङ, बाबियाचौर, पोखरेबगरमा गरिमा विकास बैंकसँगै प्रभु बैंकले सेवा प्रवाह गरिरहेको छ। धवलागिरि गाउँपालिकाकी प्रमुख थमसरा पुनले गाउँपालिकामा बैंक तथा वित्तीय संस्था नहुँदा सानो कारोबारका लागि बेनी धाउनुपर्ने बाध्यता सिर्जना भएको बताइन्।

जिल्लाको सबैभन्दा दुर्गम क्षेत्र मानिने गुर्जा, लुलाङ, मुदी र मल्कबाङ यही गाउँपालिकामा पर्छ। ‘त्यहाँका जनताले सिंहदरबारका अधिकार गाउँमै आए पनि सानो उपभोक्ता समितिको रकम निकाल्न समेत बेनी जानुपर्ने बाध्यता हटेन भन्नुहुन्छ, जनताका साथै हामीलाई दैनिक कामकारबाही गर्न एकदमै समस्या परिरहेको छ’, उनले भनिन्।

ताकम, मुना, मुदी, गुर्जा, लुलाङ, मल्कबाङ, मराङ गाविसलाई समेटेर बनाइएको धवलागिरि गाउँपालिकामा भरपर्दो सञ्चार सुविधा समेत छैन। अधिकांश गाउँमा टेलिफोन र मोबाइलले राम्रोसँग काम गर्दैन। ‘सबै काम इन्टरनेटबाट गर्नुपर्ने हुन्छ। केन्द्र तथा मन्त्रालयबाट आएका नीति निर्माण र मार्गदर्शन सबै त्यही हुन्छ तर त्यो सुविधा हाम्रोमा छैन’, पुनले भनिन्, ‘बैंक र सञ्चारका लागि सम्बन्धित निकायलाई बारम्बार कुरा गरे पनि काम हुन सकेको छैन।’ उनले गाउँपालिकाको केन्द्र घट्टेकुलोमा प्रभु बैंकको शाखा स्थापनाको तयारी भइरहेको समेत बताइन्।

गाउँपालिका केन्द्र बिबादमा रुमलिएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले केन्द्र बिबाद साम्य भएकाले बैंकहरूको शाखा स्थापनाका लागि आग्रह गरिएको बताए। ‘तत्काल बैंक चाहिएको छ। सबै तहमा बैंकहरू पुर्‍याउने सरकारको लक्ष्य पनि छ। केही बैंकहरूले कुरा पनि गरेका छन्’, उनले भने, ‘बैंकको अभावमा कर्मचारीलाई तलब दिन, योजनाको पैसा दिनसमेत समस्या भइरहेको छ।’ उनले तत्काललाई बेनीस्थित नेपाल बैंकबाटै काम चलाइए पनि तलमाथि गर्दा झन्झट भइरहेको बताए। राखु, भगवति, पाखापानी, झिँ, दग्नाम, चिमखोला र कुइनेमंगले गाविस समेटेर बनाइएको यो गाउँपालिकाले चिमखोला र कुइनमंगलेमा सञ्चारको पहुँच विस्तार गरेको छ। टेलिकमसँगको सहकार्यमा पाखापानीमा टावर स्थापना गरेर सहज सञ्चार पहुँच बनाइएको अध्यक्ष भण्डारीले जानकारी दिए।