म्याग्दीका सांसद भन्छन्,‘स्रोतसाधनको परिचालनसहित विकासमा लाग्छौ’

0

निजी क्षेत्रको छाता सङ्गठन, म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा मङ्गलबार सदरमुकाम बेनीमा शुभकामना तथा बधाइज्ञापन कार्यक्रम सम्पन्न भएको छ । गएको मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा म्याग्दी जिल्लाबाट नवनिर्वाचित सांसदहरुलाई बधाइज्ञापन र शुभकामना दिइएको हो ।

म्याग्दी उद्योग वाणिज्य संघले प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित सदस्यहरु क्रमशः भूपेन्द्रबहादुर थापा, नरदेवी पुन र विनोद केसीलाई बधाइज्ञापन गरिएको संघले जनाएको छ । कार्यक्रममा बोल्दै सांसदत्रयले स्थानीयस्तरमा भएका स्रोतसाधनहरुको परिचालन गरेर समग्र जिल्लाको विकास निर्माणमा केन्द्रीत हुने घोषणा गरेका छन् । उनीहरुले अब गफ गर्नेभन्दा पनि काम गरेर देखाउने समय आएको हुँदा निर्वाचनमा जनतासमक्ष गरेका वाचा र प्रतिबद्धताहरु पुरा गर्नेतर्फ लाग्ने बताएका थिए ।

प्रतिनिधिसभाका नवनिर्वाचित सांसद थापाले म्याग्देली जनताले आफ्नो अमुल्य मत प्रदान गरी काम गर्ने जिम्मेवारी सुम्पिएको बताउँदै सबैका साथ र सहयोग लिएर अगाडि बढ्ने धारणा व्यक्त गरेका छन् । उनले उद्योगी व्यापारीहरुको समस्यालाई समाधान गर्नका लागि आफू निरन्तर लागिपर्ने भन्दै हालै सम्पन्न निर्वाचनबाट वामपन्थीको नेतृत्व स्थापित हुने र देश विकासले गति लिने बताए ।

प्रदेशसभाका नवनिर्वाचित सांसद तथा पूर्वराज्यमन्त्री नरदेवी पुनले यसअघि आफूले सुरु गरेका विकासका योजनालाई आगामी दिनमा पुरा गर्ने र नयाँ योजनाहरु सञ्चालन गर्ने बताएकी छिन् । उनले स्थानीय स्रोत र साधनको परिचालन गरी देश विकासमा लाग्ने बताउँदै युवा र महिलाका लागि आत्मनिर्भर बनाउने र व्यावसायिक हुने खालका कार्यक्रमहरु ल्याउने बताइन् ।

प्रदेशसभाका अर्का सांसद तथा युवा नेता विनोद केसीले म्याग्दीमा भएका प्राकृतिक स्रोतसाधनको परिचालन गरी युवालाई स्वदेशमै रोजगारको वातावरण तयार गर्ने बताए । उनले जिल्लामा खनिजको उत्खनन्, जडिबुटीको प्रशोधन, पर्यटकीय तथा धार्मिक क्षेत्रको विकासमा आफू केन्द्रीत हुने बताउँदै वामपन्थी सरकारले जनताको पक्षमा जनमुखी कार्यक्रम र बजेट ल्याएर जिल्लाको विकास गर्ने बताएका छन् ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला तथा नगर उपाध्यक्ष प्रमोद श्रेष्ठ, प्रदेशनम्बर ४ का सदस्य कुविरकुमार श्रेष्ठले जिल्लाको कृषि, पर्यटन र जलविद्युतको विकास गर्नतर्फ ध्यानाकर्षण गराउँदै निजी क्षेत्रको समस्या समाधानमा लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका सचिव क्या. मिनबहादुर कार्की, नेकपा एमालेका जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ, एमाओवादीका संयोजक गोविन्दप्रसाद पौडेल, राप्रपाका अध्यक्ष विरबहादुर थापा र पत्रकार महासंघका अध्यक्ष तारानाथ शर्माले मन्तव्य राखेका थिए । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यको अध्यक्षता एवं स्वागत र महासचिव लिलाराम गौतमले सञ्चालन गरेको कार्यक्रममा संघका पूर्वअध्यक्ष सुदर्शनकुमार श्रेष्ठ र निवर्तमान अध्यक्ष जीवनबहादुर विश्वकर्माले मन्तव्य राखेका थिए ।