आफन्तको सम्झनामा बौद्धिक अपाङ्गता विद्यार्थीलाई अक्षयकोष स्थापना (भिडियो)

0

म्याग्दीको बेनी नगरपालिका–५ बगुवाखोलास्थित बालजागृति आधारभूत विद्यालयमा बौद्धिक अपाङ्गता विद्यार्थीहरुलाई लक्षित गरेर अक्षयकोष स्थापना भएको छ । विद्यालयको बौद्धिक अपाङ्गता स्रोतकक्षामा अध्ययनरत बालबालिकाको सहयोगार्थ बेनपा–८ का विकास श्रेष्ठले आफ्नी स्वर्गीय श्रीमती सीता बरुवाल श्रेष्ठको स्मृतिमा एकलाख रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरिदिएका हुन् ।

बुधबार विद्यालयमा आयोजित एक समारोहबीच विकास श्रेष्ठ र उनका आफन्तहरुले विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णबहादुर हमाल र प्रधानाध्यापक भक्त कार्कीलाई नगद एकलाख रुपैयाँ हस्तान्तरण गरेका थिए । उक्त रकमको वार्षिक रुपमा आउने व्याजबाट बौद्धिक अपाङ्गता विद्यार्थीहरुलाई दैनिक आवश्यक पर्ने शैक्षिक तथा पोसाकलगायत सामाग्रीहरु खरिदमा परिचालन गरिने विद्यालयको भनाई छ ।

नगद रकम हस्तान्तरण कार्यक्रममा नागरिक समाज म्याग्दीका संयोजक सुदर्शनकुमार श्रेष्ठले आफन्तको सम्झनास्वरुप विद्यार्थीहरुका लागि स्थापना गरिएको अक्षयकोष सराह्रनीय काम भएको बताएका छन् । जिल्ला शिक्षा कार्यालय म्याग्दीका स्रोतव्यक्ति केशवप्रसाद रेग्मीले अक्षयकोष स्थापनाले विद्यार्थीको पठनपाठनमा सहयोग पुग्ने अपेक्षा व्यक्त गरेका थिए ।

हाल २२ जना बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरु अध्ययनरत रहेको बौद्धिक अपाङ्गता स्रोतकक्षा सञ्चालन गर्न यसअघि मोना हङकङले ११ लाख, बल–जमुना स्मृति अक्षयकोषको १ लाख र विद्यालयको आफ्नै एकलाख ५० हजार रुपैयाँ रहेको जनाइएको छ । विव्यस अध्यक्ष हमालको अध्यक्षता, प्रअ कार्कीको सञ्चालन र शिक्षक धनबहादुर क्षत्रीको स्वागतमा सञ्चालनमा सम्पन्न कार्यक्रममा स्व. सीता बरुवाल श्रेष्ठका परिवार तथा आफन्त, शिक्षक, अभिभावक, पत्रकार एवं विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।